न्युयोर्क/ यस वर्षको चिकित्सा क्षेत्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको छ । वैज्ञानिकहरू कार्ल डाइसेरोथ, पिटर हेगेम्यान र जर्ज नागेललाई ‘अप्टोजेनेटिक्ससम्बन्धी आविष्कार’का लागि पुरस्कार प्रदान गरिएको छ । ‘अप्टोजेनेटिक्सले जीवित मस्तिष्कमा रहेका व्यक्तिगत स्नायु कोषहरूको गतिविधिलाई सक्रिय वा निष्क्रिय बनाउन सम्भव तुल्याउँछ,’ नोबेल समितिले भनेको छ । मस्तिष्कका रहस्य उजागर गर्न अहिले विश्वभरका प्रयोगशालामा यो विधि प्रयोग गरिँदै छ ।
५४ वर्षीय कार्ल डाइसेरोथ, ७१ वर्षीय पिटर हेगेम्यान र ७३ वर्षीय जर्ज नागेलले ‘लाइट–गेटेड आयन च्यानल्स’ र ‘अप्टोजेनेटिक्स’का क्षेत्रमा अनुसन्धान गरेका छन् । तीनैजना वैज्ञानिक जर्मनी र संयुक्त राज्य अमेरिकाका विश्वविद्यालयमा आबद्ध छन् । नोबेल समितिले जनाएअनुसार डाइसेरोथ क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत छन् भने हेगेम्यान बर्लिनको हम्बोल्ट विश्वविद्यालयमा र नागेल जर्मनीको वुर्जबर्ग विश्वविद्यालयमा आबद्ध छन् । नोबेल समितिले उनीहरूको कामको प्रशंसा गर्दै एक्समा लेखेको छ, ‘यो विधि अहिले विश्वभरका प्रयोगशालामा मस्तिष्कका रहस्य उजागर गर्न प्रयोग भइरहेको छ ।’ गत वर्ष यो पुरस्कार प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गरिरहेका तीन वैज्ञानिकलाई प्रदान गरिएको थियो ।
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणासँगै नोबेल पुरस्कार घोषणा गर्ने साताको सुरुवात हुन्छ । यसपछि भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका पुरस्कार घोषणा गरिनेछन् । अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भने अक्टोबर १२ मा गरिनेछ । विजेताहरूले एक करोड स्विडिस क्रोनर (करिब नौ लाख अमेरिकी डलर) बराबरको नगद पुरस्कार प्राप्त गर्नेछन् र यो पुरस्कार नोबेल पुरस्कार दिवसका अवसरमा डिसेम्बर १० मा प्रदान गरिनेछ ।