दलित कि शिल्पी ?

दलित शब्द वर्जित गरी शिल्पी शब्दको प्रयोगले समानता र सम्मान मिल्ला ?

शनिबार, २४ असोज, २०८३
प्रिन्ट संस्करण

दलित (अप्प्रेस्ड) शब्दको शाब्दिक अर्थ हुन्छ, दबाइएको, कुल्चिएको वा टुक्राटुक्रा पारिएको । त्यसैले डा. भीमराव अम्बेडकरले ‘ब्रोकन पिपल’ (द अन्टचेबल्स्, सन् १९४८) नाम दिएका छन् । उनको सिद्धान्तअनुसार प्राचीनकालमा युद्ध तथा आक्रमणका कारण तितरवितर भएर बाँच्न बाध्य पारिएका फिरन्ते, घुमन्ते कबिलाको एक समूह नै कालान्तरमा अछुत बनाइए । तिनीहरू नै हालका दलित समुदाय हुन् ।

भारतीय उपमहाद्वीप (विशेषतः भारत, नेपाल आदि) को सामाजिक व्यवस्थामा सदियौँदेखि पीडित तथा बहिष्कृत पारिएको एक समुदाय नै दलित हो । स्वतः स्पष्ट छ, दलित कुनै एक जात वा जाति नभएर एक समुदाय हो । जसको पहिचान, शब्द र परिचय स्वयं उत्पीडित समुदायको आन्दोलन, बलिदानी तथा मुक्ति संघर्षद्वारा स्थापित गरिएको हो । वेद, पुराण र स्मृति आदि धर्मशास्त्रमा दलित शब्द नहुनुको तात्पर्य यही हो । दलित शब्द केवल पहिचान मात्रै होइन, बरु सामाजिक परिवर्तन, आत्मसम्मान तथा क्रान्तिको प्रतीक बन्न पुग्यो । यसले सामूहिकता, एकता र शक्तिको प्रतिनिधित्व गर्दछ ।

नेपालमा केही अभियन्ता दलित शब्दप्रति घृणा गर्छन् । बरु जात व्यवस्थाप्रति भने उनीहरू अपेक्षाकृत सकारात्मक सुनिन्छन् । ऐतिहासिक सन्दर्भदेखि जात व्यवस्थाको सिंहावलोकन गर्दा दलित शब्दका कारण छुवाछुत प्रथा र जात व्यवस्थाको निर्माण भएको होइन । विभेद जातका कारण गरिन्छ । अथवा, विभेदको आधार जात हो र जातको आधार हो, जन्म । दलित शब्द त जातका कारण विभेद, छुवाछुत र अन्याय तथा बहिष्करणमा पारिएको समुदाय हो । रेस (नश्ल) दलित समुदायभित्र पनि पृथकता छन् । त्यसैले, यो ‘रेसियल डिस्क्रिमिनेसन’ पनि होइन । वर्ण व्यवस्था केही हदसम्म परिवर्तनशील थियो । तर, जातको आधार केवल जन्म हो । अतः स्थिर रहनु स्वाभाविक छ ।

अब प्रश्न उठ्छ, दलित शब्द वर्जित गरी शिल्पी शब्दको प्रयोगले के समानता र सम्मान मिल्ला ? यस लेखमा दलित किन घृणित ? विकल्पमा शिल्पी शब्द किन ? को शिल्पी भन्ने सन्दर्भमा बहस गरिनेछ । प्राचीन शिल्पी को थिए भन्ने प्रश्न उठ्नु स्वाभाविक भए पनि यस सन्दर्भमा छलफल शून्य देखिन्छ । जसले सिर्जना गरे उनै शिल्पी भन्ने अति सामान्य अर्थको औचित्य छैन । यति सामान्य बुझाइले न समानता मिल्छ, न सम्मान ? जात व्यवस्थाबाट प्रताडित समुदायको एकीकृत आन्दोलन तुहाउने षड्यन्त्रबाहेक केही होइन, शिल्पी शब्दवालाहरूको बहाना ।

सन् १९३० मा गान्धीले अछुत वा सामाजिक रूपमा बहिष्कृत अर्थात् दलित समुदायलाई सम्बोधन गर्न हरिजन शब्द प्रयोगमा ल्याए । हरिजन अर्थात् हरि (देउता/ईश्वर) का सन्तान । प्राचीन भारतमा देवदासी प्रथाका कारण मन्दिरमा वेश्यावृत्तिको दुर्गन्ध फैलिएको थियो । छैटौँ शताब्दीमा लेखिएका मत्स्य पुराण, विष्णु पुराण तथा कौटिल्यको अर्थशास्त्र आदिमा देवदासी प्रथाबारे उल्लेख छ । भाकलस्वरूप सानो उमेरका छोरीहरूलाई भगवान्को नाममा मन्दिरमा चढाइने प्रथा नै देवदासी प्रथा हो । पछि त्यो वेश्यावृत्तिमा परिणत भयो । उक्त देवदासीबाट जन्म हुने सन्तानलाई हरिजन भनियो । हरिजन अर्थात् नाजायज सन्तान । यसर्थ, हाल भारतभरि यो शब्द प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

