साेएब अख्तर एनपिएलका लागि नेपाल आउने

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर साेएब अख्तर नेपाल आउने भएका छन्। हिमालय स्पोर्टसले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको विशेष प्रसारणका लागि अख्तरलाई आफ्नो प्रि. तथा पोस्ट म्याच कार्यक्रम ‘रेडबुल क्रिकेट लाइभ इन एसोसिएसन विथ बजाज पल्सर’मा विशेष अतिथिका रूपमा अनुबन्ध गरेको हो।

विश्व क्रिकेटमा ‘रावलपिन्डी एक्सप्रेस’ उपनामले परिचित अख्तर आफ्नो असाधारण गति, आक्रामक बलिङ शैली र प्रभावशाली व्यक्तित्वका कारण विश्वभर लोकप्रिय छन्। सन् २००३ को आएसिसी क्रिकेट विश्वकपमा इंग्ल्यान्डविरुद्ध प्रतिघण्टा १६१.३ किलोमिटरको गतिमा बलिङ गर्दै उनले क्रिकेट इतिहासकै सबैभन्दा तीव्र गतिमा रेकर्ड गरिएको बल फ्याँकेका थिए। उक्त कीर्तिमान आजसम्म पनि कायम छ।

सन् १९९७ देखि २०११ सम्म पाकिस्तानको प्रतिनिधित्व गरेका अख्तरले ४६ टेस्टमा १७८, १६३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २४७ र १५ टी–२० अन्तर्राष्ट्रिय खेलमा १९ विकेट लिएका छन्। सचिन तेन्दुलकर, राहुल द्रबिड र ब्रायन लाराजस्ता विश्वप्रसिद्ध ब्याट्सम्यानविरुद्धको उनको प्रतिस्पर्धा क्रिकेट इतिहासका स्मरणीय क्षणहरूमध्ये पर्दछ।

हिमालय स्पोर्टसको विशेष क्रिकेट प्रसारणमा अख्तरले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट अनुभव, खेलको प्राविधिक विश्लेषण तथा नेपाली क्रिकेटको सम्भावनाबारे विचार प्रस्तुत गर्नेछन्। नेपाल भ्रमणका क्रममा अख्तर क्रिकेटसम्बन्धी विशेष अन्तरक्रिया तथा प्रशंसकहरूसँगको भेटघाट कार्यक्रममा समेत सहभागी हुने बताइएको छ।

हिमालय स्पोर्टसले यसअघि भारतीय खेल प्रसारण क्षेत्रमा अनुभव हासिल गरेका प्रस्तोता नवनीत कृष्ण, आयरल्यान्डका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २०११ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ऐतिहासिक शतक प्रहार गरेका केभिन ओुब्रायन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी तथा फ्रेन्चाइज क्रिकेटमा समेत अनुभव भएका बर्दान चालिसेलाई आफ्नो प्रसारण टोलीमा घोषणा गरिसकेको छ।

एनपिएलको तेस्रो संस्करणको प्रसारण अधिकार हिमालय स्पोर्टसले प्राप्त गरेको छ। प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुनेछ।

सुझावित समाचार