२०औँ एसियाली खेलकुद : कबड्डीमा नेपाललाई लगातार दोस्रोपटक कांस्य

भारतसँग ४८–२४ अंकले पराजित हुँदै महिला कबड्डी टोली कांस्य पदकमै सीमित

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

नेपाली महिला कबड्डी टोलीले एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा लगातार दोस्रोपटक कांस्य पदक जितेको छ । जापानको आइची र नागोया सहरमा चलिरहेको २०औँ एसियाडमा शुक्रबार टोकाइ सिटिजन जिम्न्याजियममा भएको सेमिफाइनल प्रतिस्पर्धामा छिमेकी राष्ट्र भारतसँग पराजित भएपछि नेपालको अगाडि पदक यात्रा टुंगिएको हो । सेमिफाइनलमै सीमित भएका महिला खेलाडीले कांस्य पदक जितेका हुन् ।

फाइनल प्रवेशको खेलमा नेपाली टोली भारतसँग ४८–२४ अंक अन्तरले पराजित भयो । यसअघि हाङझाउ एसियाडमा पनि नेपाल भारतसँगै सेमिफाइनलमा ६१–१७ अंकले हारेको थियो । बिहीबार श्रीलंकालाई हराएर नेपालले अन्तिम चारको यात्रा गर्दै कांस्य जित्ने पक्का गरेको थियो ।

भारतले पहिलो हाफमा नेपालविरुद्ध ३१ अंक बटुलेको थियो । प्रत्युत्तरमा नेपालले १७ अंक हात पार्‍यो । पहिलो हाफको तुलनामा दोस्रोमा नेपाल कमजोर देखिएको थियो । भारतको चर्चित कबड्डी लिगमा आबद्ध खेलाडीको सम्मिलित भारतीय टोलीले दोस्रो हाफमा नेपालविरुद्ध १७ अंक जोडेको थियो । नेपालले आउटबाट १८, बोनसबाट ५ र सुपर ट्याकलबाट १ अंक बटुलेको थियो ।

यसविपरीत भारतले आउटबाट ३५, बोनसबाट ७, अलआउटबाट ६ अंक जोडेको थियो । लगातार दोस्रोपटक सेमिफाइनलमा भारतसँग पराजित हुँदा यसपटक पनि नेपाल फाइनल पुग्न भने सकेन । यद्यपि, पदक भने घर ल्याउने भएको छ । नेपाल समूह ‘बी’को उपाविजेताका रूपमा अन्तिम चारमा पुगेको थियो । समूह चरणमा थाइल्यान्ड र श्रीलंकालाई हराएको नेपाल चाइनिज ताइपेईसँग भने पराजित भएको थियो ।

भारतमै एक महिना प्रशिक्षण
सन् २०२३ मा कांस्य जितेपछि तत्कालीन राखेपका सदस्यसचिव टंकलाल घिसिङले मिसन २६ योजना सार्वजनिक गर्दै महिला कबड्डी टोलीलाई प्रशिक्षणमा राखेको थियो । मिसन २६ मा समावेश खेलमध्ये कबड्डीले एसियाडको अन्तिम तयारी भारतमै गरेको थियो । एक महिना भारतमा प्रशिक्षणमा रहँदा खेलाडीले अनुभवी खेलाडीसँगै प्रशिक्षण गर्ने अवसर पाएका थिए । यसै प्रदर्शनका आधारमा यसपटक नेपालले आफ्नो यात्रा अगाडि बढाउने विश्वास गरिएको थियो ।

तर, भारत नै सेमिफाइनलमा तगारो बनेपछि नेपालको फाइनल पुग्ने सपना पूरा भएन । यसपटक नेपाली टोलीमा ६ नयाँ अनुहार थिए । कप्तान मानमती विष्टसहित जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, गंगा घिमिरे र सिर्जनाकुमारी थारूबाहेक अन्य खेलाडीले पहिलोपटक एसियाली खेलकुदको अनुभव लिएका हुन् ।

