तामझामविना एसियाडका पदक विजेता खेलाडी पुरस्कृत

यसअघि हल्लीखल्ली गरेर पुरस्कार रकम दिइन्थ्यो, यसपटक सिधै खेलाडीको खातामा रकम जम्मा

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

सरकारले विनातामझाम जापानको आइची नागोयामा आयोजना भएको २०औँ एसियाली खेलकुद (एसियाड) मा कांस्य पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरेको छ ।

बैंक खातामा बुधबार पुरस्कार रकम जम्मा गरेको कराँतेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र कबड्डी कप्तान मानमती विष्टले जानकारी दिए । दुई खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले कुल ३५ लाख १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसै महिनाको पहिलो साता २०औँ एसियाड सकिएको थियो । कराँतेका तेन्जिङ शेर्पा र नेपाली महिला कबड्डी टोलीले नेपाललाई कांस्यपदक दिलाएका थिए । 

महिला कबड्डीले लगातार एसियाडमा कांस्य हात पारेको थियो । २०औँ एसियाडमा नेपाललाई पहिलो पदकका रूपमा कांस्य दिलाएको कराँतेका प्रशिक्षक श्रेष्ठले द्रुत गतिमा सरकारले आफ्नो खातामा पुरस्कार रकम जम्मा गरेको बताए । 

‘सरकारले निर्धारित र निर्णय गरेको पुरस्कार रकम डिपोजिट भएको जानकारी गराउन चाहन्छु । द्रुत गतिमा काम भएकोमा धन्यवाद नेपाल सरकार,’ श्रेष्ठले भने । बालेन्द्र शाह नेतृत्वको सरकारले २३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकबाट एसियाडमा पदक विजेता खेलाडीलाई पुरस्कार तत्काल वितरण गर्ने निर्णय गरेको थियो । 

राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार सरकारले पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको हो । राखेपले यसपटक छनोट नभई वाइल्ड कार्डमार्फत छनोट भएको भन्दै खेलाडीलाई आधा पुरस्कार दिने निर्णय गरेको थियो । 

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अन्तर्गत नियम २८ को उपनियम (३), (६) र (७) अनुसार एसियन खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कांस्य जित्ने खेलाडी नगदबाट पुरस्कृत हुने व्यवस्था छ ।

जसअनुसार स्वर्णलाई ३२ लाख ५० हजार, रजतलाई १९ लाख ५० हजार र कांस्यलाई १४ लाख रुपैयाँ प्रदान गरिनुपथ्र्यो । तर, सरकारले छनोट नभएर वाइल्ड कार्डको माध्यमबाट प्रतिस्पर्धा गरेका कारण तोकिएको पुरस्कर रकमको ५० प्रतिशत घटाइएको जनाएको छ । कराँतेको पुरुष ८४ केजीमाथि तौल समूहमा कांस्य पदक जितेका शेर्पाले ६ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । उनका मुख्य प्रशिक्षक श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक तथा संघका अध्यक्ष युवराज लामाले ६५ हजार रुपैयाँ प्राप्त गरेका छन् । 

महिला कबड्डी टोलीका १२ खेलाडीले जनही एक लाख ९५ हजार रुपैयाँ प्राप्त गरेका छन् । टोलीकी प्रशिक्षक पार्वती राईले एक लाख ३० हजार तथा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र टिम व्यवस्थापक शरद दर्शनधारीले जनही ६५ हजार रुपैयाँ पाएका छन् । 

फेरियो सरकारले पुरस्कार दिने चलन
पछिल्ला वर्षमा खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेर आउँदा सरकारले घोषणा गरेको रकम पाउन महिनौँ प्रतीक्षा गर्नुपर्ने थियो । सरकारले रकमसहित पुरस्कृत गर्ने घोषणा गरेको दिन भव्य समारोहबिच हुने गथ्र्यो । अक्सर पुरस्कार प्रायः प्रधानमन्त्रीबाट वितरण गरिन्थ्यो । 

प्रधानमन्त्रीबाट पुरस्कृत हुने कार्यक्रम आयोजना हुँदा खेलाडीदेखि अफिसियलसम्म औपचारिक पोसाकमा प्रधानमन्त्री कार्यालय पुग्थे । त्यहाँ घण्टौँको पर्खाइ र लामो भाषणपछि पुरस्कृत खेलाडी तथा अफिसियलले चेक पाउँथे । तर, अहिले यस्तो केही पनि भएन । सरकारले कुनै पनि कार्यक्रम आयोजना नगरी सिधै खेलाडी, प्रशिक्षक र अफिसियलको सिधै खातामा रकम जम्मा गरेको छ । 

  • कराँतेका कांस्य विजेता तेन्जिङ शेर्पाले ६ लाख ५० हजार, मुख्य प्रशिक्षक कुशल श्रेष्ठले एक लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार रुपैयाँ पाए
  • लगातार दोस्रोपटक कांस्य जितेको महिला कबड्डी टोलीका १२ खेलाडीले जनही एक लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले एक लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले ६५ हजार रुपैयाँ प्राप्त गरे

सुझावित समाचार