प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनरत बार एसोसिएसनले आज (बुधबार) देशभरका उच्च अदालतमा विरोधसभा गर्दै छ। चौथो चरणको आन्दोलनअन्तर्गत विरोधसभा गर्न बारले सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएको छ। इलाम उच्च अदालतको विरोधसभालाई बारका पूर्वउपाध्यक्षद्वय कुमार शर्मा आचार्य र मदन खड्काका साथै केन्द्रीय सदस्य खिमानन्द अधिकारीले नेतृत्व गर्दै छन्। धनकुटा उच्च अदालतमा उपाध्यक्ष मानबहादुर रुम्दाली र पूर्वकोषाध्यक्ष मोहन इङ्नाम खटिएका छन्। उपाध्यक्ष रक्षा बस्यालका अनुसार विराटनगर उच्च बारमा पूर्वउपाध्यक्षहरू टीकाराम भट्टराई र सीताराम राईलाई जिम्मेवारी दिइएको छ। त्यहाँ केन्द्रीय सदस्य मनोजकुमार चौधरीलाई पनि पठाइएको छ।
त्यस्तै, राजविराज उच्च अदालतमा उपाध्यक्ष रामचन्द्रसिंह राजपुत, केन्द्रीय सदस्य पञ्चनारायण मण्डल र पूर्वसभासद् एकराज भण्डारीले केन्द्रबाट प्रतिनिधित्व गर्दै छन् । बारको निर्णयअनुसार उच्च अदालत जनकपुरमा महासचिव लीलामणि पौडेल तथा पूर्वउपाध्यक्षद्वय विनोद शर्मा र सुरेन्द्रकुमार महतोलाई खटाइएको छ। वीरगन्जमा भने बार पूर्वअध्यक्ष हरिहर दाहाल, पूर्वउपाध्यक्ष विनय सिंह र केन्द्रीय सदस्य भीमसेन बन्जरा सहभागी हुँदै छन्। त्यस्तै, हेटौँडा उच्च अदालतमा हुने विरोधसभामा पूर्वमहासचिव विजयप्रसाद मिश्र र केन्द्रीय सदस्य भुवनप्रसाद निरौला रहनेछन्। ओखलढुंगा इजलासमा भने केन्द्रीय सदस्यद्वय गंगासागर खत्री र अञ्जु कायस्थ सहभागी हुँदै छन्। उच्च अदालत बुटवल इजलासको विरोधसभामा केन्द्रबाट पूर्वउपाध्यक्ष घनश्याम पन्त, पूर्वकोषाध्यक्ष सविता भण्डारी बराल र केन्द्रीय सदस्य बालकृष्ण गैरेका साथै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पनि सहभागी रहनेछन्।
उच्च अदालत बार पोखरामा पूर्वअध्यक्ष शम्भु थापा, केन्द्रीय सदस्य कल्पना भण्डारी र पूर्वकेन्द्रीय सदस्य तुलसी भट्टलाई जिम्मेवारी दिइएको छ । बाग्लुङ उच्च अदालत बारमा भने उपाध्यक्ष सुरेन्द्र थापामगरका साथै वरिष्ठ अधिवक्ताद्वय पदमनाथ शर्मा र रामप्रसाद घिमिरेलाई पठाइएको छ। बारले उच्च अदालत नेपालगन्जमा भने उपाध्यक्ष सुनीलकुमार श्रेष्ठका साथै पूर्वउपाध्यक्ष प्रेमबहादुर खड्का र पूर्वमहासचिव रमणकुमार श्रेष्ठलाई खटाएको छ।
तुलसीपुर उच्च बारमा भने उपाध्यक्ष ईश्वरी भट्टराई, केन्द्रीय सदस्य शिवराज पण्डित र पूर्वउपाध्यक्ष प्रह्लाद कार्कीलाई खटाएको छ। महेन्द्रनगरमा उपाध्यक्ष रमेशप्रसाद विष्टका साथै पूर्वउपाध्यक्षद्वय प्रयागदत्त भट्ट र हिक्मत भण्डारीलाई पठाइएको छ। दिपायलमा पूर्वउपाध्यक्षद्वय राजेन्द्रबहादुर साउद र रणबहादुर सिंहलाई जिम्मेवारी तोकिएको छ।
सुर्खेत उच्च अदालत बारमा उपाध्यक्ष रक्षा बस्यालका साथै केन्द्रीय सदस्य मोहन सशांकरलाई जिम्मा दिएको छ। साथै, वरिष्ठ अधिवक्ता भूषण मानन्धरलाई पनि विरोधसभामा सहभागी हुन बारले तोकेको छ। उच्च अदालत पाटनमा भने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र केन्द्रीय सदस्य प्रकाश महर्जन सहभागी हुनेछन्। साथै, पूर्वउपाध्यक्षहरू गोविन्द शर्मा बन्दी, मोतीराज गौतम, उषा मल्ल पाठक पनि कार्यक्रममा सहभागी हुनेछन्। पूर्वमहासचिवहरू सुनीलकुमार पोखरेल, सतिशकृष्ण खरेल, दमननाथ ढुंगाना, पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारी र पूर्वकोषाध्यक्ष युवराज भण्डारी सहभागी हुँदै छन्।