२०औँ एसियाली खेलकुद आजबाट

तेस्रोपटक एसियाड आयोजना गर्ने अवसर पाएको जापानमा अबको दुई सातासम्म ४३ खेलमा ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्ने

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण
२०औँ एसियाली खेलकुद आजबाट

तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

२०औँ एसियाली खेलकुद (एसियाड)को महाकुम्भ मेला शनिबारबाट जापानको नागोया र आइची सहरमा हुँदै छ । पालोमा मिजुहो मैदानमा स्थानीय समयअनुसार अपराह्न ४ः१५ बजे उद्घाटन समारोह हुनेछ । जापानले यो तेस्रोपटक एसियाड आयोजना गरेको हो । एसियाली खेलकुद ३२ वर्षपछि जापान फर्किएको हो । यसअघि, टोकियोले सन् १९५८ र हिरोसिमाले सन् १९९४ मा एसियाली खेलकुद आयोजना गरेका थिए । जापानमा आयोजना हुने २०औँ एसियाडमा एउटा विशेष संयोग पनि जोडिएको छ । यसपटक एसियाली खेलकुद आयोजनाको ७५ वर्ष पूरा भएको अवसर पनि जुरेको हो ।

यसपटक उद्घाटन समारोहमा सम्राट्सँगै राजपरिवारका सदस्य सहभागी हुनेछन् । राजपरिवारका सदस्य आउने भएपछि आयोजकले उद्घाटन हुने क्षेत्रको एक किलोमिटरसम्म सुरक्षा व्यवस्था कडा पारेको छ । जापानले यसपटकको एसियाड आयोजनाका लागि तीन सय ७० बिलियन यान छुट्याएको छ । सन् २०२३ मा चीनको हाङझाउबाट आयोजकको झन्डा बोकेर आएका आइची र नागोयाले प्रतियोगिता उत्कृष्ट बनाउन भन्दै बजेटमा कटौती गरेका छन् ।

२०औँ संस्करणमा ४३ खेलमा ११ हजार खेलाडीले भाग लिनेछन् । यहाँ सात हजार अफिसियल रहनेछन् । जापानले सुरुमा १५ हजार खेलाडी तथा अफिसियल मात्रै सहभागी हुने जनाएको थियो । पछि यो संख्या बढेर १७ हजारमाथि पुगेको छ । सहभागी खेलाडी र अफिसियल हेर्दा यो पेरिस ओलम्पिकको भन्दा धेरै हो । पेरिसमा १० हजार सात सय सहभागी भएका थिए । कुल चार सय ६९ पदकका लागि हुने प्रतिस्पर्धामा चीनलाई नै मुख्य दाबेदार मानिएको छ । जापान, दक्षिण कोरियालगायत देशले चीनलाई चुनौती दिनेछन् ।

नेपालले २१ खेलमा प्रतिस्पर्धा गर्ने
प्रतियोगितामा नेपालले २१ खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालबाट सहभागी भएको महिला भलिबल टोली उद्घाटनअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । एसियाली खेलकुदमा नेपालबाट दुई सय ११ सहभागीमध्ये एक सय ३५ खेलाडी छन् । जसमध्ये ७८ पुरुष तथा ५८ महिला खेलाडी हुन् । टोलीमा २९ जना प्रशिक्षक, १७ व्यवस्थापक र खेल प्राविधिकका रूपमा दुईजना जापानमा पुगेका छन् । आर्चरीमा समान एक पुरुष र महिला, एथलेटिक्समा चार पुरुष र दुई महिला, ब्याडमिन्टनमा समान दुई महिला र पुरुष, बक्सिङमा चार पुरुष र तीन महिला खेलाडीले भाग लिनेछन् । यसैगरी, क्यानोईमा दुई पुरुष, पुरुष क्रिकेटमा १५ जना, साइक्लिङमा समान एक पुरुष र महिला रहनेछन् । डान्स एन्ड स्पोर्टस्मा एक पुरुष खेलाडी सहभागी हुनेछन् । त्यस्तै, गल्फमा तीन पुरुष र एक महिला, जुडोमा समान तीन महिला तथा पुरुष, कबड्डीमा समान १२ पुरुष–महिला रहने राखेपले जनाएको छ ।

कराँतेमा तीन पुरुष र पाँच महिला, स्केटबोर्डमा दुई पुरुष, सफ्ट टेनिसमा तीन पुरुष र एक महिला, स्क्वासमा समान एक पुरुष तथा महिला र पौडीमा तीन पुरुष र दुई महिलाले भाग लिनेछन् । टेबुलटेनिसमा समान तीन महिला तथा पुरुष खेलाडी हुनेछन् । तेक्वान्दोमा दुई पुरुष, टेनिसमा तीन पुरुष र दुई महिला, महिला भलिबलमा १२, कुस्तीमा चार पुरुष र दुई महिला तथा उसुमा आठ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

सन् १९५१ देखि सहभागी, तर स्वर्णविहीन
नेपालले सन् १९५१ मा भारतको नयाँदिल्लीमा भएको पहिलो संस्करणदेखि एसियाडमा  सहभागिता जनाउँदै आएको छ । नेपालले अहिलेसम्म तीन रजत र २३ कास्य पदक जितेको छ । तर, हालसम्म नेपालले स्वर्ण पदक जित्न सकेको छैन । पहिलो संस्करणमा नेपालबाट एथलेटिक्स खेलका खेलाडीले मात्र भाग लिएका थिए । नेपालबाट नयाँदिल्लीमा नौ सदस्यीय टोलीले भाग लिएको थियो ।

नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाडमा पहिलोपटक पदक जितेको थियो । सन् १९९८ मा बैंकक एसियाडमा नेपालले इतिहास रच्दै पहिलोपटक रजत जित्यो । तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई ऐतिहासिक रूपमा रजत दिलाएकी थिइन् । सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा भएको १८औँ एसियाडमा प्याराग्लाइडिङले टिम इभेन्ट्समा तथा पछिल्लोपटक चीनमा भएको एसियाडमा कराँतेकी एरिका गुरुङले रजत जितेकी थिइन् ।  दसौँ संस्करणयता नेपाल प्रतियोगितामा पदकविहीन हुनुपरेको छैन । 

नेपालको झन्डा मानमती विष्ट र चन्द्र थापाले फहराउने
उद्घाटन समारोहमा नेपालको झन्डा मानमती विष्ट र चन्द्र थापाले फहराउने भएका छन् । उद्घाटन समारोहमा सहभागी टिमले आफ्नो देशको प्रतिनिधित्व गर्दै एक महिला र एक पुरुष खेलाडीलाई ट्र्याकमा झन्डा फहराउन दिँदै आएको छ । मानमती कबड्डी खेलाडी हुन् । चीनमा भएको १९औँ एसियालीमा नेपालले ऐतिहासिक कांस्य जित्दा मानमती कप्तान थिइन् । चन्द्र बक्सिङ खेलाडी हुन् । चन्द्र २०औँ एसियाली खेलकुदमा पुरुष ५५ केजी तौल समूहमा सहभागी हुँदै छन् । 

चन्द्रले गत मंसिरमा संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना भएको वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका थिए । 

सबैभन्दा सानो शरणार्थीको टोली
एसियाडमा ४५ राष्ट्रका साथै शरणार्थीको एउटा टोलीले पनि सहभागिता जनाएको छ । एसियाडमा सहभागी हुने सबैभन्दा सानो खेल टोली पनि शरणार्थीकै हो । टोलीमा दुई खेलाडी सहभागी छन् । सबैभन्दा सानो टोली ब्रुनाईले पठाएको छ । ब्रुनाईको टोलीमा ६ जना खेलाडी छन् । भुटान र टिमोर लिस्टेले समान १३ खेलाडी सहभागी गराएका छन् । इराकको टोलीमा १४ जना खेलाडी छन् । उत्तर कोरियाले ९५ जना खेलाडी सहभागी गराएको छ ।

सबैभन्दा बढी खेलाडी आयोजक राष्ट्र जापानकै हो । जापानको टोलीमा नौ सय ३२ जना खेलाडी छन् । चीनको टोलीमा आठ सय १५ जना र दक्षिण कोरियाले सात सय ९२ जना खेलाडी सहभागी गराएको छ । भारतका पाँच सय आठजना खेलाडीले भाग लिएका छन् ।

खेलाडीलाई पानीजहाज र कन्टेनर सुविधा
कोभिड–१९ को महामारीबाट थलिएको भन्दै जापान सरकाले यसपटक खर्च कटौती गरेको छ । यसअघिका संस्करणमा खेलाडी तथा अफिसियल ‘एथलेटिक्स भिलेज’ बसेका थिए । यसपटक उनीहरूले यस्तो किसिमको सुविधा पाउनेछैनन् । खेलाडीको वासस्थानका लागि इटालीबाट ‘कोस्टा सेरेना’ नामको क्रुज नागोया ल्याइएको छ । जसमा सात हजार खेलाडी तथा अफिसियल बस्नेछन् । नेपाली खेलाडी पनि पानीजहाजमा बस्नेछन् । कबड्डीसँगै उसु र टेबलटेनिसका खेलाडी उद्घाटनअघि नै यहाँ रहेका छन् । 

सीमित खेलाडी होटेलमा बस्नेछन् । यही कारण खेलाडी तथा अफिसियलले आयोजकप्रति असन्तुष्टि जनाएका छन् । बसोवासदेखि यातायातको समस्या रहेको भन्दै विरोध पनि सुरु भएको छ । विशेषतः चीन, भारत, दक्षिण कोरियालगायत देशले असन्तुष्टि जनाएका हुन् । 

सफ्ट टेनिसको पुरुष टोली समूह चरणमै सीमित 
आइची नागोया एसियाली खेलकुदको सफ्ट टेनिसमा नेपाली पुरुष टोली समूह चरणमै सीमित बनेको छ । शुक्रबार सम्पन्न समूह ‘बी’को खेलमा प्रदीप खत्री, कमलबहादुर भण्डारी र ब्रिजेश पाण्डे सम्मिलित नेपाली टोली दक्षिण कोरिया र इन्डोनेसियासँग ३–० ले पराजित भएको हो । हिगासियमा पार्क टेनिस सेन्टरमा सुरुवाती दुई खेल गुमाएको नेपालले खेलाडी नभएका कारण तेस्रो खेलमा प्रतिस्पर्धा गर्न पाएन ।

टिम इभेन्टमा पाँचदेखि ६ खेलाडीको आवश्यक हुन्छ । पहिलो खेलमा प्रदीप र कमलबहादुरको जोडीले प्रतिस्पर्धा गरेको थियो । त्यसपछि सिंगल्समा ब्रिजेशले चुनौती प्रस्तुत गरेका थिए । तेस्रो खेलमा अन्य दुई खेलाडी जोडी बनेर कोर्टमा उपस्थित हुनुपर्ने नियम छ, जुन नेपालको हकमा सम्भव थिएन । 

सुझावित समाचार