को हुन् शिल्पी ?
ब्राह्मण, क्षेत्रीय र वैश्य (द्विज) जातिका काम स्पष्ट रूपमा धर्मशास्त्रमा अंकित गरिएको छ । जस्तै– ब्राह्मणको काम थियो/हो, वेदशास्त्र पढ्ने/पढाउने, हवन गर्ने/गराउने तथा दान लिने आदि । त्यस्तै क्षत्रीय (क्षत्री) को काम थियो, शस्त्र विद्या सिक्ने र लड्ने । वैश्यको काम थियो, व्यापार गर्नु । यीबाहेक बाँकी रहेका अन्य सारा कार्य, जस्तै– जहाँ हातको प्रयोग गर्नर्पुर्ने, घटिया वा निच मानिने कार्य थिए, ती शूद्रका निम्ति थिए । अतः निच वर्णका मानिस (शूद्र) को कार्य उच्च वर्णका मानिसको सेवा गर्नु थियो । जसमध्ये शिल्पी कार्य, बढइगिरी (कारपेन्टर), धातुका भाँडावर्तन निर्माण गर्नु, वस्त्र बुन्ने काम, चित्रकारी, पच्चीकारी, रंगसाजी आदि । केही शास्त्रीय उदाहरण हेरौँ– 

शूद्रस्य द्विजशुश्रुषा सर्वशिल्पानि चाप्यथ 
—शंखस्मृति १/५

अर्थात् शूद्रले द्विज (ब्राह्मण, क्षत्री र वैश्य) को सेवा तथा शिल्पका काम गर्नू । त्यस्तै वायुपुराणमा भनिएको छ,

शिल्पाजीवं भृतिं चैव शूद्रयाणां व्यदधात्प्रभुः
—वायुपुराण ८/१७१

अर्थात्, ईश्वरले शूद्रका लागि सेवा गर्ने तथा शिल्पद्वारा जीविका निर्वाह गर्ने विधान बनाएका छन् ।

देवल स्मृतिमा शूद्रका कार्यको अझ ज्यादा स्पष्ट गर्दै लेखिएको छ, ‘शूद्रले द्विज जातिको सेवा गर्नु तथा कृषि, पशुपालन, भारी बोक्ने, क्रयविक्रय, चित्रकारी, नृत्य, संगीत तथा वेणु (बाँसुरी वा मुरली), वीणा, मृदंग (ढोलक वा तबला) आदि वाद्ययन्त्र बजाउने कार्य गर्नु ।’ (देवल तथा मिताक्षरा, १/१२०) 
शिवपुराण वायुसंहिता, ३१/३९ मा भनिएको छ, 

शिल्पिनः कारवो वैद्या हेमकारा नृपध्वजाः
भृतकाः कूटसंयुक्ताः सर्वे ते नारकाः स्मृताः...

अर्थात् शिल्पी, कारिगर, वैद्य, सुनार राजाको ध्वज उठाउने वाला नोकर तथा मक्कार (धोकेबाज, कपटी) यी सबै नरकमा जानेछन् । 

भारतमा शिल्पी र कारिगरमाथि सामाजिक, धार्मिक एवं आर्थिक रूपमा शोषण र तिरस्कार गरियो । त्यति मात्रै होइन, शिल्पीलाई योजनाबद्ध रूपमै हत्यासमेत गरिए । वेदहरूमा नरमेध वा पुरुषमेधका वर्णन र विधान भेटिन्छन् । त्यसवेला १८४ स्त्रीपुरुषको बलि दिइन्थ्यो । जसमध्ये १६–१७ शिल्पी सामेल थिए । ब्राह्मण, क्षत्री, वैश्यका केवल एक–एक व्यक्ति बलिका लागि लिने विधान छ, जबकि शिल्पीहरूमध्ये लुहार, बाँसका भाँडाकुँडा बनाउनेवाला, तीर बनाउनेवाला, चमार, कपडा बुन्नेवाला, बढई, कुमाल, तामाको हतियार बनाउनेवाला आदि १६–१७ व्यक्तिको बलि दिइन्थ्यो ।

