- पहिलो चरणमा बोल्सोनारोको जितपछि ब्राजिलसामु लोकतन्त्रको रक्षा गर्न देशका संस्थाहरू सुदृढ गर्नुपर्ने चुनौती
ब्राजिलमा आइतबार सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा उग्र–दक्षिणपन्थी ‘लिबरल पार्टी’(एलटी)ले सानदार जित हासिल गर्यो । जेलमा रहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले कुल सदर मतको ४७ प्रतिशतभन्दा बढी मत प्राप्त गरे । योसँगै उनले वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पछि पारे । त्यस्तै बोल्सोनारोको लिबरल पार्टीले ब्राजिलको कंग्रेस (संसद्)को तल्लो सदन ‘च्याम्बर अफ डेपुटिज’ र माथिल्लो सदन ‘सिनेट’ दुवैमा सबैभन्दा ठुलो राजनीतिक समूह बनेको छ । त्यस्तै, पाँचवटा राज्यमा उसले सरकार बनाउन सक्ने मत हासिल गर्यो ।
उसो त राजनीतिशास्त्रीले यस्तो परिदृश्यको अनुमान पहिल्यै गरिसकेका थिए । जनमत सर्वेक्षणले लुलाको ‘वर्कर्स पार्टी’(पिटी)को पक्षमा राम्रो नतिजा आउन सक्ने देखाए पनि चुनावी अभियानको अन्तिम दिनमा मतमा परिवर्तन देखिएको थियो, यसको मुख्य कारण ‘पिटीविरोधी’ भावना र उपभोक्ताका अपेक्षा पूरा नहुँदा उत्पन्न असन्तुष्टि थियो । यो परिवर्तनका लागि पछिल्लो समय बढेको मुद्रास्फीति र बेरोजगारी दरले पनि भूमिका खेल्यो । यद्यपि, राष्ट्रपतिको जितहारको वास्तविक निर्णय भने अक्टोबर २५ को दोस्रो चरणको निर्वाचनबाट तय हुनेछ ।
हालसम्म, निर्वाचन प्रक्रिया कुनै गम्भीर घटनाविना नै अघि बढेको छ । उसो त केवल निर्वाचनले मात्र लोकतन्त्रको निर्माण गर्दैन । तर, राजनीतिशास्त्रका दुई प्रमुख व्यक्तित्व, जोसेफ सुम्पेटर र एडम प्रजेवोर्स्कीको भनाइलाई उद्धृत गर्ने हो भने स्वतन्त्र निर्वाचन लोकतन्त्रको अस्तित्वका लागि आवश्यक सर्तमध्ये एक हो, निर्वाचनमा नेता आवधिक रूपमा मतका लागि प्रतिस्पर्धा गर्छन् र पराजित उम्मेदवारले आफ्नो हार स्वीकार गर्छन् । विशेषगरी, यो एक ‘उपकरणात्मक’ दृष्टिकोण हो । लोकतन्त्रले निर्वाचनभन्दा बढी कुराको प्रत्याभूत गर्नुपर्छ भन्ने विचार राख्नेहरूले यस विचारको कडा विरोध गर्छन् । तथापि, यसपटक ब्राजिलमा मतदानको पहिलो चरणमा देखिएको दृश्य केही हिसाबले महŒवपूर्ण छ । कसैले पनि हतियार नउठाई वा सैन्य ब्यारेकमा धर्ना नदिई मतपेटिकामार्फत सरकार छनोट गर्न सक्नु र नतिजाको सम्मान गर्नु कुनै सामान्य कुरा होइन ।
सन् १९८९ मा लामो सैन्य तानाशाहीको अन्त्य भएपछि ब्राजिलमा पहिलोपटक प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन भएको थियो । त्यसयता ‘वर्कर्स पार्टी’ प्रमुख राजनीतिक प्रतिस्पर्धीमध्ये एक रहँदै आएको छ र यसले आफूलाई देशका शीर्ष दुई पार्टीमध्ये एकका रूपमा स्थापित गर्न सफल भएको छ ।
ख्याल गर्नुपर्ने कुरा, सन् १९८९ यता भएका दशवटा राष्ट्रपति निर्वाचनमध्ये सातवटामा वर्कर्स पार्टीका राष्ट्रपतीय उम्मेदवार लुला थिए । उनले तीमध्ये तीनवटा निर्वाचन जिते । अहिले उनी पुनः एकपटक निर्णायक चरणको निर्वाचनमा उम्मेद्वार बनेका छन् । पछिल्ला तीन निर्वाचनहरू (सन् २०१८, २०२२ र २०२६) मा वर्कर्स पार्टीको मुख्य प्रतिस्पर्धी उग्र–दक्षिणपन्थी समूह रह्यो । पहिलो दुई निर्वाचनमा यसको प्रतिनिधित्व जायर बोल्सोनारोले गरेका थिए । अहिले जायर नजरबन्दमा रहेकाले उनका छोरा फ्लाभियो प्रतिस्पर्धी छन् ।
