- देशभर विद्यालयका विद्यार्थी र शिक्षक एकसाथ आन्दोलनमा उत्रिएपछि फ्रान्सको शिक्षा मन्त्रालय पूर्ण रूपमा ‘असहाय’ बनेको छ
फ्रान्स दशकयताकै सबैभन्दा ठुलो विद्यार्थी आन्दोलनलाई नियन्त्रणमा लिन संघर्ष गरिरहेको छ । पेरिसको उत्तरी उपनगरस्थित एउटा माध्यमिक विद्यालयमा हडतालमा उत्रिएका शिक्षकको समर्थनमा सुरु भएको प्रदर्शनले अहिले राष्ट्रिय संकटको रूप लिएको छ । सयौँ विद्यालय बन्द गर्न बाध्य पारिएको छ भने पाँच हजारभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये अधिकांश नाबालिग छन् र उनीहरूको कुनै आपराधिक पृष्ठभूमि छैन । यस क्रममा विद्यार्थी, शिक्षक र प्रहरी घाइते भएका छन् । उत्तर–पूर्वी सहर लेन्समा एक विद्यार्थीले ‘ग्रेनेड’ उठाउँदा आफ्नो हात गुमाएका छन् भने टुर सहरमा अर्का एक विद्यार्थीले आँखा गुमाएका छन् । सरकारका लागि अर्को ठुलो परीक्षा मंगलबार हुनेछ, जतिवेला देशभर हजारौँ मानिस विरोध प्रदर्शनमा सहभागी हुने अपेक्षा गरिएको छ ।
के भइरहेको छ : पेरिसको उपनगरमा रहेको ‘सेन्ट–एक्सुपरी’ उच्च माध्यमिक विद्यालयमा २१ सेप्टेम्बरमा भएको सुरुवाती विरोध प्रदर्शनले खासै ध्यान आकर्षित गरेको थिएन । कर्मचारी र स्रोतसाधन अभावको विरोध गर्न विद्यार्थी आफ्ना शिक्षकसँगै आन्दोलनमा उत्रिएका थिए । जब तिनका माग पूरा भए र विद्यालयमा थप कर्मचारी पठाइयो, तब हडताल समाप्त भयो । तर, त्यसवेलासम्म आन्दोलनको आगो अन्य विद्यालयसम्म सल्किइसकेको थियो । विद्यार्थी नेता मानेस नाडेलका अनुसार यो आन्दोलन डढेलोझैँ फैलियो । ‘अहिले अभूतपूर्व संख्यामा विद्यालय आन्दोलनमा संलग्न छन्,’ उनले भने । उनको बुझाइमा फ्रान्सको शिक्षा मन्त्रालय यो संकटको सामना गर्न नसकी ‘पूर्ण रूपमा असहाय’ बनेको छ ।
पेरिस र आसपासका क्षेत्रका उच्च माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयका प्रवेशद्वार बन्द गरेका दृश्य देखिन्छन् । विद्यार्थीले फोहोरका डब्बामा आगो लगाएका, अवरोध खडा गरेका, शिक्षकमाथि आक्रमण गरेका र प्रहरीसँग झडप गरेका तस्बिर सार्वजनिक भएपछि अति–वामपन्थीहरूको संलग्नताबारे प्रश्न उठेको छ । विरोध आन्दोलन सुरु भएयता सयभन्दा बढी उच्च माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।
आलोचकले प्रहरीले कडा दमन गरेको आरोप लगाएका छन् । एलेन्सनमा एक प्रहरी जवानले एक बालिकामाथि हेडलक प्रयोग गरेको दृश्य क्यामेरामा कैद भएको थियो, जुन प्रविधि अहिले कानुनद्वारा निषेध छ । हिंसा र विरोध प्रदर्शनमा देखिएको तीव्रताले धेरैलाई अचम्मित बनाएको छ । विद्यार्थीका गुनासा लामो समयदेखिका छन्– विद्यालयमा विद्यार्थी चाप बढेको, स्रोत साधन पर्याप्त नभएको, शिक्षक र कर्मचारीको अभाव रहेको र अन्य आधारभूत सुविधा नभएको गुनासा विद्यार्थीले गरेका छन् । निकै कम डेस्क र कुर्सी भएका कक्षाकोठा र शिक्षकको अनुपस्थितिलाई लिएर विद्यार्थीले आफ्नो कक्षा स्थगित गरेका भिडियो वर्षौंदेखि प्रसारित भइरहेका छन् ।
