अझै देउवा मन पराइन्छ भने...

बहालवाला प्रधानमन्त्री मात्र होइन, नेता मात्र पनि होइन, समाजमा नेतृत्वदायी भूमिकामा रहेका धेरैजसोलाई जियाकै जस्तो बफादारी चाहिएको छ, न कि रहिमजस्तो प्रधानमन्त्री भुट्टोको बेसोमती हर्कतको आलोचक

सोमबार, १४ भदौ, २०७८
डिजिटल संस्करण

गाईजात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइँदै आएको थियो, यसपालि पनि दिइयो । पूर्णता पाउन नसकी कुल ६ सदस्यमा सीमित शेरबहादुर देउवा नेतृत्वको सरकारले गाईजात्राको बिदामा केही नौलो आइडिया फुरायो– उपत्यकामा सीमित सार्वजनिक बिदालाई मुलुकभरिका नेवार समुदायलाई छुट्टी गराएर तन्काइदिने । सयदिने मधुमासे सुविधासमेत नपाई सर्वत्र कटाक्ष खेपिरहेको सरकारले गाईजात्रालाई अवसर पारी नौलोपनको अभ्यास जो गर्न खोजेको हो । जबकि, हरदिन गाईजात्रै त छ । ‘यसैले त मलाई शेरबहादुर देउवा मन पर्छ, किनभने...’ वाला जात्राले जाँगैमा कैंडा लागेपछि त्यसमा लगाउने मलमको खोजी हुँदा गाईजात्रा पर्व सामुन्ने पर्न गएको मात्र हो । 

प्रधानमन्त्रीको पाँचौँ इनिङ सुरु गरेको पाँचै हप्तापछि देउवाले ‘उल्लेख्य कार्यसम्पादन’ फत्ते गरेको खबर आयो, भानु देउवा प्रमुख स्वकीय सचिव नियुक्त । बडो ‘स्कुप’ माल थियो, बाफ रे बाफ ! प्रिय भतिज भानु सर्वश्री बडे पिताजीको प्रमुख स्वकीय सचिव नियुक्त भएको घटना हप्तादिनसम्म गुफावासमा बसेको रहेछ । संविधानको अन्तिम दमलाई सर्वोच्च न्यायालयले उत्पातकै शक्ति लगाएर खिचेपछि प्रधानमन्त्री बनेका देउवालाई साख्य भतिजलाई त्यो पद दिन पनि ऐठन प¥यो वा पारियो रे । अरे बाबा, भानु सधैँ त्यसै स्वकीय सचिव थिए नै । यसै पाला आएर नियुक्तिको मैजारो किन गर्नुप¥या ? म्याडम डा. आरजुको स्वकीय सचिवमा दर्ज अर्का भतिज प्रकाशको दाबीले चुनौती भएको सुनियो । के देउवा राजा राजेन्द्रविक्रमको हबिगतमा पुगेका हुन् त ? नायवी शासनकी प्रतिमूर्ति म्याडमले प्रिय प्रकाशलाई अगाडि बढाउन हठ गरेकी नै हुन् त ? 

अदालतले डेढ वर्ष गरिखाऊ भनेर प्रधानमन्त्री बनाइदिइसकेपछि देउवालाई जुनसुकै नाममा नियुक्ति बाँड्नु के नै आइतबार हो र ? प्रधानमन्त्रीसँगको यो अधिकारबाट पार्टी वा संसदीय चुनावमा पराजित निकटस्थदेखि पढालिखा आफन्तजन अनेकन्लाई जागिर दिएर पार्टीदेखि परिवारसम्मै व्यवस्थापन हुन सक्छ । यसपालि प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारको जागिर पाउने सम्भावितको सूचीमा डा. प्रकाशशरण महत, रमेश लेखक आदिको नाम चर्चामा छ । चर्चामै रहेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चाहिँ सामाजिक सञ्जालमार्फत आफ्नो अनिच्छा जाहेर गरिसकेका छन् ।

