- गगनले लोकतन्त्रलाई आर्थिक न्यायसँग, समाजवादलाई उत्पादन तथा रोजगारीसँग र समावेशितालाई वास्तविक प्रतिनिधित्वसँग जोड्न सके नयाँ कांग्रेसको सुरुवात हुन सक्छ
नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस यतिवेला एउटा निर्णायक मोडमा उभिएको छ । विशेष र जटिल राजनीतिक परिस्थितिमा भइरहेको यसको १५औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने नियमित प्रक्रिया मात्र होइन, बदलिँदो नेपाली समाज, नयाँ पुस्ताको चेतना र नागरिकका बढ्दो अपेक्षासँग कांग्रेसले आफूलाई कसरी पुनः परिभाषित गर्छ भन्ने राजनीतिक परीक्षासमेत हो । त्यसैले, आजको मूल प्रश्न गगन थापा सभापति बने कि बनेनन् भन्ने मात्र होइन । मूल प्रश्न हो– गगनको नेतृत्वमा कांग्रेस साँच्चै बदलिन्छ कि पुरानै राजनीतिक चरित्रमा केवल नयाँ अनुहार थपिन्छ ?
जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा आएको परिवर्तनले पुराना दल र तिनको राजनीतिक संस्कृतिमाथि गम्भीर प्रश्न उठाएको छ । नयाँ पुस्ताले केवल सरकार वा कुनै एक नेताविरुद्ध असन्तुष्टि व्यक्त गरेको होइन, उसले भ्रष्टाचार, बिचौलियातन्त्र, सत्ता र शक्तिको केन्द्रीकरण, राजनीतिक संरक्षण, अवसरको असमान वितरण तथा नेतृत्वको जवाफदेहितामाथि प्रश्न उठाएको हो । यो असन्तुष्टि कुनै एउटा दलको मात्र समस्या होइन, समग्र पुरानो राजनीतिक संस्कारप्रतिकै चुनौती हो । त्यसैले, अहिलेको कांग्रेसले यो बदलिएको राजनीतिक मनोविज्ञान बुझ्न सकेन भने लामो इतिहास बोकेको दल भएर पनि भविष्यको राजनीतिमा क्रमशः अप्रासंगिक बन्न सक्छ ।
यही सन्दर्भमा एउटा असहज तर आवश्यक प्रश्न उठ्छ– कांग्रेस आखिर बिपीको हो कि गगनको ? यो प्रश्न व्यक्ति विशेषको समर्थन वा विरोध होइन । यो कांग्रेसको विचार, चरित्र र राजनीतिक दिशासँग जोडिएको प्रश्न हो । बिपी कोइराला कांग्रेसको ऐतिहासिक आदर्श, लोकतान्त्रिक संघर्ष र समाजवादी चिन्तनका प्रतीक हुन् । गगन थापा भने नयाँ पुस्ताको नेतृत्व परिवर्तन र नयाँ राजनीतिक भाष्यका प्रतिनिधि पात्र हुन् । तर, समस्या त्यतिवेला सुरु हुन्छ, जब बिपीको विचारलाई केवल स्मृतिमा सीमित गरिन्छ र गगनको नयाँपनलाई केवल उमेर, लोकप्रियता वा भाषणबाट प्रमाणित गर्न खोजिन्छ ।
