राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विवादित नेपाल क्रिकेट संघ (क्यान)की नवनियुक्त सदस्य गुञ्जन शाह ठकुरीसँगै विभिन्न राष्ट्रिय खेल संघका पाँच प्रतिनिधिलाई परिषद्को सदस्य पदबाट फिर्ता बोलाएको छ । बिहीबार राखेपले सबै संघलाई छुट्टाछुट्टै पत्र पठाउँदै परिषद्को पदबाट फिर्ता बोलाएको हो ।
२५ असारमा निर्णय नै गरेर पाँचजनालाई फिर्ता बोलाएको सदस्यसचिव रामचरित्र मेहताले नयाँ पत्रिकालाई जानकारी गराए । उनका अनुसार क्यानकी शाहसँगै नेपाल सुटिङ संघका मनोनीत कृष्णहरि सैजू, नेपाल पौडी संघका विनोद श्रेष्ठ, नेपाल ब्याडमिन्टनका सदस्य शम्भु कार्की तथा नेपाल साइक्लिङ महासंघका गणेशप्रसाद मैनालीलाई फिर्ता बोलाइएको हो ।
राखेपका सदस्यसचिव मेहताले आवश्यकताअनुसार पाँचौजनालाई फिर्ता बोलाएको जानकारी गराए । ‘हामीले शाहलाई मात्रै होइन, आवश्यकताअनुसार पाँचै संघको पदाधिकारीलाई फिर्ता बोलाएका छौँ,’ उनले भने ।
किन भयो विवाद
राखेपले १ असोजमा रिक्त रहेको क्यान सदस्यमा शाहलाई मनोनीत गरेको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा दुई पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राखेपले शाहलाई सदस्य मनोनीत गरेको थियो । तर, नौ दिनमै उनलाई फिर्ता बोलाएको हो ।
उनलाई नियुक्त दिएपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भएको थियो । सरकारले क्रिकेटको जानकारलाई बाहिर राखेर असम्बन्धित व्यक्तिलाई क्यानमा नियुक्ति दिएको भन्दै चर्काे आलोचना भएको थियो । शाह सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नजिक थिइन् । उनले आफू क्रिकेट खेलाडी रहेको बताए पनि राजनीतिक नियुक्ति लिएको भन्दै चर्काे आलोचना भएको हो । त्यसपछि राखेपले शाहलाई मात्रै नभएर पाँचैजनालाई फिर्ता बोलाएको हो ।
यसअघि राखेपले माओवादीनिकट रहेर नियुक्ति लिएका छुम्बी लामालाई फिर्ता बोलाएको थियो । छुम्बी क्यानको प्रवक्तासमेत थिए । सोही कारण पनि शाहको नियुक्तिलाई लिएर चर्काे आलोचना भएको हो ।