अतिरिक्त शुल्क लिएको भन्दै नोबेल मेडिकल कलेजको प्रशासनमा विद्यार्थीले लगाए ताला

बुधबार, २१ पुष, २०७८
डिजिटल संस्करण

कानुनविपरीत अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलनरत विद्यार्थीले विराटनगरको नोबेल मेडिकल कलेजको प्रशासन कार्यालयमा  ताला लगाएका  छन्। स्वास्थ्य शिक्षा आयोग र सरकारले निर्देशन गरिसक्दा पनि विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाइरहेको भन्दै आन्दोलनरत विद्यार्थीले बुधबार विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजको प्रशासन कार्यालयमा  ताला लगाएका हुन्। 

अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीले बुधबार विभिन्न विद्यार्थी संगठनको समर्थन पाएपछि कलेजको मूल गेट फोडेर नोबेलको चौथो तलामा रहेको प्रशासन कार्यालयमा ताला लगाइदिएका थिए।अतिरिक्त शुल्ककै कारण विद्यार्थीलाई पढाइबाट वञ्चिच गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले पनि विरोध गर्दै आएका थिए। चेतावनीलाई बेवास्ता गरेपछि बुधबार कलेजमा पुगेका अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले सामान्य तोडफोडसमेत गरेका थिए।    

कानुनविपरीत कलेजले तोकेको शुल्क नदिएको भन्दै  कक्षामा बसेर पढ्न वञ्चित भएका एमबिबिएस प्रथम वर्षका विद्यार्थीले  नोबेल मेडिकल कलेज र सञ्चालक सुनिल शर्माविरुद्ध एक हप्तादेखि आन्दोलन गर्दै आएका छन्। अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेलले एमबिबिएस प्रथम वर्षका  ८० जना विद्यार्थीलाई दुई हप्तादेखि  कक्षा प्रवेश गर्न दिएको छैन। 

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेलले होस्टेल र मेस अनि परीक्षालगायत  विभिन्न शीर्षकमा चार लाखभन्दा बढी रकम माग गर्दै आएको छ। अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई नोबेलले कक्षाकोठा प्रवेशमै रोक लगाइरहेको छ। 

सुझावित समाचार