कप्तान मानमतीले सामूहिक प्रयासले गर्दा नै पदक सम्भव भएको बताइन् । ‘हामीले पदकका लागि मिहिनेत गरेका थियौँ । पछिल्लो दुई वर्षदेखि हामी प्रशिक्षणमा थियौँ,’ उनले भनेकी छिन्, ‘पदक जित्नुपर्छ भन्ने लक्ष्य थियो । त्यो पूरा भएको छ ।’ मानमतीको नेतृत्वमा नेपाली टोली पछिल्लो समय अन्तर्राष्ट्रिय कबड्डीमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

लगातार म्याच एक्सपोजर
पछिल्लो तीन वर्षमा महिला कबड्डी टोलीले अन्तर्राष्ट्रिय म्याच एक्सपोजर पाएको छ । हाङझाउ एसियाडपछिको तीन वर्षमा टोलीले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन अवसर पाएको छ । चीनको सान्यामा भएको छैटौँ एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले कांस्य पदक जितेको थियो । बिच खेलकुदको सेमिफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । त्यसको बदला लिँदै नेपालले २०औँ एसियाडमा श्रीलंकालाई हराएर कांस्य पक्का गरेको थियो ।

मानमतीको कप्तानीमा नेपालले महिला कबड्डी विश्वकपमा पनि भाग लिएको थियो । नेपालले बंगलादेशसँगको सिरिज र इरानमा भएको एसियाली कबड्डी प्रतियोगितामा पनि सहभागिता जनाएको थियो । यसै म्याच एक्स्पोजरका कारण कबड्डी टोलीले अन्तर्राष्ट्रिय एरिनामा उत्कृष्ट प्रदर्शन गरेको मानिन्छ ।

नेपालसँग १२ वर्षपछि टी–२० आईमा भेट भएको अफगानिस्तान फेरि स्तब्ध

नेपाली पुरुष क्रिकेट टोलीले १२ वर्षपछि टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएको छ । नेपालले शुक्रबार २०औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत क्रिकेट विधामा अफगानिस्तानमाथि पाँच विकेटको सानदार जित निकालेको हो । सन् २०१४ को आइसिसी टी–२० विश्वकपको समूह चरणमा नेपालले आफ्नो पहिलो टी–२० आई खेलमै अफगानिस्तानमाथि नौ रनको रोमाञ्चक जित निकालेको थियो ।

समग्रमा नेपाल र अफगानिस्तानबिच दोस्रोपटक टी–२० आईमा भेट भएको हो । नेपालले दुवै भेटमा अफगानिस्तानलाई निराश बनाएको छ । अफगानिस्तानमाथिको जितले नेपाल समूह ‘ए’बाट समूह विजेताका रूपमा अगाडि बढ्ने मौका पाएको छ । नेपालले अब शुक्रबार आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै सात विकेट गुमाएर एक सय दुई रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १६.१ ओभरमा पाँच विकेट गुमाउँदै सानदार जित निकाल्यो । नेपालसँग हारेको अफगानिस्तानले दुई खेलबाट दुई अंक जोडेको छ ।

नेपालको जितमा स्पिनरले दमदार प्रदर्शन गरेका थिए । ललित राजवंशी र कुशल भुर्तेलले समग्रमा सात विकेट हात पारे । ब्याटिङमा सन्दीप जोरा र पूर्वकप्तान रोहितकुमार पौडेलले सुदृढ ब्याटिङ प्रदर्शन गरेका थिए ।

कप्तान दीपेन्द्रले बलरका कारण खेल सहज भएको बताए । ‘टस हारे पनि हामीले ब्याटिङ नै गर्ने सोचेका थियौँ । विशेषगरी स्पिनरहरू ललित र कुशल भुर्तेलले राम्रो गरे,’ दीपेन्द्रले भने, ‘जापानविरुद्ध पनि हामी आफ्नै खेल खेल्नेछौँ । यसपटक हामी पदकका लागि प्रतिस्पर्धा गर्दै छौँ ।’

अफगानिस्तानमाथिको जितसँगै नेपालले टी–२० आई वरीयतामा समेत दुई स्थान सुधार गरेको छ । अहिले नेपाल १४औँ स्थानमा पुगेको छ ।

सुझावित समाचार