नोबेल मेडिकल कलेजको ठगीविरुद्ध आन्दोलन गर्ने १० विद्यार्थी असुरक्षित

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण

नोबेल मेडिकल कलेजले बढी शुल्क असुलेर गरेको ठगीविरुद्ध आन्दोलनमा उत्रिएका १० विद्यार्थीले असुरक्षित भएको भन्दै अन्य कलेजमा सारिदिन माग गरेका छन् । आफूहरूको याचना प्रदेश सरकारबाट सुनुवाइ नभएपछि उनीहरू संघमा आएका हुन् । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब नोबेलमा पढ्न नसकिने बताएका छन् । ‘कलेजले अतिरिक्त शुल्क लिन खोजेपछि नमानेका हौँ,’ पीडित विद्यार्थी दमना कार्कीले भनिन्, ‘अब हामीलाई कलेजमा असुरक्षा छ । अन्यत्र सारिदिन हाम्रो माग छ ।’ 

नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजमा पहिलो वर्षमा भर्ना भएका विद्यार्थीसँग कलेज सञ्चालकले अतिरिक्त रकम असुलेपछि विद्यार्थीहरू आन्दोलनमा थिए । तर, अहिले अन्य मेडिकल कलेजमा सहमति भएको छ । नोबेल मेडिकल कलेजमा भने आन्दोलनको ८२ दिनसमम्म पनि न्याय नपाएको १० विद्यार्थीको गुनासो छ । सय विद्यार्थी कोटा पाएको नोबेलमा ९० विद्यार्थी भने अहिले पठनपाठनमा छन् ।

सरकारले उपत्यकाबाहिर एमबिबिएसमा अध्ययन गर्न ४४ लाख ३७ हजार शुल्क तोकेको छ । उपत्यकाभित्र भने ४० लाख तोकेको छ । पहिलो किस्ताबापत १४ लाख ८५ हजार बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेलले विभिन्न शीर्षकमा चार लाखभन्दा बढी रकम असुल्न खोजेपछि आफूहरू आन्दोलनमा आउन बाध्य भएको पीडित विद्यार्थीको गुनासो छ । 

‘विगतमा अतिरिक्त शुल्क रोक्न हाम्रो माग थियो । अहिले सबैले सम्झौता गरेका कारण हामीलाई थ्रेट भएको छ । हामीलाई सबैको साथ–सहयोग नभएकाले थप संकटमा परेका हौँ,’ अर्की पीडित विद्यार्थी सदीक्षा आचार्यले भनिन् । 

नेपाल विद्यार्थी संघका महासचिव बलदेव तिमिल्सिनाले पीडित विद्यार्थीलाई साथ दिने वचन दिए । राजधानीकेन्द्रित आन्दोलन हुँदा हिजो अरूलाई पनि साथ–सहयोग गरेको भन्दै उनले नोबेलका १० विद्यार्थीको पक्षमा नेविसंघ उभिने बताए । महासचिव तिमिल्सिनाले पीडित विद्यार्थीको सुरक्षाको प्रत्याभूति राज्यले गर्नुपर्ने बताए । 

सुझावित समाचार