कथंकदाचित भदौमै कांग्रेस महाधिवेशन भइहाले मन्त्रिमण्डल वा प्रधानमन्त्री सचिवालयमा नियुक्तिका आकांक्षी जागिर नपाएको झोँकमा विरोधी बन्लान् भनेरै प्रधानमन्त्रीले मन्त्रिमण्डल त विस्तार गरेनन् नै, सचिवालय गठनमा पनि विलम्ब गरिरहेका छन् । नत्र, माधव नेपालको समूहलाई सरकारमा समेट्न पो पार्टी विभाजनको प्रक्रिया पूरा गरीओरी गर्नुपथ्र्यो, कांग्रेस र माओवादी केन्द्रका मन्त्री नियुक्त गर्न केही गाँठो फुकाउन पर्ने थिएन । मन्त्रिमण्डलले पूर्णता पाउँदैमा कामको गंगा बगिहाल्ने अनि मन्त्री नहुँदैमा दह जमिहाल्ने पनि त होइन । बरु मन्त्री नथपिएकै कारण सरकारी सम्पत्ति जोगिएको, घुस खाने मुख घटेको सकारात्मक सोच उत्पन्न गराउन पनि सकिन्छ । सचिवालयमा दुई दर्जनजति नियुक्ति दिन सकिन्छ, सचिवालय गठन नगरी राज्यकोषमा भार नपारेको सकारात्मक सोच फलाउन सकिन्छ । देउवालाई यस अर्थमा पनि मन पराउन सकिन्छ । 

सचिवालयमा नियुक्ति बक्स नभए पनि काम चलेकै छ । गोविन्द परियारले मिडियाको काम हेरिरहेकै छन्, दिनेश भट्टराई र ज्ञानचन्द्र आचार्यले परराष्ट्र मामिलामा सघाउन थालिसकेकै छन् । स्वयंसेवी भएर काम गर्न इच्छुकको कमी हुने पनि होइन । फेरि विज्ञ, सल्लाहकार आदि नियुक्ति दिए पनि आखिर आफ्नालाई जागिर बक्सिस दिने न हो । तिनले दिएका सल्लाह कार्यान्वयन गरिरहनुपर्ने होइन । प्रधानमन्त्रीलाई सल्लाह नै नचाहिने रहेछ भनेर कृष्ण खनालले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकारको पद परित्याग गरेको पनि दुई दशक नाघिसक्यो । खनाल सरले त प्रधानमन्त्रीको दैनिक प्रशासन चलाउने र नियुक्ति, सरुवा, ठूला सार्वजनिक खरिद, ठेक्कापट्टामा बाहेक अरू काममा अभिरुचि नै नहुने र यस्ता कामका लागि विज्ञ, सल्लाहकार आदिको दरकारै नपर्ने बताएका थिए । 

अदालतले डेढ वर्ष गरिखाऊ भनेर प्रधानमन्त्री बनाइदिइसकेपछि देउवालाई जुनसुकै नाममा नियुक्ति बाँड्नु के नै आइतबार हो र ? प्रधानमन्त्रीसँगको यो अधिकारबाट पार्टी वा संसदीय चुनावमा पराजित निकटस्थदेखि पढालिखा आफन्तजन अनेकन्लाई जागिर दिएर पार्टीदेखि परिवारसम्मै व्यवस्थापन हुन सक्छ । 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका एकजना सल्लाहकारले ‘प्रधानमन्त्रीले दिएको जागिर खाने हो, जान्ने हुने कामै छैन’ भनेको सुनेका त्यसै बखत प्रेस सल्लाहकार रहेका प्रतीक प्रधानले बिर्सेका छैनन् । जे–जस्ता काममा हाम्रा प्रधानमन्त्रीहरू अहोरात्र व्यस्त रहन्छन्, त्यसका लागि त अहिलेका प्रधानमन्त्रीलाई उहाँकी म्याडम डा. आरजु नै काफी हुनुहुन्छ । सरकारी पगरी जे–जे गुथे पनि निकटस्थको काम नै प्रधानमन्त्री र परिवारले आफ्नो बफादार ठानिरहेकाले सामाजिक सञ्जालमा गरेको आलोचनाको स्क्रिनसट देखाइदिने, भट्टीमा गरेका टीकाटिप्पणी सुनाइदिएर आपूmचाहिँ खास बफादार हुँ भनेर साखुल्ले पल्टिने र ‘माल काट्ने’ काम भएपछि सचिवालयमा भर्ती नगरे पनि के नै फरक पर्‍यो र ! 

