- इजरायली सेनाको हमलामा गाजामा तीन वर्षमा ७४ हजारभन्दा बढी मानिसको हत्या भइसकेको छ, जसमध्ये अधिकांश सर्वसाधारण छन्
इजरायलमाथि हमासले अक्टोबर ७, २०२३ मा गरेको आक्रमणको तीन वर्ष बितिसक्दा पनि गाजाका जनता अझै भयावह र कष्टकर जीवन बिताउन बाध्य छन् । प्रायः गाजावासी शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र आवासजस्ता आधारभूत अधिकारबाट वञ्चित छन् । इजरायलले कब्जा गरिएको यस क्षेत्रमा आफ्नो घेराबन्दी अझ कडा पारेको छ भने तथाकथित युद्धविरामले पनि रक्तपात रोक्न सकेको छैन । युद्धविरामका लागि भएका पटक–पटकका प्रयासले साकार रूप लिन सकेको छैन । यसका साथै, गाजा रक्तपातको असर मध्यपूर्वभरि नै महसुस भइरहेको छ । इजरायलले यस क्षेत्रका विभिन्न मुलुकविरुद्ध आक्रामक कारबाही गरिरहेको छ र अमेरिका पनि तीमध्ये केही अनुचित कदममा सामेल भएको छ । गाजामाथि इजरायल निर्मम ढंगले प्रस्तुत भइरहेको छ । युद्ध रोकिने छनक अझै देखिँदैन ।
त्यसो त तीन वर्षअघिको हमासको भीषण आक्रमणअघि नै गाजाका जनता चरम कष्टमा बाँचिरहेका थिए । प्यालेस्टिनी प्रतिरोध समूहको उक्त कदम (जुन वास्तवमा इजरायली घेराबन्दी तोड्ने प्रयास थियो) ले तेल अभिभलाई कब्जा गरिएको क्षेत्रमा अझ बढी क्रूरताका साथ आक्रमण गर्ने बहाना मात्र प्रदान गर्यो । इजरायली सेनाले अहिले गाजालाई रणभूमि बनाइरहेको छ र दिगो युद्धमा रूपान्तरण गर्ने प्रयासमा छ । ७ अक्टोबर २०२३ को हमास हमलामा झन्डै एक हजार २०० मानिस (जसमा अधिकांश इजरायली सर्वसाधारण थिए) मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसपछि गाजामा इजरायली रक्षा बल (आइडिएफ)ले दुई विनाशकारी युद्ध गर्यो । युद्धलाई संयुक्त राष्ट्र संघको छानबिन आयोग, नरसंहारसम्बन्धी प्रमुख विज्ञहरू र मुख्य मानव अधिकारवादी संस्थाहरूले ‘नरसंहार’को संज्ञा दिएका छन् । इजरायली सेनाको हमलामा गाजामा ७४ हजारभन्दा बढी मानिसको हत्या भइसकेको छ, जसमध्ये अधिकांश सर्वसाधारण छन् ।
यो तीन वर्षको अवधिमा हजारौँ मानिस घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस आफ्नो थातथलोबाट आन्तरिक रूपमा विस्थापित भएका छन् । थप हजारौँ मानिस अन्य देशमा पलायन भएका छन् । अक्टोबर २०२५ देखि लागू भएको भनिएको कथित युद्धविरामले पनि हिंसा रोक्न सकेको छैन । उक्त ‘युद्धविराम’को अवधिमा पनि एक हजार ४०० भन्दा बढी मानिस मारिएका छन् । यस क्रममा पूरै परिवार सखाप भएका छन् । विज्ञहरूका अनुसार गाजाका जनताले यी घाउको पीडा पुस्ताौँसम्म भोग्नुपर्नेछ ।
वास्तवमा इजरायलले गाजामा चरम क्रूरता देखाएको छ । सहायता संस्था ‘डाक्टर्स विदाउट बोर्डर्स’ले इजरायलले ‘गाजाको घाँटी निमोठिरहेको र आफ्नो नरसंहार जारी राखेको’ आरोप लगाएको छ । एकातिर यस्तो भयावह अवस्था छ भने अर्कोतिर तथाकथित शान्ति प्रक्रिया अवरुद्ध भएको छ । अहिले गाजामा इजरायली सेनाले एकतर्फी रूपमा प्रभुत्व जमाएको छ, किनभने हमास आफ्ना हतियार बुझाउन सहमत भए पनि इजरायलले आफ्नो कब्जा अन्त्य गर्न अस्वीकार गरिरहेको छ । बरु बस्तीमाथिको कब्जालाई तीव्रता दिँदै त्यहाँका मानिसलाई खेदिरहेको छ ।
संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार यस वर्षको जुन महिनासम्ममा प्यालेस्टिनी बस्तीमाथि दैनिक औसत छवटा आक्रमण भएका थिए । हमास समूह र उसका समर्थकलाई निमिट्यान्न गर्ने बहानामा इजरायली सेनाले अन्य देशका भूभागमा पनि हमला गरिरहेको छ । कब्जा गरिएको प्यालेस्टिनी भूभागभन्दा बाहिर पनि इजरायलले लेबनान र सिरियाको थप भूभाग कब्जा गरेको छ भने इरान र यमनमाथि पनि आक्रमण गरिरहेको छ । यसैबिच, वेस्ट बैंकमा कट्टरपन्थी यहुदी बसोवासकर्ताहरूले प्यालेस्टिनीमाथि आतंक मच्चाइरहेका छन् ।
अक्टोबर ७ को घटनाले हामीलाई यो सिकाउँछ कि जब कुनै जनसमुदायलाई आधारभूत मानव अधिकारबाट वञ्चित गरिन्छ, उनीहरूको पुर्ख्यौली भूमि खोसिन्छ र उनीहरूले दैनिक रूपमा अमानवीय हिंसाको सामना गर्नुपर्छ, तब उनीहरू जुनसुकै आवश्यक उपाय अपनाएर प्रतिवाद गर्छन् । इजरायलले आफ्नो कब्जामा रहेका प्यालेस्टाइनीप्रति गरेको व्यवहार आपराधिक थियो ।
अक्टोबर ७ को आक्रमणपछिको उसको प्रतिक्रिया भने नरसंहारकारी रहेको छ । प्यालेस्टाइनका कब्जा गरिएका सम्पूर्ण भूभाग मुक्त नभएसम्म र निर्दोषहरूको हत्याका लागि इजरायललाई जवाफदेही नबनाएसम्म मध्यपूर्वमा शान्ति स्थापनाको कुनै अर्थ रहनेछैन । यहुदी अडानका कारण ‘दुई–राज्य समाधान’को अवधारणा अप्राप्य सपना बनेको छ, जबकि ‘शान्ति मण्डल’द्वारा प्रचारित अन्य काल्पनिक ‘समाधान’ प्यालेस्टाइनी जनताका लागि एउटा क्रूर मजाक मात्र हुन् । प्यालेस्टाइनले न्याय नपाएसम्म शान्ति कायम हुनेछैन ।
(पाकिस्तानी समाचार संस्था डनको बुधबारको सम्पादकीय)