सन् २०३० सम्म मानवअस्तित्व नाश गर्न सक्ने चेतावनीपछि एआई विकास रोक्नुपर्ने बहस

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

विश्वको सबैभन्दा ठुलोमध्ये एक एआई कम्पनी एन्थ्रोपिकका तीनजना अनुसन्धानकर्ताले यसै दशक (सन्२०३० सम्म) भित्र कृत्रिम बुद्धिमत्ता (एआई)ले मानवको समूह नष्ट गर्न सक्ने सम्भावना १० प्रतिशत रहेको चेतावनी दिएको एक दिनपछि अमेरिकाका कैयाैँ विधायकले प्रविधिको बढ्दो जोखिमबारे तिनका कम्पनीले विश्वस्त पार्न नसकेकोमा आलोचना सुरु गरेका छन् । 

टेक्सास राज्यबाट रिपब्लिकन पार्टीका सिनेटर टेड क्रुजले एबिसीको ‘द भ्यू’मा बोल्दै ‘एआईले प्रलयकारी जोखिम निम्त्याउन सक्नेबारे यसैका निर्माताले ट्विटरमा लेखेको सबै थ्रेड पढे । यो अत्यन्तै चिन्ताजनक देखिन्छ । यसले मलाई सम्झायो, गत वर्ष इलन मस्कसँगको कुराकानी सम्झाना दिलायो । उनलाई पनि मैले एआईले मानव सम्भयता नष्ट गर्ने जुन चर्चा चल्ने गर्छ, त्यसको सम्भावना कत्तिको छ भनेर सोधेको थिएँ, उनले सम्भावना ‘१०–२० प्रतिशत’ भनेका थिए । त्यो वेला पनि मलाई चिन्ता लागेको थियो,’ क्रुजले थपे । 

उता क्रुजको राजनीतिक धारका सिनेटर बर्नी स्यान्डर्सले पनि एआई कम्पनीप्रति आक्रोश पोख्दै भने, ‘पछिल्लो एउटा सर्वेक्षणले आमअमेरिकी जनताले सुरक्षाका स्पष्ट मापदण्ड स्थापित नगरेसम्म अत्यन्त क्षमतावान् एआई (सुपर इन्टेलिजेन्स) माथि प्रतिबन्ध लगाउन र बरु त्यो समयका लागि एआईको थप विकासमा रोक लगाउन चाहन्छन् ।’

विश्वको सबैभन्दा ठुलो एआई कम्पनी एन्थ्रोपिकका अनुसन्धानकर्ता ज्याकब कोक्सनले एआईले यसै दशकको अन्त्यसम्ममा मानव नष्ट गर्न सक्ने चेतावनी दिँदै कम्पनी छाडेपछि अहिले यस विषयमा व्यापक बहस सुरु भएको छ

मंगलबार एआई कम्पनी एन्थ्रोपिकका अनुसन्धानदाता ज्याकब कोक्सनले एआईको जोखिमबारे कम्पनीले पर्याप्त काम नगरेकोे भन्दै सामाजिक सञ्जालमा लेखेर कम्पनीबाट राजीनामा दिएपछि यो विषयमा अमेरिकामा बहस सुरु भएको छ । ‘एआई चाँडै नै ‘सुपरह्युमन (अतिमानव) प्रणाली’ बन्ने चरणमा छ, जसले सन् २०३० सम्ममा सम्पूर्ण मानव नै विनाश गरिदिन सक्छन्,’ कोक्सनले लेखे, ‘मैले पछिल्लो तीन वर्ष ओपन–एआई र एन्थ्रोपिक दुवैमा पूर्वप्रशिक्षण अनुसन्धान गरेर बिताएँ । तर, यीमध्ये कुनै पनि कम्पनीले जिम्मेवारीपूर्वक काम गरिरहेको छैन । उनीहरू आफैँ सुधार गर्न सक्ने ‘सुपरइन्टेलिजेन्स’ निर्माणको दौडमा छन् । यस क्रममा उनीहरूले हाम्रो जीवनसँग जुवा खेलिरहेका छन् ।’

