सन् २०२३ : हमासले गाजाबाट इजरायलमाथि ठुलो हवाई तथा स्थल आक्रमण गर्यो । आक्रमणमा एक हजार १९५ जना मारिए भने सयौँ बन्धक बनाइए । त्यसपछि इजरायलले गाजामाथि सुरु गरेको युद्ध नरसंहारमा परिणत भयो, जसमा ८० हजार प्यालेस्टिनी मारिएका छन् ।
सन् १७६५ : उत्तर अमेरिकामा रहेका बेलायतका नौ उपनिवेशका प्रतिनिधिले ‘स्ट्याम्प एक्ट’विरोधी सम्मेलन गरे । यो ब्रिटिस करविरुद्ध विभिन्न उपनिवेशका प्रतिनिधि भेला भएको पहिलोपटक थियो । दबाबका कारण एक वर्षपछि बेलायत ‘स्ट्याम्प एक्ट’ फिर्ता लिएको थियो ।
सन् १९०९ : बेलायतले घरेलु गुप्तचर निकाय ‘एमआई–५ (मिलिटरी इन्टेलिजेन्स, पाँचौँ खण्ड)’ स्थापना गर्यो ।
सन् १९१९ : विश्वको सबैभन्दा पुरानो वायुसेवामध्ये एक ‘केएलएम रोयल डच एयरलाइन्स’को सञ्चालन सुरु भयो ।
सन् १९५० : चीनको जनमुक्ति सेना जिन्सा नदी तरेर पूर्व तिब्बत प्रवेश गर्यो । मध्य अक्टोबरसम्ममा तिब्बती फौज पराजित भएर सम्पूर्ण भाग चीनको नियन्त्रणमा आइसकेको थियो । अर्को वर्ष मे २३ मा तिब्बती प्रतिनिधिले १७ बुँदे सम्झौता गरे ।
सन् १९७६ : माओत्सेतुलङको निधनपछि उनका उत्तराधिकारीका रूपमा हुआ गुओफेङ यसै दिन चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिका अध्यक्ष बने ।
सन् १९८६ : देशका अन्य प्रमुख पत्रिकाजस्तो आफू कुनै प्रमुख राजनीतिक पार्टीनजिक नरहने भन्दै बेलायतमा ‘द इन्डिपेन्डेन्ट’ पत्रिकाको प्रकाशन सुरु भयो ।
सन् १९९६ : मिडिया मालिक रुपर्ट मर्डोकले दक्षिणपन्थी विचारलाई प्राथमिकता दिने गरी ‘फक्स न्युज’नामक टेलिभिजन सुरु गरे ।
सन् २००१ : सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न स्थानमा अलकायदाले आक्रमण गरेको अमेरिकी आरोपबिच त्यसका मुख्य नेता ओसामा बिन लादेनलाई सुम्पन अस्वीकार गरेको अफगानिस्तानमाथि अमेरिकाले आक्रमण सुरु गर्यो । यो पछि गएर अमेरिकाको सबैभन्दा ठुलो बाह्य युद्ध बन्न सक्यो ।
सन् २००४ : कम्बोडियाका राजा नरोद्दम सिंहानुकले ८२ वर्षको उमेरमा छोरा नरोद्दम सिहामोनीलाई राजगद्दी सुम्पिए ।
सन् २०१० : पेरुका लेखक मारियो भार्गास लोसाले साहित्य विधामा नोबेल पुरस्कार जिते ।