एनपिएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा साबिक विजेता र उपविजेता भिड्ने

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको खेलतालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अक्टोबर २६ अर्थात् कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ। यससँगै एनपिएलको तेस्रो संस्करणको सुरुवात नै अघिल्लो संस्करणका फाइनलिस्टबिचको खेलबाट हुनेछ।

प्रतियोगिताका समूह चरणका खेल नोभेम्बर १५ अर्थात् कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। अघिल्ला संस्करणमा जस्तै यसपटक पनि खेलहरू दिउँसो तथा राति फ्लडलाइटमा खेलाइनेछन्।

समूह चरणपछि नोभेम्बर १७ मा क्वालिफायर–१ हुनेछ। उक्त खेलमा लिग चरणमा पहिलो र दोस्रो स्थान हासिल गर्ने टोली आमनेसामने हुनेछन्। नोभेम्बर १८ मा तेस्रो र चौथो स्थानमा रहने टोलीबिच एलिमिनेटर खेल हुनेछ।

त्यसपछि नोभेम्बर १९ मा क्वालिफायर–२ हुनेछ। क्वालिफायर–१ मा पराजित टोली र एलिमिनेटरको विजेताबिच हुने उक्त खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ।

एनपिएलको तेस्रो संस्करणको फाइनल नोभेम्बर २१ मा हुनेछ। एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। सुदूरपश्चिम रोयल्स भने प्रतियोगिताका दुवै संस्करणमा फाइनल पुगे पनि उपविजेतामै सीमित भएको थियो। गत संस्करणको उपाधि भने लुम्बिनी लायन्सले जितेको थियो।

सुझावित समाचार