एकचोटि पाकिस्तानका तत्कालीन सेना प्रमुख जनरल जियाउल हक कार्यकक्षमै चुरोट तान्दै गर्दा प्रधानमन्त्री जुल्फिकर अली भुट्टो एक्कासि प्रवेश गरेछन् । प्रधानमन्त्रीप्रति बफादारी प्रदर्शन गर्न हरसम्भव प्रयत्न गरिरहेका जियाले चुरोट ननिभाई खल्तीमा लुकाएछन् । चुरोटको आगोले कपडा जलेर कोठाभरि गन्ध फैलिँदा पनि उनले भुट्टो नबाहिरिँदासम्म चुरोट खल्तीबाट निकालेनछन् ।

भुट्टो यही किस्सा सुनाएर जियाउल हकजस्तो बफादार सेना प्रमुखबाट धोका हुँदैन भन्थे रे । आफैँले आयोजना गरेको भोजमा निर्धारित समयभन्दा चार घन्टा ढिलोसम्म भुट्टो नआएपछि राष्ट्रपति मामिलाका मन्त्री जलालुद्दिन अब्दुल रहिम ‘तिमी चम्चाहरू महाराजलाई कुरेर बस, म हिँडेँ’ भनेर घर लागेछन् । एकजना चम्चाले रहिमको सो ‘जुर्रत’ सुनाइदिएपछि तत्कालै प्रधानमन्त्रीका सुरक्षा प्रमुखसहितको टोलीले रहिमलाई घरमै पुगेर यति पिटेछन् कि उनी बेहोस भए । बचाउन खोज्ने उनका छोरामाथि पनि निर्घात कुटपिट भयो । बहालवाला प्रधानमन्त्री मात्र होइन, नेता मात्र पनि होइन, समाजमा नेतृत्वदायी भूमिकामा रहेका धेरैजसोलाई जियाकै जस्तो बफादारी चाहिएको छ, न कि रहिमजस्तो प्रधानमन्त्री भुट्टोको बेसोमती हर्कतको आलोचक । भलै, तिनै जियाउल हकले भुट्टोलाई फाँसीको तख्तामा झुन्ड्याइदिए ।

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई भारतमै र नेपालमा समेत उच्च जातीय सम्भ्रान्तहरूले खलनायिकीकरण गर्ने गर्छन् । गँवार भन्न रुचाउँछन् । यादवसँग कहिले दोस्ती त कहिले दुस्मनी गरेका नेता शिवानन्द तिवारीले भनेका छन्, ‘चारा घोटाला चर्काएर लालुलाई जेल पठाउन र मुख्यमन्त्रीबाट राजीनामा गर्न बाध्य पा¥यौँ । तारेखमा घर आएको भोलिपल्ट एकाबिहानै फोन आयो, बाबा प्रणाम भन्दै, फोनमा उनै लालु थिए । म लाजले भुतुुक्क भएँ ।’ हामीले लालुलाई नकारात्मक राजनीतिको बिम्ब बनाए पनि उनीजत्तिको राजनीतिक संस्कार हाम्रा नेताहरूमा फेला पार्न मुस्किल छ ।

