- प्रतिवेदनले नाइजेरियादेखि अमेरिकासम्म ठुलो मानवीय क्षति हुने भविष्यवाणी गरेको छ र यो पहिले नै जलवायु संकटको विद्यमान प्रभावमा थपिएको अतिरिक्त समस्या हो
जलवायु वैज्ञानिकको एक प्रक्षेपणले आगामी ६ महिनामा ‘सुपर एल निनो’ (अत्यधिक शक्तिशाली एल निनो) ले ल्याउने अतिरिक्त गर्मीका कारण चार लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु हुने देखाएको छ । यो जलवायु संकटका कारण पहिले नै बढेको तापक्रमबाट हुने अकाल मृत्युमाथि अतिरिक्त मृत्यु संख्या हुने वैज्ञानिकले चेतावनी दिएका छन् । सुपर एल निनोको असर इन्डोनेसियादेखि भारत र नाइजेरियादेखि अमेरिकासम्म विश्वभर पर्नेछ । एल निनोले निम्त्याउने खडेरी, डढेलो र बाढीका कारण पनि थप धेरै मानिसको ज्यान जाने अनुमान गरिएको छ ।
वैज्ञानिकहरूले एल निानोबाट सिर्जित थप गर्मीका कारण हुने अतिरिक्त मृत्युको अनुमान क्षेत्रीयस्तरमा गरेका छन् । अनुसन्धानकर्ताले चेतावनीपूर्ण प्रक्षेपणसँगसँगै मानिसको सुरक्षाका लागि अपनाउन सकिने उपाय र ज्यान बचाउन सकिने क्षेत्रको पहिचान गरेका छन् । यस्ता उपायमा गर्मीसम्बन्धी सटिक पूर्वानुमान, मानिसले आश्रय लिन सक्ने ‘कुलिङ सेन्टर’ (शीतलता प्रदान गर्ने केन्द्र) हरूको व्यवस्था, अत्यधिक गर्मीको समयमा स्वास्थ्य केन्द्रमा थप जनशक्ति परिचालन र बाहिर काम गर्ने मजदुरहरूको सुरक्षा बढाउनुपर्ने विषय समावेश छन् ।
हाल पृथ्वीलाई तताइरहेको ‘एल निनो’ले गत सोमबार इतिहासमा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड तोडेको छ । जबकि, यसको चरम अवस्था आउन अझै केही महिना बाँकी नै छ । एल निनोले निम्त्याउने प्रक्षेपित उच्च ताप अघिल्ला घटनाको तुलनामा यति धेरै बढी हुने देखिन्छ कि वैज्ञानिकले यसलाई ‘अकल्पनीय’ र ‘गोड्जिलास्तरको’(अत्यन्त विशाल) भनेका छन् । ‘एल निनो’ प्राकृतिक जलवायु घटना भए पनि विश्वव्यापी तापक्रम वृद्धिले यसलाई थप गम्भीर बनाउन सक्छ ।
‘चार लाख एकाउन्न हजार मानिसको अनुमानित संख्या निकै ठुलो हो । यति धेरै मृत्युले कैयौँलाई स्तब्ध बनाउन सक्छ, तर यो संख्या मात्र होइन, यसको असर आमाबाबु र बालबालिका, हजुरबा–हजुरआमा र छिमेकीहरू, काममा जाने तथा परिवारको हेरचाह गर्नेदेखि आफ्नो जीवन गुजारा गरिरहेका मानिसमाथि पर्नेछ,’ सिकागो विश्वविद्यालयका प्राध्यापक माइकल ग्रिनस्टोनले भने । ‘क्लाइमेट इम्प्याक्ट ल्याब’का सह–संस्थापकसमेत रहेका ग्रिनस्टोनले यो प्रतिवेदन तयार पार्न सह–लेखकको भूमिका निर्वाह गरेका थिए ।