कौटिल्यले आफ्नो अर्थशास्त्र (१/३) मा लेखेका छन्,

शूद्रस्य द्विजातिशुश्रुषा वार्ता कारु कुहीलव कर्म च,

अर्थात् शूद्रका धर्म द्विजातिहरूको सेवा, कृषि, पशुपालन, कारिगरी एवं गानाबजाना, कौतुक (खेल, तमासा) दिखाउने आदि कार्य गर्नु हो । यस्तै आदेश महाभारत (शान्तिपर्व १९५–४), उसना स्मृति, लघ्वाश्वलायन (२२–५) तथा मनुस्मृति (१०–९९–१००) आदिमा समेत मिल्छन् । स्पष्ट छ, प्राचीन भारतमा शिल्पी वा शिल्पलाई निच, घटिया तथा शूद्रका काम नै मानिएको छ । शिल्प किनकि शूद्रको काम थिए, अतः प्राचीन भारतमा शिल्पीप्रति उपेक्षापूर्ण दृष्टिकोण हुनु स्वाभाविक थियो । किनभने, स्वयं शूद्रप्रति घृणा, उपेक्षापूर्ण व्यवहार गरिन्थ्यो ।

प्राचीनकालदेखि हालसम्म भारत, नेपाललगायत हिन्दु (धर्म) समाजमा कुनै पनि व्यक्ति केवल जातिका अंग बनेर मात्रै रहन सक्थे र सक्छन् । जातिको लेभल (पहिचान) विना कोही हिन्दुधर्मी न थिए, न छन् र न हुने नै छन् । त्यसैले, जातजातिरहित हिन्दुधर्म असम्भव छ । हिन्दुधर्ममा ३३ करोड (कोटी) देवता बताइएको छ, तीमध्ये शिल्पीका देउता हुन्, विश्वकर्मा । जस्तै– ब्राह्मणका देउता ब्राह्मा, क्षत्रीयका इन्द्र, वरुण आदि र वैश्यका देवता विष्णु, लक्ष्मी आदि मानिन्छन् । विश्वकर्मा देउता कम बरु देउताका दास (नोकर) वा कामदार बढी प्रतीत हुन्छन् । किनकि, देउताका लागि निवास, विमान आदि बनाउनेवाला चित्रित गरिएको छ । उनका अन्य विभिन्न नाम छन्, तीसमेत निम्नस्तरका सूचक छन्, जस्तै– यथा, कारु (कारिगर, कमिन) कम्मी (सानो जात) तक्षा (बढई—कारपेन्टर), देववर्द्धिक (देउताका बढई) आदि । ब्रह्माको अर्को नाम हिरण्यगर्भ, अज (जन्मरहित) तथा विष्णुका अन्य नाम हरि, ऋषिकेश आदि भए्जस्तै विश्वकर्माका यी अन्य नाम हुन् ।

केही शिल्पी अभियन्ताको मत छ, हामी निर्माता हौँ, अनादिवासी हौँ । यो तर्कको पनि तथ्य परीक्षण गरिनु मनासिब छ । दलित समुदायका कामी, दमाईं तथा आदिवासी जनजातिका केही अभियन्ता हडप्पा र मोहेनजोदाडो सभ्यतामा आफ्नो योगदान थियो भनी दाबी गर्छन् । तथापि, तथ्यहरूको आधारमा यो दाबी हास्यास्पद ठहर्छ । यहाँ केही तथ्य प्रस्तुत गरिएका छन् ।

प्रसिद्ध हिन्दु इतिहासकार तथा वनारस हिन्दु विश्वविद्यालय (कलेज अफ इन्डोलोजी) का भूतपूर्व प्रिन्सिपल डा. आरसी मजुमदारको निष्कर्ष छ, ‘बहुसंख्यक विद्वान् यो पक्षमा एकमत छन् कि हडप्पा आदिमा प्राप्त सभ्यताका जनक मेडिटोरियन (भूमध्य सागर वरिपरिका क्षेत्रका) मानिस थिए । तिनीहरू द्रविड थिए । हडप्पा सभ्यताको भग्नावशेषपश्चात् द्रविड भाषा तथा द्रविड भाषाभाषीको सभ्यताको अध्ययनबाट प्राप्त तथ्यबिच पर्याप्त साम्य (समानता) छन् । अतः हामी सिन्धु घाँटीको सभ्यतालाई द्रविड सभ्यता भन्न सक्छौँ । त्यो सभ्यता २८०० इपू लगभग भएको ठहर्छ । जबकि, त्यस क्षेत्रमा आर्यहरूको आगमन २००० इपू लगभग रहेको बहुसंख्यक विद्वान्ले मानेका छन् ।’ (डा. रमेशचन्द्र मजुमदार भारतका एक प्रसिद्ध तथा प्रतिष्ठित इतिहासकार र प्राज्ञ थिए । उनले प्राचीन भारत, दक्षिण पूर्वी एसियामा भारतीय संस्कृति खोजमा महŒवपूर्ण योगदान दिएका छन् ।)

