प्रधानमन्त्री बालेन्द्र शाहको स्वकीय सचिवालयमा २७ जना नियुक्त

तर, सचिवालयमा नियुक्त भएका पदाधिकारी को–को हुन् भन्ने जानकारी लुकाइयाे

मंगलबार, १३ असोज, २०८३
डिजिटल संस्करण
  • प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हालेको रक्षा मन्त्रालयमा स्वकीय सचिवालयमा कुनै पनि नियुक्ति गरिएको छैन 

१५ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको स्वकीय सचिवालयमा २७ जना नियुक्त गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा ४८ जनाको दरबन्दी रहेकामा २७ जना नियुक्त गरिएको जानकारी पत्रमार्फत कार्यालयले दिएको छ ।

‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम सम्माननीय प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ कुल ४८ जनाको दरबन्दी रहेकामा हाल २७ जना नियुक्त हुनुभएको छ,’ पत्रमा कार्यालयले भनेको छ ।

तर, सचिवालयमा नियुक्त भएका पदाधिकारी को–को हुन् भन्ने जानकारी भने कार्यालयले दिएको छैन । साथै, सचिवालयमा नियुक्त गरिएका पदाधिकारीको सेवा–सुविधाबारे जानकारी पनि कार्यालयले दिएको छैन । पत्रमा छ, ‘सचिवालयमा नियुक्त भएका पदाधिकारी तथा कर्मचारीले नेपाल सरकारका सम्बन्धित श्रेणीसरहको कानुनबमोजिम प्राप्त हुने सेवा–सुविधा पाउने व्यवस्था रहेको व्यहोरा जानकारीका लागि आदेशानुसार अनुरोध छ ।’

प्रधानमन्त्रीको सचिवालयमा नियुक्त हुने स्वकीय समूहले राज्यबाट तलब र सुविधा पनि लिन्छ । कानुनअनुसार उनीहरू राष्ट्रसेवकको परिभाषाको दायरामा पनि पर्छन् । तर, कार्यालयले सचिवालयमा नियुक्ति गरिएका व्यक्तिहरूको नामसहितको विवरण दिन इन्कार गरेको छ ।

  • नयाँ पत्रिकाले सूचनाको हक प्रयोग गरेर प्रधानमन्त्री कार्यालय र १७ वटै मन्त्रालयसँग ‘मन्त्रीका सल्लाहकार र स्वकीय तथा उनीहरूले प्राप्त गरिरहेको सेवासुविधासमेतको विवरण’ मागेको थियो । मन्त्रालयहरूले उपलब्ध गराएको विवरणका आधारमा यो समाचार तयार गरिएको हो । 

सुझावित समाचार