दलहरूबाट खर्चसम्बन्धी आचारसंहिता उल्लंघन भएको आयोगको ठहर

बुधबार, २१ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय निर्वाचनमा उम्मेदवारहरूले बैंक खाताबाट मात्र खर्च गर्नुपर्ने निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ । उम्मेदवारहरूलाई आचारसंहिता/ऐन/कानुनअनुसार खर्च गराउन आयोगले देशैभरिका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै आचारसंहिताबारे दलहरूलाई सचेत गराएको हो । ‘निर्वाचनमा खर्च गर्दा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाबमोजिम गर्न राजनीतिक दल तथा उम्मेदवारको ध्यानाकर्षण गराउँदै सोबमोजिम गर्न गराउन सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको छ,’ आयोगको विज्ञप्तिमा छ । 

निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्चसम्बन्धी व्यवस्था गरेको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था छ ।

आचारसंहिताअनुसार राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्ने, २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्नेछ ।

सुझावित समाचार