सन् २०१८ को निर्वाचनमा जायर बोल्सोनारो विजयी भए । दक्षिणपन्थी शक्तिहरू उनीवरिपरि संगठित भए । उनीहरूको राजनीति मुख्यतया रुढिवादी नैतिक एजेन्डामा केन्द्रित थियो । तिनमा देशको बहुसंख्यक धार्मिक समूह क्रिस्चियनको मूल्य–मान्यताको रक्षा, विगतको सैन्य तानाशाहीको समर्थन र यौन तथा प्रजनन अधिकारको विरोधजस्ता मुद्दा समावेश थिए । त्यसबाहेक उनले परम्परागत लैंगिक (महिला पुरुषको सहायक हुनुपर्ने) भूमिकालाई सुदृढ पार्ने कुरामा पनि जोड दिए ।
सन् २०२२ को चुनावमा भने कुनै वेला भ्रष्टाचार काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका लुला चुनावी मैदानमा उत्रिए । यसपटक पुनः निर्वाचनको प्रयास गरिरहेका जायर बोल्सोनारोलाई पराजित गर्दै विजयी भए । लोकतन्त्रका आधारभूत सिद्धान्तको समेत ठाडो उल्लंघन गर्दै निर्वाचनको भोलिपल्टै बोल्सोनारोका उग्र–दक्षिणपन्थी समर्थकले सडक र सैन्य ब्यारेक कब्जा गरे । जुन उनीहरूले हार स्वीकार गर्न अस्वीकार गरेको स्पष्ट संकेत थियो ।
सुरुमा संयमित देखिए पनि उनीहरू सन् २०२३ को जनवरी ८ मा आयोजित एक योजनाबद्ध घटनामार्फत पुनः सक्रिय भए । त्यस दिन बोल्सोनारो समर्थकको संगठित समूहले देशको संघीय सरकारका तीनवटै अंगका मुख्यालयमाथि आक्रमण गरे । ती निकायमा तोडफोड गरे । यो घटना सन् २०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटल (संसद् भवन रहेको क्षेत्र)मा भएको आक्रमणसँग मिल्दोजुल्दो थियो । नेसनल कंग्रेस (संसद् भवन), ‘प्लानल्टो प्यालेस’ (राष्ट्रपति कार्यालय) र संघीय सर्वोच्च अदालतमा गरिएको तोडफोडको घटनामा संलग्न भएको आरोपमा पछि बोल्सोनारोका सयौँ समर्थक दोषी ठहरिए । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै, संघीय सर्वोच्च अदालतले जायर बोल्सोनारोलाई सत्तापलटको प्रयासमा संलग्न आपराधिक संगठनको नेतृत्वकर्ताको रूपमा जेल सजाय सुनायो । जायरसँगै उच्च पदस्थ सैन्य अधिकारी र एक संघीय सांसदलाई पनि सजाय भयो ।
अस्थिर जनमत सर्वेक्षण
अहिलेको निर्वाचन तेस्रोपटक हुनेछ, जसमा राष्ट्रपति पदका लागि वर्कर्स पार्टी र बोल्सोनारोका समर्थकबिच कडा प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धा अक्टोबर २५ अर्थात् दोस्रो चरणको मतदानका लागि धकेलिसकेको छ । यस वर्षको सम्पूर्ण चुनावी अभियानका क्रममा जनमत सर्वेक्षणका नतिजा कुनै पनि समय एक हप्ताभन्दा बढी समयसम्म पनि स्थिर रहेका थिएनन् । यसको कारणबारे राजनीति विज्ञानका अध्ययनले केही संकेत प्रदान गर्छन् । ब्राजिलमा वर्कर्स पार्टीप्रति प्रतिबद्ध एउटा मताधार छ, जसले उसको करिब ३० प्रतिशत मत सुनिश्चित गर्छ । उता वर्कर्स पार्टीविरोधी खेमाले पनि लगभग त्यति नै (३० प्रतिशत जति) मत ओगट्छ । हरेक वामपन्थी मतदाता वर्कर्स पार्टी समर्थक हुँदैनन् र उसका हरेक विरोधी मतदाता बोल्सोनारोका समर्थक हुँदैनन्, तर यी समूहबिच प्रायः आंशिक समानता वा एक–अर्कामा मिसिने प्रवृत्ति देखिन्छ ।