बिपीको कांग्रेस केवल निर्वाचन जित्ने पार्टी थिएन । उनको राजनीतिक चिन्तनको केन्द्रमा लोकतन्त्र, नागरिक स्वतन्त्रता, सामाजिक न्याय, आर्थिक समानता र राष्ट्रिय स्वाधीनता थिए । उनका लागि लोकतन्त्र मतपत्रमा मतदान गर्ने अधिकार मात्र थिएन, नागरिकले सम्मानपूर्वक बाँच्न पाउने सामाजिक, राजनीतिक र आर्थिक वातावरण निर्माण गर्नु पनि लोकतन्त्रकै अभिन्न हिस्सा थियो । त्यसैले, उनको समाजवादको केन्द्रमा किसान, श्रमिक, गरिब र कमजोर नागरिक थिए । तर, आज कांग्रेसले बिपीको नाम कति लिन्छ भन्नेभन्दा बिपीको विचार कति बोक्छ भन्ने प्रश्न महत्वपूर्ण छ ।
बिपीले सामन्ती संरचनाविरुद्ध राजनीति गरे । आज कांग्रेस आफैँभित्र सत्ता, पहुँच, परिवार, गुट, आर्थिक शक्ति र राजनीतिक संरक्षणको प्रभावबाट कति मुक्त छ ? बिपीले राजनीतिक शक्तिलाई सामाजिक परिवर्तनको साधनका रूपमा हेरे । आज कांग्रेसका कतिपय नेताको राजनीति पद, सत्ता, निर्वाचन र शक्ति समीकरणवरिपरि सीमित भएको आरोप किन उठिरहेको छ ? यी प्रश्नलाई केवल विरोधीको प्रचार भनेर पन्छाउन मिल्दैन । किनकि, कांग्रेस लामो समय राज्यसत्ताको केन्द्रमा रहेको दल हो । त्यसैले, सार्वजनिक संस्थाको कमजोर अवस्था, शिक्षा र स्वास्थ्यको व्यापारीकरण, बेरोजगारी, आर्थिक असमानता तथा राजनीतिक संरक्षणमा हुर्किएको बिचौलियातन्त्रप्रति कांग्रेस आफ्नो ऐतिहासिक जिम्मेवारीबाट उम्कन सक्दैन । राजनीति सेवा हो कि शक्ति र सम्पत्ति निर्माण गर्ने माध्यम ? कांग्रेसले यो प्रश्न अरूलाई सोध्नुअघि आफ्नै संगठनभित्र सोध्नुपर्छ ।
कांग्रेसमाथि उठ्ने अर्को गम्भीर प्रश्न यसको वर्गीय चरित्र हो । गरिब, किसान, श्रमिक, दलित, महिला, मधेशी, जनजाति र सीमान्तकृत समुदायका नाममा राजनीति गर्ने दलमा निर्णय गर्ने शक्ति कसको हातमा छ ? उम्मेदवार कसरी चयन हुन्छन् ? नेतृत्व निर्माणमा आर्थिक क्षमता, पहुँच र गुटको प्रभाव कति छ ? पार्टीको नीति–निर्माणमा श्रमिक र किसानको आवाज कति सुनिन्छ ? संगठनभित्र आर्थिक र राजनीतिक पहुँच भएका सम्पन्न वर्गको प्रभाव बलियो हुँदै जाने र त्यसैलाई लोकतान्त्रिक प्रतिनिधित्वका रूपमा व्याख्या गरिरहने हो भने बिपीको समाजवादसँग कांग्रेसको दूरी बढ्दै जानु स्वाभाविक हो । यही ठाउँमा गगन थापाको नेतृत्वको प्रश्न जोडिन्छ । गगनले कांग्रेसमा पुस्तान्तरण, नेतृत्व परिवर्तन, संगठन सुधार र नयाँ राजनीतिक संस्कारको कुरा गरेका छन् । यो आफैँमा सकारात्मक र आवश्यक हो । तर, पुरानो पुस्तालाई हटाएर नयाँ पुस्ता ल्याउँदैमा नयाँ राजनीति जन्मिँदैन । उमेर परिवर्तन पुस्तान्तरण होइन । पुस्तान्तरण भनेको सोच, संस्कार, संगठन, नीति र राजनीतिक प्राथमिकताको परिवर्तन हो ।
