सन् २०२३ : इजरायलले अघिल्लो दिन गाजाबाट हमासले गरेको आक्रमणको जवाफमा औपचारिक रूपमा युद्ध घोषणा गर्यो । यसका लागि सरकारले तीन लाख रिजर्भ फौज बोलायो । गाजामाथिको नाकाबन्दी थप कठोर बनायो र व्यापक बमबारी सुरु गर्यो । नरसंहारमा परिणत भएको युद्धमा ८० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।
सन् १६०० : सान मारिनोले ऐतिहासिक ‘स्ट्याचुएट्स (विधानहरू)’ अंगीकार गर्यो । विभिन्न कानुनमा विभाजित यस दस्ताबेजलाई विश्वको सबैभन्दा पुरानो जीवित संवैधानिक प्रणाली मानिन्छ ।
सन् १८५६ : चीनको ग्वाङ्झाउ क्षेत्रमा पर्ल रिभरको एक जहाज (एर्रो)मा भएको विवादपछि दोस्रो अफिम युद्ध (दोस्रो अंग्रेज–चीन युद्ध) सुरु भयो ।
सन् १८६० : अमेरिकाका दुई ठुला सहर लस एन्जलस र सान् फ्रान्सिस्को सहरलाई जोड्ने पहिलो टेलिग्राफ लाइन सुचारु भयो ।
सन् १९१२ : मोन्टेनेग्रोले अटोमन साम्राज्यविरुद्ध युद्ध घोषणा गरेसँगै पहिलो बाल्कन युद्ध सुरु भयो । लगत्तै सर्बिया, बुल्गेरिया र ग्रिस पनि अटोमन साम्राज्यविरुद्ध उत्रिएको युद्ध एक सात महिनापछि अटोमन साम्राज्यको हारसँगै अन्त्य भयो । युद्धमा अटोमन साम्राज्यले आफ्नो ८३ प्रतिशत युरोपेली भूमि गुमायो ।
सन् १९६३ : जन्जिबारका सुल्तान जमसिद् विन अब्दुल्लाहले लन्डनमा केन्याको तटीय क्षेत्रमा केन्यालाई सुम्पिए ।
सन् १९६७ : बोलिभियामा छापामार नेता चे ग्वेभारा उनका सहयोगीसहित पक्राउ परे । भोलिपल्ट उनको हत्या गरियो ।
सन् १९८२ : पोल्यान्डको सत्तारुढ कम्युनिस्ट पार्टीले सम्पूर्ण लेबर युनियनमाथि प्रतिबन्धको घोषणा गर्यो । श्रमिक नेताहरू भूमिगत भएर हड्ताल र सडक प्रदर्शन सञ्चालनमा लागे । विरोध र अन्तर्राष्ट्रिय दबाबबिच सरकारले लेक वालेसा नेतृत्वको ‘सोलिडारिटी’ संगठनलाई कानुनी मान्यता दिन बाध्य भयो ।
सन् १९९८ : अमेरिकाको संघीय संसद्को तल्लो सदनले राष्ट्रपति बिल क्लिन्टनले आफ्नो कार्यालयमा इन्टर्न गरिरहेकी मोनिका लेविन्स्कीसँग सम्बन्ध राखेकोबारे झुट बोलेको आरोपमा उनीविरुद्ध महाभियोगको मुद्दामा सुनुवाइ सुरु गर्यो ।
सन् २००१ : सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि देशभित्रको आन्तरिक सुरक्षा हेर्न अमेरिकाले ‘होमल्यान्ड सेकुरिटी’ नामक मन्त्रालय गठन गर्यो ।
सन् २००४ : ग्रिनबेल्ट अभियानकी संस्थापक केन्याली अभियन्ता वानारी माथाईले नोबेल शान्ति पुरस्कार पाइन् । उनी नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकी महिला हुन् ।