सन् २०१० मा फ्रान्समा देखिएको जन्मदरको उच्च वृद्धिका कारण अहिले माध्यमिक विद्यालयमा विद्यार्थीको संख्या बढेको छ, जबकि ती विद्यालयले लामो समयदेखि वास्तविक बजेट कटौतीको सामना गरिरहेका छन् । थप दुई लाख ५० हजार विद्यार्थी भर्ना भए पनि सन् २००८ को तुलनामा अहिले माध्यमिक विद्यालयमा शिक्षकको संख्या कम छ । सार्वजनिक क्षेत्रका विद्यालयमा ७० प्रतिशत कक्षाकोठामा प्रतिकक्षा ३० जनाभन्दा बढी विद्यार्थी छन् ।
सरकारको प्रतिक्रिया : आलोचकका अनुसार सरकारको प्रतिक्रिया सुस्त र असंवेदनशील रह्यो । सुरुमा सरकारको ध्यान मुख्यतया अति–वामपन्थी दल ‘एलएफआई’ र अवरोध खडा गरिएका स्थानमा केन्द्रित थियो । आगामी वसन्त ऋतुमा हुने राष्ट्रपति निर्वाचनमा राम्रो नतिजा ल्याउने अपेक्षा गरिएका ज्याँ–लुक मेलान्चोनको नेतृत्वमा रहेको यस दलले विद्यार्थीको विरोध प्रदर्शन गर्ने अधिकार र त्यहाँ आफ्नो दलको उपस्थितिको अधिकार, दुवैको पटक–पटक बचाउ गर्दै आएको छ । आन्दोलनमा प्रहरी दमन र विरोध प्रदर्शनका कारण भएको आर्थिक क्षतिबारे पनि धेरै चर्चा भइरहेको छ । पेरिस र आसपासको क्षेत्रमा मात्रै विद्यालयलाई पुगेको क्षतिको अनुमानित मूल्य ७० लाख युरो छ ।
सन् २०२७ का लागि योजना गरिएको प्राविधिक उच्च माध्यमिक विद्यालयको शुल्कसम्बन्धी विषयमा सुरुमा केही छुट दिने भनिए पनि अहिले त्यसलाई सरकारको बजेटबाट हटाइएको छ । विशेषगरी गत साताको अन्त्यतिर हिंसात्मक घटना बढेपछि प्रदर्शनकारी सरकारको पूर्ण ध्यानाकर्षण गराउन सफल भएका छन् । त्यसवेला गृहमन्त्रीले विद्यार्थी प्रदर्शन सहरी हिंसामा परिणत भएको टिप्पणी गरेका थिए भने एकै दिन करिब दुई हजार मानिसलाई नियन्त्रणमा लिइएको थियो । शुक्रबार, शिक्षामन्त्री एडुआर्ड जेफ्रेले विद्यार्थी नेतासँग भेटवार्ता गरे । यद्यपि, सहमति हुन सकेन ।
ऐतिहासिक रूपमा हेर्दा विद्यार्थी आन्दोलन फ्रान्सेली सरकारका लागि सुखद छैनन् । हडतालको लामो अनुभव भएको मुलुक फ्रान्समा सन् १९६८ को मेमा भएको विद्यार्थी आन्दोलन त्यहाँको इतिहासकै सबैभन्दा ठुलो हडतालमा परिणत भएको थियो । त्यसको एउटा नारा थियो– ‘यथार्थवादी बन, असम्भव कुराको माग गर ।’ तर, अहिलेको अवस्थामा भने पुनः आन्दोलनमा उत्रिएका विद्यार्थी आफूले धेरै ठुलो कुरा मागिरहेको महसुस गर्दैनन् । वास्तवमा, उनीहरू त केवल न्यूनतम आवश्यकताको माग गरिरहेका छन्, यस्तो शिक्षा प्रणाली, जसले उनीहरूलाई वास्तवमै सिक्ने अवसर प्रदान गरोस् ।
(बेल सिएनएनकी पेरिस ब्युरोकी वरिष्ठ संवाददाता हुन्)
सिएनएनबाट