टेस्ट राष्ट्र अफगानिस्तानलाई नेपालले दोस्रोपटक हराएको छ। जापानको नागोया आइचीमा चलिरहेको २०औँ एसियाली खेलकुदको क्रिकेटतर्फ नेपालले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो।आइचीको निसिनस्थित कोरोगी मैदानमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै सात विकेट गुमाएर १०३ रनको लक्ष्य थियो । प्रत्युत्तरमा नेपालले १६.१ ओभरमा पाँच विकेट गुमाउँदै पहिलो जित निकाल्दै समूहमा दुई अंक जोड्यो ।
यसअघि दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको नेपालले टस हारेर पनि सानदार बलिङ गरेकाे थियाे । नेपाली बलरले अफगानिस्तानी ब्याटरलाई ठुलो साझेदारी हुनै दिएनन् । ब्याटिङतर्फ समेत नेपाल सम्हालिएर खेल्यो। नेपाली ब्याटरले धैर्यपूर्ण ब्याटिङ गरे र पहिलो खेलमै जित निकाले । त्यति मात्रै हाेइन, टेस्ट राष्ट्र अफगानिस्तानलाई स्तब्ध बन्याे। यस्तै, नेपालले दोस्रोपटक टेस्ट राष्ट्रलाई पराजित गरेको छ । यसअघि नेपालले युएईमा वेष्टइन्डिजलाई हराएको थियो।
नेपालले अफगानिस्तानलाई दोस्रोपटक पराजित गरेको हो । यसअघि नेपालले सन् २०१४ मा अफगानिस्तानलाई नाै रनले पराजित गरेको थियो। त्यसअघि सन् २०१२ मा एकपटक र सन् २०१३ मा नेपाल दुईपटक पराजित भएको थियो। नेपालको ब्याटिङतर्फ सन्दीप जोराले रनआउट हुनुअघि ३५ बलमा तीन चौका र एक छक्कासहित ३४ रन बनाए।
पूर्वकप्तान रोहितकुमार पौडेल ३३ रनमा अविजित रहे। उनले ३२ बलमा चार चौका प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले पनि १८ बलमा १५ रनको योगदान गरेका थिए। यसअघि नेपालको पनि सुरुवात कमजोर रह्यो । ओपनरद्वय कुशल भुर्तेल डकआउट भए । आसिफ शेख दुई रन बनाएर पेभिलियन फर्किएका थिए । कुशल मल्ल पनि नाै रन बनाएर आउट हुँदा सन्दीप जोरा र रोहितले सम्हालिँदै ठुलो साझेदारी गरे ।
पहिलो इनिङ्समा स्पिनरद्वय ललित राजवंशी र कुशल भुर्तेल चम्किए। कुशल भुर्तेलले चार तथा ललितले तीन विकेट लिएका थिए। त्यसपछि अफगानिस्तानको ब्याटिङ धराशायी भएको थियो। भुर्तेलले चार ओभरमा एक मेडनसहित २१ रन खर्चिए। ललितले चार ओभरमा १३ रन मात्रै दिएका थिए । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने चार ओभर बलिङ गरेर पनि विकेटविहीन भए। यस्तै, रोहितकुमार पौडेल, करण केसी र कुशल मल्ल पनि विकेटविहीन भएका थिए।
अफगानिस्तानका फैसल खान अहमदजाई र नजिबुल्लाह जाद्रनले समान ३० रन बनाएका थिए । नांगेयालिया खानले १७ रन बनाएर अविजित रहे । यसअघि ओपनर हसन इसाखिललाई ललितले डकआउट गराए । ललितले नै अर्का ओपनर मोहमद अक्रमलाई लोकेश बमबाट दुई रन बनाउँदा क्याच गराएका थिए । तेस्रो नम्बरमा आएका करिम जानतलाई पनि नाै रन बनाउँदा ललितले नै आउट गराएपछि अफगानिस्तान दबाबमा आएको थियो ।
छैटौँ बलमै विकेट गुमाएको अफगानिस्तानले ४.१ ओभरमा १६ रन जोड्दा तीन विकेट गुमायो । कप्तान डार्बिस रोसुलीलाई भुर्तेलले डकआउट गराए । अब, नेपालले शनिबार नै आयोजक जापानसँग खेल्नेछ । समूहका दुई टिम क्वार्टरफाइनलमा पुग्नेछन् ।