देउवाको ठाउँमा गगन आए, तर गुट तिनै रहे, भागबन्डा उही रह्यो, टिकट वितरणको संस्कार उही रह्यो, पैसाको प्रभाव उही रह्यो, सत्ता प्राप्तिलाई राजनीतिको अन्तिम उद्देश्य मान्ने प्रवृत्ति उही रह्यो र पार्टीभित्र आलोचनाभन्दा व्यक्तिगत निष्ठालाई प्राथमिकता दिइयो भने कांग्रेसमा परिवर्तन कहाँ भयो ? केवल कुर्सी फेरिन्छ, चरित्र होइन । गगनको सबैभन्दा ठुलो राजनीतिक परीक्षा यही हो । उनी पुरानो कांग्रेसको विकल्प बन्न चाहन्छन् भने आफूलाई पुरानो नेतृत्वको ‘कम खराब’ विकल्पका रूपमा होइन, नयाँ राजनीतिक दर्शन र नयाँ संगठनात्मक संस्कारको वाहकका रूपमा प्रमाणित गर्नुपर्छ । पुरानो गुटको ठाउँमा आफ्नो नयाँ गुट निर्माण गर्नु पुस्तान्तरण होइन, गुटको पुस्तान्तरण मात्र हो ।
आज नेपाली समाजको संकट उमेरको होइन, अवसरको हो । बेरोजगारी, वैदेशिक पलायन, कृषि संकट, भूमिहीनता, जातीय विभेद, लैंगिक असमानता, शिक्षा र स्वास्थ्यको व्यापारीकरण, कमजोर सार्वजनिक संस्था, बढ्दो आर्थिक असमानता र राज्य सेवामा असमान पहुँच वास्तविक समस्या हुन् । यी प्रश्नबाट भागेर कुनै पनि दल नयाँ बन्न सक्दैन । कांग्रेसले नयाँ पुस्तासँग संवाद गर्न चाहन्छ भने युवालाई केवल चुनावी भिड वा सामाजिक सञ्जालका समर्थकका रूपमा होइन, नीति–निर्माणका साझेदारका रूपमा स्वीकार गर्नुपर्छ । युवाको प्रश्न केवल आफ्नो उमेरको मानिसलाई नेतृत्वमा ल्याउनु होइन । उनीहरूको प्रश्न हो–देशमा भविष्य छ कि छैन ? शिक्षित युवा किन विदेश जान बाध्य छन् ? कृषकका सन्तान कृषि छाडेर किन पलायन भइरहेका छन् ? राज्यको सामान्य सेवा लिन नागरिकले राजनीतिक पहुँच किन खोज्नुपर्छ ? शिक्षा र स्वास्थ्य किन क्रमशः व्यापारिक वस्तु बन्दै गइरहेका छन् ? कांग्रेसले यी प्रश्नको उत्तर दिन सकेन भने गगनको नयाँपन सामाजिक सञ्जालको भाषणभन्दा माथि उठ्न सक्दैन ।
बिपी आज जीवित भएको भए डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, जलवायु संकट, वैदेशिक श्रम, प्रविधिले बदलिरहेको श्रम बजार, भूमिहीनता, नयाँ वर्गीय असमानता र विश्वव्यापी पुँजीको प्रभावलाई कसरी हेर्थे ? आज बिपीलाई सम्झने सबैभन्दा सही तरिका यही प्रश्नको उत्तर खोज्नु हो । बिपीको समाजवादलाई संग्रहालयमा राखेर वर्षमा एकपटक तस्बिरमा माला लगाउनु राजनीतिक बिरासत होइन । बिपीको विचारलाई आजको नेपाली समाजका समस्यासँग जोडेर नयाँ कार्यक्रम निर्माण गर्नु नै वास्तविक बिरासत