पछिल्ला अध्ययनले रुढिवादी मतदातामा बोल्सोनारोका सबै अडानप्रति समर्थनभन्दा पनि ‘दक्षिणपन्थी’ विचारधारासँगको तादात्म्य वा पहिचान स्थापित भएको छ । साथै, केही प्रमाणले महिलामा लुलाप्रति बलियो झुकाव रहेको देखाउँछन् । कट्टरपन्थी प्रोटेस्टेन्ट समुदायमा बोल्सोनारो (चाहे बाबु हुन् वा छोरा) प्रति थप बढी झुकाव देखिन्छ ।
जित वा हार दुवैमा लोकतन्त्रको रक्षा
पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि ब्राजिलसामु अब लोकतन्त्रको रक्षाका लागि निष्पक्ष निर्वाचन सुनिश्चित गर्नुभन्दा पनि बढी देशका संस्थाहरूको सुदृढता सुनिश्चित गर्नुपर्ने चुनौती आइपरेको छ ।
सबैमा समान रूपमा लागू हुने नियमहरू सुनिश्चित गर्नु तथा सरकारका तीन अंगहरूको स्वतन्त्रता (त्यो न्यूनतमस्तरको नै किन नहोस्) र आवधिक निर्वाचनको सुनिश्चितता गर्नु सबैको जिम्मेवारी हो । ल्याटिन अमेरिकाको पछिल्लो अवस्थामाथि ध्यान दिँदै र संयुक्त राज्य अमेरिकाको स्थितिमाथि समेत गहिरो चिन्ता व्यक्त गर्दै लोकतन्त्रको ‘न्यूनतमवादी अवधारणा’का लागि परिचित राजनीतिक वैज्ञानिक प्रजेवोर्स्कीले गत मे महिनामा पेरिसमा आयोजित एक सम्मेलनमा दुईवटा बुँदातर्फ ध्यानाकर्षण गराएका थिए ।
प्रजेवोर्स्कीका अनुसार हामीले आफूले मन नपराएको उम्मेदवार निर्वाचित हुँदा लोकतन्त्रको अस्तित्व समाप्त हुन्छ भनेर सोच्नु पनि घातक हुन्छ । बरु, यस्ता सोच आउनु नै प्रणाली सही ढंगले काम गरिरहेको छ भन्ने देखाउँछ । अर्कोतर्फ, अमेरिकामा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा लोकतन्त्रको क्षयीकरणले निष्पक्ष र आवधिक निर्वाचन ( जसमा हारलाई पनि स्वीकार गरिन्छ) माथि नै खतरा उत्पन्न भएको उनले बताए । यो ब्राजिलका लागि पनि एक चेतावनी हो ।
कठोर प्रतिस्पर्धाका कारण अक्टोबर २५ नभएसम्म ब्राजिलको दोस्रो चरणको निर्वाचनबाट को राष्ट्रपति बन्नेछन् भन्ने थाहा पाउन कठिन छ । तर, जसले जिते पनि नियम एउटै रहन्छ, निर्वाचन निष्पक्ष हुनुपर्छ र पराजित पक्षले नतिजा स्वीकार गर्नुपर्छ । यस सन्दर्भमा दुवै पक्षको विगतको व्यवहार समान छैन । लुलाले लगातार तीनवटा राष्ट्रपतीय निर्वाचनमा हार व्यहोरे । तर, उनी नेतृत्वको ‘वर्कर्स पार्टी’का सदस्यले कहिल्यै पनि कंग्रेसमा तोडफोड गर्न राजधानी ब्रासिलिया गएनन् । उता उग्र दक्षिणपन्थी समूहका हकमा भने यस्तो भन्न सकिँदैन । अघिल्लोपटक उनीहरू पराजित हुँदा ८ जनवरी २०२३ को दंगा भड्किएको थियो, जसमा लोकतन्त्रको सामान्य मान्यताको समेत सम्मान गरिएको थिएन ।
यसैकारण, अहिले ब्राजिलको उग्र दक्षिणपन्थी समूहबाट दुईवटा कुराको अपेक्षा गरिएको छ । यदि उनीहरू पराजित भए भने हार स्वीकार गर्नुपर्छ । यदि विजयी भए भने उनीहरूले आफ्नो जित सम्भव बनाउने नियमको दायराभित्र रहेर शासन सञ्चालन गर्नुपर्छ । त्यसअतिरिक्त न्यायपालिका, प्रेस, विपक्षी दलको सम्मान गर्नुपर्छ । साथमा चार वर्षपछि पराजित हुन सकिने सम्भावनालाई स्वीकार गर्नुपर्छ । लोकतान्त्रिक सरकारले यसभन्दा अघि बढेर विभिन्न समूहको सत्तामा पहुँच सुनिश्चित गर्नुपर्छ र असमानता कम गर्नुपर्छ । तर, यो पहिलो कदमविना अन्य कुनै पनि कदम सम्भव छैन । उग्र दक्षिणपन्थी समूहले सुनिश्चित गर्नुपर्ने कुरा यही कदम हो ।
द कन्भर्सेसनबाट
(थोम ब्राजिलियन इन्स्टिच्युट अफ एजुकेसन, डेभलपमेन्ट एन्ड रिसर्चकी प्राध्यापक हुन् ।)