यसै प्रसंगमा डा. सत्यकेतु विद्यालंकारको मत पनि पठनीय छ । उनी भन्छन्, ‘विद्वान्हरूको विचार यो छ कि आर्य जाति इतिहासको रंगमञ्चमा प्रकट हुनुपूर्व पृथ्वीको अनेक प्रदेशमा जुन मानिसले मानव सभ्यताको विकास गरे, तिनीहरूलाई हामी सामूहिक रूपमा भूमध्यसागरीय नश्ल भन्न सक्छौँ । यही नश्ललाई आइबिरियन पनि भन्न सकिन्छ । यस नश्लका मानिसको रंग खैरो, कदमा होचा हुन्थे । संसारको प्राचीनतम् सभ्यताको विकास यही नश्लको मानिसले गरे । भारतका द्रविडसमेत यही आइबिरियन नश्लका एक शाखा रहेको मानिन्छ । साथै, अनेक विद्वान्हरूको मत छ कि सिन्धु सभ्यताको विकास यही आइबिरियन मानिसहरूद्वारा भएको थियो ।’ (भारतीय संस्कृति और उसका इतिहास, पृ. ८२) 

अब यहाँ हामीले विचार पुर्याउनुपर्ने सवाल छन्, नेपालका दलित विशेषतः दुई नश्लका छन् । पहिलो, मधेशी दलित, जो द्रविड नश्लका हुन सक्छन् । स्मरणीय छ, उनीहरू आफूलाई शिल्पी दाबी पनि गर्द{ैनन् । अर्को नश्ल वा समुदाय छ, पहाडे दलित । पहाडे दलितभित्रका कामी, दमाईं, सार्की, गाइने आदि आर्य नश्लका समुदाय हुन् । वैदिक आर्य र यी जातिको डिइनए हुबहु एउटै हो । जब हडप्पा वा सिन्धु सभ्यताका निर्माता द्रविड समुदाय हुन्, वैदिक आर्यसँग रगत मिल्ने दलित त्यो सभ्यता निर्माणसँग जोडिने भन्ने तर्क नै हास्यास्पद हो ।

अब भारतमा नृवंश विज्ञान सर्वेक्षणका निर्देशक डा. बिएस गुहाद्वारा प्राचीन भारतका जातिका विषयमा जो अधिकारपूर्ण विचार प्रस्तुत गरेका थिए, ती प्रायः सर्वमान्य छन् । उनको पुस्तक ‘रेसियल एलिमेन्टस् इन द पपुलेसन (१९४४)’ मा विस्तृत सर्वेक्षणपछि प्रतिपादित गरेका छन् । उनका अनुसार भारतमा ६ नृवंश (ह्युम्यान रेस) प्रधान रहे ।

पहिलो, नेगरिटो (निग्रो) : यी नश्लका मानिस अफ्रिकाबाट आएका हुन् र यिनका वंशज अन्डमान आदि क्षेत्रमा भेटिन्छन् ।

दोस्रो, एबअरिजिनल (आदिवासी) : यिनीहरू प्रोटो आस्ट्रेलायड वंशका थिए, यी मेडिटेरियन सागरको किनारमा बसोवास गर्ने मानिसका सन्तति हुन् ।

तेस्रो, मंगोलाइड (मंगोलियन) : यिनीहरू तिब्बत तथा चीनबाट प्रवेश गरेका हुन् ।

चौथो, द्राविडियन (द्रविड) : यिनीहरू पनि मेडिटरियन प्रदेशबाट नै आएका हुन् ।

पाँचौँ, पश्चिमी ब्रच्यस्फल : यो वर्गमा अल्पिनी, डिनारी, अरमिनी आदि उपगर्वका मानिस पर्छन् र उनीहरू मध्यएसियाबाट आएका हुन् ।

छैटौँ, आर्यन (आर्य) : यिनीहरू सबैभन्दा अन्तिममा भारत प्रवेश गरे ।

विश्वमा दलित समुदायको अनुमानित आवादी २६० मिलियन रहेको छ । जसमध्ये भारतमा मात्रै २०० मिलियन वा कुल जनसंख्याको १६.६ प्रतिशतभन्दा बढी दलितको संख्या रहेको छ । भारतीय संविधानमा अनुसूचित जातिको रूपमा राखिएको भए पनि भारतसहित विश्वभरि दलित समुदाय एक पहिचान बनेको छ । नेपालका आफूलाई विश्वकर्माका सन्तान कल्पना गर्ने केही जातिले शिल्पी शब्दमा जोड दिँदै आएका छन् । जो दलित शब्दभन्दा कमजोर तथा घृणित शब्द हो । त्यसैले, कथित शिल्पी होइन, दलित आन्दोलनलाई अझ प्रभावकारी तथा निर्णायक बनाउनु बुद्धिमत्तापूर्ण हुने देखिन्छ ।

सुझावित समाचार