डा. स्वर्णिम वाग्लेका लागि बालुवाटारको ढोका खुल्नेवाला छैन भनेर म्याडम देउवाले भन्दिसक्नुभएको छ । कारण, योजना आयोगको उपाध्यक्षको पद बक्सिस दिँदा पनि शेखर कोइरालानजिक भई देउवा परिवारसँग ‘बेवफाई’ गरेको । तिवारीले नै भनेका छन्, ‘एकचोटि कार्यक्रमका लागि मुख्यमन्त्री लालु यादवसहित मुसहर बस्तीमा पुगियो, निर्धारित समयअगावै । बच्चा बोकेकी एकजना मुसहर महिला लालुको नजरमा पर्न प्रयासरत थिइन्, नभन्दै लालुले देखिहाले । ए सुखमनिया, के छ हालचाल भनेर कुरा सुरु गरे, ती महिलाका बहिनीको समेत नामै लिएर हालखबर सोधे । बालबच्चालाई चकलेट किन्दिनु भनेर पाँच सय रुपैयाँ हातमा राख्दिए ।’ लालु यादवजत्तिकै शीर्ष पदमा पुग्दा पनि समाजको पिँधमा रहेका पुरानो चिनजानका मान्छेसित यसरी जोडिने नेता यहाँ पाइएन । 

सन १९९१ मा राजिव गान्धीको हत्यापछि इन्दिरा गान्धी प्रधानमन्त्री रहँदा निजी सचिव रहेका परमेश्वरनारायण हक्सरको सल्लाहमा सोनिया गान्धीले तत्कालीन उपराष्ट्रपति शंकरदयाल शर्मालाई प्रधानमन्त्री बन्न प्रस्ताव पठाइन् । प्रस्ताव लिएर पुगेका नटवर सिंह र अरुणा आसफ अलीलाई ७३ वर्षीय शर्माले ‘प्रधानमन्त्रीले दिनको १८–२० घन्टा त काम गर्नुपर्छ, उमेरका कारण मबाट यस्तो सक्रियता सम्भव छैन’ भन्दै भद्र इन्कारी गरिदिए । शर्माको अनिच्छापछि हक्सरको दोस्रो रोजाइका पिभी नरसिंह राव प्रधानमन्त्री भए । हाम्रा प्रधानमन्त्रीले ७६ वर्षको उमेरमा पाँचौँचोटि प्रधानमन्त्रीको शपथ लिएका मात्र छैनन्, कांग्रेसको आगामी महाधिवेशनबाट उनी नै पार्टी सभापति निर्वाचित हुने ‘गम्भीर खतरा’ पनि छ ।

आखिर हामीले आदर्श ठान्ने गरेको अमेरिकामा ८० वर्षका जो बाइडेन राष्ट्रपति छन् । मूलधारका मिडियाका साथै सोसल मिडियामा दल विभाजनसम्बन्धी अध्यादेशको चर्को आलोचना भए पनि कांग्रेस पार्टीभित्र यसले देउवालाई बलियो नै बनाएको हुनुपर्छ, न कि कमजोर । आखिर भोलि चुनावमा देशैभरि प्रतिस्पर्धा गर्नुपर्ने एमाले अनि मधेसमा बलियो चुनौती पेस गर्ने जसपालाई टुक्र्याएर उनले कांग्रेसलाई सबैभन्दा बलवान् बनाउन निर्णायक काम गरे । त्याग, इमानदारी र ‘डेलिभरेन्स’सँग देउवा कति लालायित छन्, कि दैव जानुन् कि उनै । तर, जसै गरे पनि देउवा मन पराउनेहरूलाई यो काफी खुराक हो, अझ मन पराउने । हो, देउवा मन पर्न पाइन्छ । जो नि मन पर्न पाइन्छ । यसमा ‘किनभने’को टाउको दुखाइ जरुरी छैन । अस्ति–अस्तिको भिडियो शृंखला ‘मलाई शेरबहादुर देउवा मन पर्छ, किनभने...’ खासमा बेकाम थियो, बन्द गरेर राम्रो गरियो । यो ५२ वटा संस्थाको प्रमुख बनिरहने वाहियात काम मात्र बन्द गर्दिए हुने, तर यस्ता बकवासहरू हम्मेसी बन्द नहुँदा रहेछन् । 

See More On

सुझावित समाचार