मृत्युको पछिल्लो अनुमान सेप्टेम्बरदेखि फेब्रुअरी २०२७ सम्मको अवधिका लागि हो, जुन समयसम्म हालको तापक्रम पूर्वानुमान उपलब्ध छ । तर, गर्मीका कारण हुने मृत्युको उच्च दर जुन वा जुलाई २०२७ सम्म जारी रहने अपेक्षा गरिएको छ । आगामी ६ महिनाको अवधिमा सबैभन्दा बढी प्रभावित हुने देशहरूमा नाइजेरिया, इन्डोनेसिया, सुडान, भारत र ब्राजिलजस्ता उष्णकटिबन्धीय राष्ट्र पर्छन् । अमेरिका पनि सबैभन्दा बढी प्रभावित हुने शीर्ष २० राष्ट्रको सूचीमा छ, जहाँ गर्मीका कारण थप तीन हजार ५०० मानिसको मृत्यु हुने अनुमान गरिएको छ । व्यापक रूपमा हेर्दा, अफ्रिकाको साहेल क्षेत्र (सहारा मरुभूमिमुनिको भाग) र दक्षिणपूर्वी एसिया यसबाट सबैभन्दा नराम्ररी प्रभावित हुनेछन् ।अनुसन्धानकर्ताले अहिले देखिने ‘एल निनो’ प्रभाव हाम्रो भविष्यको एउटा झलक हुने चेतावनी दिएका छन् । यसले तापक्रमलाई त्यस्तो स्तरसम्म पुर्याउँछ, जुन स्तरको तापक्रम जलवायु संकटका कारण आउँदो २० वर्षमा सामान्य हुने अनुमान छ । ‘आपत्कालीन प्रतिकार्य बढाएर र विभिन्न देशबिच सहकार्य बढाइयो भने धेरैको ज्यान बचाउन सकिन्छ,’ युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेकी सह–लेखिका डा. टम्मा कार्लटनले भनिन् , ‘तर, अबको २० वर्षमा आजको चरम तापक्रम सामान्य बन्नेछ । त्यसैले, ती दिनको तयारीका लागि आगामी वर्षमा ज्यान बचाउन सक्ने उपायको तर्जुमा गर्न, तिनलाई कार्यान्वयन गर्न र तिनको मूल्यांकन गर्न हामीले अहिले नै कदम चाल्नुपर्छ ।’
विश्वभरका २४ हजार ३७८ क्षेत्रमा अधिक तापक्रम र गर्मीका कारण हुने मृत्युबिचको मासिक सम्बन्धको विश्लेषण गर्ने ‘पियर–रिभ्युड’ (विशेषज्ञहरूद्वारा समीक्षा गरिएको) विधि प्रयोग गरेर यी अनुमान तयार पारिएका हुन् । यसलाई आगामी महिनामा ‘एल निनो’का कारण बढ्ने तापक्रमको पूर्वानुमान पनि जोडिएको थियो ।
त्यस्तै यसमा सन् १९९६ देखि २०२५ सम्मको औसत महिनामा गर्मीका कारण हुने मृत्युको संख्यालाई आधार मानिएको थियो । ‘हामीले अहिलेसम्म बालीनालीमा कहिले संकट आउँछ भनेर पूर्वानुमान गर्न र त्यसको पूर्वसूचना दिन सकेका छौँ । यो नयाँ प्रतिवेदनले अझ महŒवपूर्ण नतिजा अर्थात् मृत्युको विषयमा पनि त्यस्तै पूर्वानुमान गर्न सक्ने बाटो खोल्न सकिने देखाएको,’ ग्रिनस्टोनले भने । यो प्रतिवेदन पियर–रिभ्युड’ जर्नलमा पेस गरिनेछ, तर ग्रिनस्टोनका अनुसार परिस्थितिको गम्भीरतालाई हेर्दा ‘यसको प्रकाशन ढिलो गर्नु गैरजिम्मेवारपूर्ण हुनेछ ।’
‘एल निनो’ले खाद्य आपूर्तिमा पनि असर पार्नेछ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले अगस्टमा दिएको एक चेतावनीमा यस परिघटनाले करिब पाँच करोड मानिसलाई चरम भोकमरीको चपेटामा धकेल्न सक्छ । त्यस्तै मूल्यवृद्धि बढाउने सम्भावना पनि छ । सन् १८७७–१८७८ मा आएको शक्तिशाली एल निनोका कारण खडेरी र अनिकालले गर्दा पाँच करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यतिवेला सबैभन्दा बढी प्रभावित हुने देशमा भारत, ब्राजिल र चीन थिए ।
क्यारिंटन वैश्विक जलवायु परिवर्तन, तापवृद्धि र संरक्षण मुद्दाबारे लेख्छन् ।
द गार्जियनबाट