मन्त्री दीपक मनाङेको अर्को ‘बबन्डर’, कार्यकक्षमा कर्मचारी कुटे

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले फेरि अर्को बबन्डर मच्चाएका छन्। गत कात्तिकमा स्वकीय सचिवलाई कार्यवाहक दिएर विवादमा आएका  मन्त्री मनाङेले मंगलबार फेरि आफ्नै कार्यकक्षमा कर्मचारी कुटेको सार्वजनिक भएको छ।

मन्त्रालय स्रोतका अनुसार उनले मंगलबार साँझ करिब चार बजेको समयमा मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई आफ्नै कार्यकक्षमा कुटपिट गरेका हुन्। ‘उहाँ फाइल लिएर मन्त्रीकोमा जानुभएको थियो। त्यही क्रममा उहाँमाथि कुटपिट भएको सत्य हो। तर, त्यसपछि के–के भयो भन्ने हामीले पनि जानकारी पाएका छौनौँ,’ ती कर्मचारीले भने। 

युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्री अधिकारीले मन्त्रीले कुटेको कुरा आफूले सञ्चारकर्मीमार्फत नै जानकारी पाएको बताएका छन्। आन्तरिक मन्त्रालयको समेत सचिवको जिम्मेवारी सम्हालेका सचिव अधिकारी आन्तरिक मामिलामन्त्रीसहित सुरक्षा बैठकका लागि धौलागिरिमा रहेका छन्। 

‘हामी साबिक धौलागिरिका विभिन्न जिल्लामा सुरक्षा बैठक बस्ने र अवस्था बुझ्न यता आएका छौँ। आन्तरिक मामिलामन्त्रीसहित हामी यतै छौँ। बाग्लुङको भेला सकेर भर्खर बाहिर निस्कँदै छु। मन्त्रीज्यूले कर्मचारी कुट्नुभएको कुरा यहाँहरूले नै भनेर जानकारी पाएको हुँ। सत्य बुझ्न पाएको छैन। ओझाजीको मोबाइल अफ छ। मन्त्रालयमा सत्य तथ्य बुझ्दै छु,’ उनले भने।  
 

सुझावित समाचार