अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड– १९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरूको विश्वास घट्दो क्रममा रहेको पाइएको छ। मंगलबार सार्वजनिक एक सर्वेक्षणको नतिजाले यस्तो देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अक्टोबर २२–२५ मा गरिएको एक्सिओस इपोस सर्वेक्षणले ४४ प्रतिशत उत्तरदाताहरूले कोभिडग्रस्त अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनको क्षमतामा गत जनवरीदेखि क्रमशः कमी आउँदै गएको प्रतिक्रिया दिएका छन्।
आधिकारिक तथ्यांकअनुसार अमेरिकामा सेप्टेम्बर २०२० देखि सेप्टेम्बर २०२१ सम्म मुद्रास्फीति ५.४ प्रतिशतले बढेको देखिएको छ, जसले वस्तु र सेवाहरूमा मूल्यवृद्धि गरेको छ।
विश्लेषकहरूका अनुसार विभिन्न आपूर्ति शृंखलाका अवरोधहरू, उच्च बेरोजगारी र बढ्दो मुद्रास्फीतिबाट ग्रस्त अर्थव्यवस्थालाई बचाउन बाइडेन प्रशासनले लामो यात्रा तय गर्नुपर्ने देखिन्छ।