हो । किसानलाई उत्पादन र बजारसँग जोड्ने कृषि नीति, श्रमिकलाई सम्मानजनक रोजगारी, युवालाई देशभित्र अवसर, शिक्षा र स्वास्थ्यमा राज्यको प्रभावकारी जिम्मेवारी, दलित तथा सीमान्तकृत समुदायलाई वास्तविक सामाजिक न्याय, महिलालाई समान अवसर, उद्यमशीलतालाई प्रोत्साहन, उत्पादनमा आधारित अर्थतन्त्र र सार्वजनिक संस्थाको पुनर्निर्माण– यिनै क्षेत्रमा कांग्रेसको समाजवाद देखिनुपर्छ । नत्र, ‘समाजवाद’ कांग्रेसको दस्ताबेजमा रहने एउटा सुन्दर शब्द मात्र हुनेछ । कांग्रेसको अर्को ठुलो समस्या आफ्नो इतिहासलाई वर्तमानको विकल्प ठान्ने प्रवृत्ति हो । लोकतन्त्र स्थापना र संरक्षणमा कांग्रेसको ऐतिहासिक योगदानलाई कसैले नकार्न सक्दैन । तर, इतिहासको योगदान वर्तमानको जनादेशको स्थायी ग्यारेन्टी होइन । आजको पुस्ताको प्रश्न सरल छ– तपाईंले हिजो के गर्नुभयो भन्दा अब के गर्नुहुन्छ ? उनीहरूलाई बिपीको तस्बिरभन्दा आफ्नो भविष्य महत्वपूर्ण छ । लोकतन्त्रको इतिहाससँगै रोजगारी चाहिएको छ । समाजवादको भाषणसँगै गुणस्तरीय शिक्षा चाहिएको छ । समावेशिताको नारासँगै वास्तविक प्रतिनिधित्व चाहिएको छ । राजनीतिक स्वतन्त्रतासँगै सम्मानपूर्वक बाँच्ने आर्थिक आधार चाहिएको छ । त्यसैले, कांग्रेसले आफ्नो ऐतिहासिक योगदानलाई राजनीतिक लाइसेन्सका रूपमा प्रयोग गर्नुहुँदैन ।
गगनका लागि अर्को महत्वपूर्ण चुनौती पार्टीभित्रको लोकतन्त्र हो । कांग्रेसलाई व्यक्तिको वरिपरि होइन, संस्थाका आधारमा चलाउने प्रणाली निर्माण गर्नुपर्छ । उम्मेदवार चयनदेखि नेतृत्व निर्माणसम्म पैसा, परिवार, पहुँच र गुटभन्दा क्षमता, विचार, जनसम्बन्ध, राजनीतिक योगदान र सार्वजनिक विश्वसनीयतालाई प्राथमिकता दिनुपर्छ । पार्टीभित्र आलोचना गर्ने अधिकार सुरक्षित हुनुपर्छ । फरक मतलाई दुस्मनीका रूपमा हेर्ने संस्कार अन्त्य हुनुपर्छ । महाधिवेशन नेतृत्वको वैधता प्रमाणित गर्ने मात्र होइन, विचारको बहस गर्ने सर्वोच्च राजनीतिक मञ्च बन्नुपर्छ । त्यसैगरी, कांग्रेसले राज्य र व्यापारबिचको सम्बन्धबारे पनि स्पष्ट नीति बनाउनुपर्छ । राजनीति गर्ने व्यक्तिले व्यापार गर्नै नपाउने भन्ने होइन । तर, राज्यसत्ता, सार्वजनिक स्रोत र निजी स्वार्थबिचको सीमारेखा स्पष्ट हुनुपर्छ । राजनीतिलाई व्यापारिक स्वार्थको सुरक्षा कवच बनाउने प्रवृत्ति अन्त्य नगरी सुशासन सम्भव हुँदैन ।
