चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि भारत भ्रमणका क्रममा शनिबार नयाँ दिल्ली पुगेका छन्। १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति सी नयाँ दिल्ली पुगेका हुन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीसँगै उच्च अधिकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयका निर्देशक साइ ची र परराष्ट्रमन्त्री वाङ यी पनि सहभागी छन्।
राष्ट्रपति सीले यसअघि सन् २०१९ मा अन्तिम पटक भारत भ्रमण गरेका थिए। लद्दाखमा दुई देशबिच सैन्य झडप हुनुभन्दा केही महिनाअघि सी भारत गएका थिए।
उच्चस्तरीय कदमपछि पछिल्ला वर्षहरूमा दुई देशबिचको सम्बन्धमा क्रमशः सुधार आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष चीनको भ्रमण गरेका थिए।
प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत पुगेका सी शनिबार र आइतबार दुई दिनसम्म चल्ने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने छन्। उनले शनिबार बेलुका प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।