कोक्सनको पोस्टपछि कम्तीमा दुई अन्य एन्थ्रोपिक कर्मचारीले एआईबाट मानव अस्तित्वमै खतरा रहेको भविष्यवाणीलाई समर्थन गर्दै प्रतिक्रिया जनाएका छन् । दुईमध्ये एकजनाले भने, ‘हामी साँच्चै विश्वास गर्छौं कि एआईले सबै मानिसलाई मार्न सक्छ !’उता सिनेटर क्रुज र स्यान्डर्स दुवैले एआईमा सुरक्षा व्यवस्था लागू गर्ने कानुनमा काम गरिरहेका छन् । अन्य अमेरिकी विधायकले पनि कांग्रेसलाई एआईको सुरक्षा सम्बन्धमा काम गर्न आह्वान गरेका छन् ।

क्यालिफोर्निया राज्यका डेमोक्य्राट कंग्रेसी ट्रेड लिउले एन्थ्रोपिकका अनुसन्धानदाता कोक्सनको पोस्ट ‘देशका दुवै दल मिलेर एआई विकास रोक्नेसम्बन्धी विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने अर्को कारण भएको’ बताए । म्यासाचुसेट्स राज्यकी डेमोक्य्राट विधायक लोरी ट्राहानले यस विषयमा संसद् (कंग्रेस)ले समय खेर नफाली गम्भीरताका साथ काम गर्नुपर्ने बताइन् । ‘एआई कम्पनीका सुरक्षा अनुसन्धानकर्ताले राजीनामा दिइरहेका छन् । एआई कम्पनी आफैँले तिनका शक्तिशाली एआई मोडेल नियन्त्रणबाहिर गएर ह्याक गर्न थालेको बताइरहेका छन् । त्यही पनि यी कम्पनी एआई विकासमा हच्किएका छैनन्,’ ट्राहानले भनिन् । 

उता संगीतकार सेरिल क्रोले पनि कोक्सनको चेतावनीबारे इन्स्टाग्राममा पोस्ट गर्दै ‘एआईले आफ्नो निरन्तर सञ्चालन अवरुद्ध हुने डरमा मानव अस्तित्व मेटाउन सक्ने चेतावनी’ दिँदै भनेकी छन्, ‘म बिन्ती गर्छु कि हामी अहिले नै 
(यस खतराप्रति) ब्युँझौँ र हाम्रा नेतालाई यी लोभी एआई कम्पनीलाई रोकेर एआईको विकास थप अगाडि बढ्न लान नदिन आह्वान गरौँ,’ क्रोले लेखेकी छिन् । गायक–गीतकार म्यागी रोजर्सले क्रोको पोस्ट सेयर गरेर समर्थन 
जनाएकी छन् । 

आसमा मंगलबार कोक्सनको चेतावनी आउनुअघि नै अमेरिकाका दुई सबैभन्दा ठुला कम्पनी ओपनएआई र एन्थ्रोपिकका केही एआई मोडलले केही महिनाअघि विनानिर्देशन स्वचालित रूपमा ह्याकिङ गर्न थालेको खुलासा गरेपछि नै चिन्ता बढेको थियो । तथापि, त्यस खतरालाई पनि ती कम्पनीका कार्यकारीले आफ्नो प्रविधिको शक्तिका रूपमा प्रचार गरेका थिए । 

आलोचनाबिच बुधबार एन्थ्रोपिकले यसका मोडलको जोखिमबारे लामो साइबर सुरक्षा रिपोर्ट प्रकाशित ग¥यो । त्यसमा कम्पनीले ‘आफ्ना एआई एजेन्टको ह्याकिङ कार्य कुनै निर्देशनविना भएको भए पनि त्यो सीमित रहेकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए । 

‘हामी सधैँ पारदर्शी छौँ कि एआईले अत्यन्त विशाल फाइदा र अभूतपूर्व जोखिम दुवै ल्याउनेछ,’ एन्थ्रोपिकका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यी जोखिमलाई सम्बोधन गर्न हामी एआई उद्योगमा केही बलियो सुरक्षा उपायसहित मोडल निर्माण गरिराखेका छौँ ।’ 
केर ‘द गार्जियन’की  प्रविधि रिपोर्टर हुन् । द गार्जियनबाट

See More On

सुझावित समाचार