पहिलो कागेश्वरी मनोहरा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि विष्णुप्रसाद बस्नेत र उमेश धितालले जितेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानी अमरसिंह चोकस्थित कभर्डहलमा आइतबार भएको फाइनल खेलमा विष्णु र उमेशको जोडीले सुन्दर परियार र कविराज थापाको जोडीलाई २१–९ र २१–८ को सोझो सेटमा पराजित गरेका हुन् ।
कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा मनोज खड्का र हरि थापा तथा सिद्धार्थ लामा र अजम्बर श्रेष्ठको जोडी तेस्रो भए । उपाधि विजेताले १० हजार, उपविजेताले ६ हजार रुपैयाँ पाएका छन् । दुई दिनसम्म चलेको प्रतियोगितामा १३ जोडीले पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी, आइतबार नै भएको दोस्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा दीपक लामा र भवानी थापाको जोडी फाइनलमा प्रवेश गरेका छन् । गोठाटारको विष्टगाउँमा भइरहेको प्रतियोगितामा दीपक र भवानीको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गरेका हुन् । फाइनलमा उनीहरूको भेट प्रकाश पराजुली र कुमार पन्तको जोडीसँग हुनेछ । अर्को सेमिफाइनलमा प्रकाश र कुमारको जोडीले टंक पराजुली र विश्व पौडेलको जोडीलाई १८–२१, २१–१४ र २१–१४ को सेटमा हराएका थिए ।