नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण नजिकिएसँगै सहभागी आठ टिमले विदेशी खेलाडी अनुबन्धलाई तीव्रता दिएका छन् । चितवन राइनोजले बिहीबार मात्रै पाकिस्तानका चर्चित दायाँहाते लेग स्पिनर उसामा मिरलाई टोलीमा भित्र्याएको हो ।
९ कात्तिकबाट सुरु हुने प्रतियोगिताका लागि चितवनले ३० वर्षीय मिरलाई अनुबन्ध गरेको हो । उनले पाकिस्तानका लागि १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १५ विकेट र पाँच टी–२० अन्तर्राष्ट्रिय खेलमा पाँच विकेट लिएका छन् । उनले सन् २०२३ को एकदिवसीय विश्वकपसमेत खेलेका थिए ।
कुशल मल्लको कप्तानीमा चितवनले तेस्रो सिजनका लागि पाकिस्तानका पूर्वबलर सोहेल तनभिरलाई प्रशिक्षक बनाएको छ । टोलीमा रवि बोपरा, सिकन्दर राजा, कलिम साना अनुबन्ध भइसकेका छन् । नेपाली खेलाडीमा अर्जुन साउद, देव खनाललगायत छन् ।
यसपटक पनि एनपिएलमा एक टिमले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछ । जसमध्ये चार खेलाडी मैदानमा उतार्न सकिनेछ । केही टिम भने आइसिसीबाट मान्यता नपाउँदा टेस्ट खेलाडी अनुबन्धको प्रतीक्षामा छन् । हाल आइसिसीले टेस्ट खेलिरहेका चार खेलाडीलाई एनपिएलमा खेलाउन मान्यता दिएको छ ।
कुन टिममा कुन विदेशी खेलाडी
लुम्बिनी लायन्स
साबिक विजेता लुम्बिनी लायन्सले उपाधि रक्षा गर्ने योजनासहित चर्चित अनुहार अनुबन्ध गरेको छ । उसले श्रीलंकाली विकेटकिपर तथा ब्याटर निरोसन डिकवेलालाई तेस्रो सिजनका लागि नवीकरण गरेको हो । यस्तै, गत सिजन टिमलाई च्याम्पियन बनाउन महŒवपूर्ण भूमिका खेलेका अस्ट्रेलियाका डार्सी सर्टलाई अनुबन्ध गरेको छ । उनले गत सिजनका १० खेलमा २५६ रन बनाएका थिए । प्रशिक्षकमा पनि टिमले भारतका तिनु याहान्नानलाई निरन्तरता दिएको छ ।
जनकपुर बोल्ट्स
पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सले यसपटक ठुला नामलाई प्राथमिकतामा राखेको छ । मालिक फेरिएपछि जनकपुरले जिम्मी निसमलाई फर्काएको छ । भारतीय मूलका अमेरिकन खेलाडी हरमित सिंहलाई अनुबन्ध गरेको छ । उनी गत सिजन सुदूरपश्चिममा थिए । निसम भने पछिल्लोपटक पोखरा पुगेका थिए । यस्तै, इंग्ल्यान्डका चर्चित विश्वविजेता मोइन अलीलाई टिममा अनुबन्ध गरिसकेको छ ।
सुदूरपश्चिम रोयल्स
तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पुरानै खेलाडीलाई निरन्तरता दिएको छ । लगातार दुईपटक फाइनलमा चुकेको टोली यसपटक च्याम्पियन बन्ने दाउमा छ । दीपेन्द्रसिंह ऐरी मार्की रहेको सुदूरपश्चिमले इंग्ल्यान्डका सेफ अली जैब र न्युजिल्यान्डका स्कट कुगेलेइनलाई तेस्रो सिजनमा खेलाउने पक्का गरेको छ । कुगेलेइन लगातार तेस्रोपटक सुदूरपश्चिमबाट खेल्दै छन् ।
कर्णाली याक्स
पहिलो सिजनमा भारतका चर्चित क्रिकेटर शिखर धवन ल्याएर सनसनी मच्चाएको कर्णाली याक्सले यसपटक ठुलो नाम भने सार्वजनिक गरेको छैन । यद्यपि, दुई बंगलादेश र एक स्कटल्यान्डका गरी तीन खेलाडी अनुबन्ध गरिसकेको छ ।
बंगलादेशका युवा खेलाडी अकबर अली र असिफुल इस्लामले पहिलोपटक एनपिएल खेल्दै छन् । सोमपाल कामी मार्की रहेको कर्णालीले मार्क वाटलाई निरन्तरता दिएको छ ।
पोखरा एभेन्जर्स
ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्सले श्रीलंकाका अलराउन्डर धनञ्जय लक्षणलाई निरन्तरता दिएको छ । टोलीले यसपटक बंगलादेशका चर्चित खेलाडी सकिब अल हसनलाई अनुबन्ध गरेको हो । हसनले पहिलोपटक एनपिएल खेल्दै छन् । यसपटक श्रीलंकाका अजन्ता विन्स्लो मेन्डिसलाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीमा सागर यकाल, अर्जुन कुमाल, आकाश चन्द, किरण ठगुन्नाजस्ता खेलाडी छन् ।
विराटनगर किंग्स
सन्दीप लामिछाने कप्तान रहेको विराटनगरले गत सिजनजस्तै चर्चित विदेशी खेलाडी अनुबन्ध गर्ने योजना बनाएको छ । तर, गत सिजन खेलेका अमेरिकी खेलाडी शुभम रन्जनेलाई मात्रै निरन्तरता दिएको छ । त्यस्तै, श्रीलंकाका २९ वर्षीय ब्याटिङ अलराउन्डर चारिथ असलंकालाई अनुबन्ध गरेको छ ।
पछिल्लोपटक फाप डु प्लेसिसलाई अनुबन्ध गरेको विराटनगरले यसपटक आइसिसीको नियम कुरेर बसेको व्यवस्थापक विजयकुमार धितालले बताए । आइसिसीले टेस्ट राष्ट्र पूर्ण रूपमा फुकुवा गरे टेस्ट खेलाडी नै मैदानमा उतार्ने योजना क्लबले बनाएको छ ।
काठमाडौं गोर्खाज
करण केसी मार्की रहेको काठमाडौं गोर्खाजले अस्ट्रेलियाका ओपनिङ ब्याटर डेभिड वार्नर अनुबन्ध गरेर उपाधि दाबेदारी प्रस्तुत गरिसकेको छ । यद्यपि, वार्नरले खेल्ने खेलको संख्या टुंगिएको छैन ।
उनी कर्णालीका शिखर धवनपछि एनपिएल खेल्ने विश्वक्रिकेटका चर्चित र सफल खेलाडी हुन् । यस्तै, काठमाडौंले कर्णालीबाट दुई सिजन खेलेका अस्ट्रेलियाकै विल बोसिस्टो, भारतका केएस भरत र श्रीलंकाका सहान चराकिंगेलाई अनुबन्ध गरेको छ ।