नयाँ कांग्रेसको अर्को परीक्षा सामाजिक न्याय हो । नेपालमा लोकतन्त्र आएको दशकौँ बिते पनि जात, वर्ग, लिंग, क्षेत्र, भाषा र आर्थिक अवस्थाका आधारमा अवसरको असमानता अझै गहिरो छ । कांग्रेसले सामाजिक न्यायलाई चुनावी नाराबाट नीतिगत प्राथमिकतामा रूपान्तरण गर्नुपर्छ । प्रतिनिधित्वको संख्या मात्र होइन, प्रतिनिधित्वले नागरिकको जीवन कति बदल्यो भन्ने प्रश्न पनि उठाउनुपर्छ । गगन कांग्रेसलाई साँच्चै बदल्न चाहन्छन् भने पहिलो काम आफ्नै वरिपरि नयाँ शक्ति केन्द्र बनाउनु होइन, त्यस्तो संरचना नै बदल्नु हो ।
दोस्रो, पार्टीभित्र विचारको बहस पुनर्जीवित गर्नुपर्छ । तेस्रो, राजनीतिक नियुक्ति र उम्मेदवारीमा पारदर्शिता ल्याउनुपर्छ । चौथो, सामाजिक न्यायलाई ठोस कार्यक्रम बनाउनुपर्छ । पाँचौँ, पार्टीको आर्थिक स्रोत र राजनीतिक स्वार्थबिच पारदर्शिता कायम गर्नुपर्छ । छैटौँ, सत्ता प्राप्तिलाई साध्य होइन, नागरिक जीवन परिवर्तन गर्ने साधनका रूपमा परिभाषित गर्नुपर्छ ।
अन्ततः कांग्रेसले रोज्नुपर्ने प्रश्न ‘बिपी कि गगन ?’ होइन । अझ गम्भीर प्रश्न हो– बिपीको विचार बोकेको गगनको कांग्रेस बन्छ कि गगनको नाम बोकेको पुरानै कांग्रेस ? बिपीलाई पूजा गर्ने तर उनका विचारलाई व्यवहारमा नउतार्ने कांग्रेस अधुरो हो । गगनलाई परिवर्तनको प्रतीक मानेर उनको आलोचनात्मक परीक्षण नगर्ने कांग्रेस पनि लोकतान्त्रिक हुन सक्दैन । लोकतन्त्रमा कुनै नेता अन्तिम सत्य हुँदैन । बिपी पनि आलोचनाबाट माथि थिएनन्, गगन पनि छैनन् । गगनले पुरानो कांग्रेसको कुर्सी मात्र कब्जा गरे भने त्यो नेतृत्व परिवर्तन हुनेछ, राजनीतिक परिवर्तन होइन । तर, उनले लोकतन्त्रलाई आर्थिक न्यायसँग, स्वतन्त्रतालाई समान अवसरसँग, समाजवादलाई उत्पादन र रोजगारीसँग, समावेशितालाई वास्तविक प्रतिनिधित्वसँग र राजनीतिलाई जवाफदेहितासँग जोड्न सके भने नयाँ कांग्रेसको सुरुवात हुन सक्छ ।
कांग्रेसको भविष्य बिपीको तस्बिरमा छैन, बिपीले उठाएका प्रश्नको आजको उत्तरमा छ । गगनको भविष्य पनि उनको भाषणमा छैन, उनले बदल्न सक्ने राजनीतिक संस्कारमा छ । इतिहासले बिपीलाई जन्म दियो । अब गगनको पुस्ताले आफूलाई इतिहासको उत्तराधिकारी मात्र होइन, इतिहाससँग नयाँ सम्झौता गर्ने पुस्ताका रूपमा प्रमाणित गर्नुपर्छ । नत्र, कांग्रेसमा नेता फेरिएला, पुस्ता फेरिएला, नारासमेत फेरिएला, तर नेपाली नागरिकले खोजेको राजनीति फेरिनेछैन । र, त्यसवेला प्रश्न फेरि उही हुनेछ– बिपीको कांग्रेस कहाँ छ ? गगनको कांग्रेस कहाँ छ ? र, जनताको कांग्रेसचाहिँ कहाँ छ ?