तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)लाई लक्षित गर्दै त्रिवि क्रिकेट मैदान चिटिक्क पारिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको महाकुम्भलाई लक्षित गर्दै त्रिवि क्रिकेट मैदानको व्यवस्थापनलाई तीव्रता दिएको हो ।
क्यानका उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा अहिले त्रिवि क्रिकेटको पिच निर्माण गर्ने, मैदानको दुबो हरियाली बनाउने, प्यारापिट सफा गर्ने, अस्थायी प्यारापिट थप्ने, छाना लगाउने, विभिन्न पेभिलियन बनाउने कार्यलाई अन्तिम स्वरूप दिइरहेको छ ।
यसपटक दर्शकको सुविधाका लागि शौचालय थप्ने र पार्किङ निर्माणसहित व्यवस्थित गर्ने काम पनि भइरहेको उपाध्यक्ष सिंहले बताए । गत संस्करणमा सरकारले १० हजार क्षमताको प्यारापिटसहित ६ वटा फ्लड लाइट जडान गरेको थियो ।
जसका कारण दोस्रो संस्करणको एनपिएल डे–नाइटमा सञ्चालन भएको थियो । नेपालले डे–नाइट क्रिकेट सहजै सञ्चालन गर्न सकिने भन्ने विश्व क्रिकेटमा सन्देश दिएको थियो । क्यानले निर्माणाधीन चोभार जोनको प्यारापिटमा छाना राख्ने काम गरेको छ । यसपटक क्यानले थप तीन हजार दर्शक क्षमताको चोभार जोन (पूर्वपट्टि) छाना लगाइएको छ ।
समग्रमा तेस्रो संस्करणमा १३ हजार दर्शकले प्यारापिटमा बसेर सहजै एनपिएलको मजा लिन सक्नेछन् । यसै प्यारापिटमध्ये आठ टिमका मालिकलाई पनि फरक जोन छुट्याइएको छ । त्यस्तै, चोभार जोनतर्फ साइड स्क्रिनतर्फ रहेको माटो सम्याउँदै मिलाउँदै अस्थायी प्यारापिट बनाउने तयारी भइरहेको छ । जहाँ थप ५५० जना दर्शक अटाउने क्यानको लक्ष्य छ ।
यस्तै, यसपटक अस्थायी नयाँ मिडिया बक्स निर्माण गरिएको छ । फ्रेन्चाइज टिम मालिक, क्यानका पदाधिकारी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि, विशिष्ट अतिथिका लागि छुट्टै कक्ष निर्माण गरिएको छ । खेलाडीका लागि व्यवस्थित ड्रेसिङ रुम बनाउने कामलाई तीव्रता दिइएको छ ।
डिआरएसको तयारी
क्यानले पहिलोपटक नेपालमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि भिœयाउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काले केही दिनमै डिआरएसको टुंगो लाग्ने बताएका छन् । ‘अहिले अन्तिम चरणमा छौँ । सायद दुई–तीन दिनमा यसको टुंगो लाग्छ । सबै सकारात्मक छौँ,’ सचिव खड्काले भने । पारसका अनुसार डिआरएस हुँदा खेल ३० मिनेट धकेलिन सक्छ । त्यस्तै, बजेटसमेत बढ्नेछ । पारसकै अनुसार डिआरएस राख्न दुई करोडबराबरी खर्च हुनेछ ।
एनपिएलले पायो आइसिसीको मान्यता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले तेस्रो एनपिएललाई मान्यता दिएको छ । आगामी १० कात्तिकदेखि हुने नेपाल प्रिमियर लिगले आइसिसीको मान्यता पाएपछि अब टेस्ट राष्ट्रका खेलाडीलाई अनुभव गर्न बाटो खुला भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्तिबाट एनपिएलले आइसिसीको मान्यता पाएको जनाएको हो । ‘आइसिसीबाट मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्नेमा क्यान विश्वस्त रहेको छ,’ क्यानले भनेको छ ।