जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका– २० को देवपुरा रुपैठा क्षेत्रमा ३२ घन्टे निषेधज्ञा लगाएको छ । केही उच्छृंखल समूहले सामाजिक सद्भाव बिथोलिने गतिविधि गरिरहेको सूचना आएको भन्दै प्रशासनले निषेधाज्ञा लगाएको हो ।
प्रशासनले शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, पार्टी, सभाजस्ता क्रियाकलाप गर्न रोक लगाएको छ । धनुषाका प्रजिअ बन्धुप्रसाद बास्तोलाले पूर्वमा जलाद नदीको कल्टी बाँधसम्म, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
देवपुरा रुपैठामा छठ पूजाको विषय लिएर केही दिनअघि स्थानीय केही मुस्लिम र हिन्दू समुदायबीच विवाद भएको थियो । प्रहरी प्रशासनको सक्रियतामा तत्काल विवाद साम्य भए पनि केही व्यक्तिले त्यसलाई साम्प्रदायिक रूप दिन गतिविधि बढाएपछि निषेधाज्ञा जारी गरेको हो ।