हामीले हाम्रा बाजेबजू वा त्योभन्दा माथिको कतिऔँ पुस्तासम्मलाई सम्झने गरेका छौँ ? यो प्रश्न जति सजिलो छ, यसको जवाफ भने त्यति प्रितिकर छैन । वास्तवमा हामीले गन्न नसक्ने असंख्य मानिसका हेरचाह, माया, जिम्मेवारी, कर्तव्य, सद्भाव, सपना, प्रेरणा र त्यागको गन्न नसक्ने असंख्य शृंखलाबद्ध चरणको अटुटताको कारणबाट हामी आज यहाँ आइपुगेका छौँ । तीमध्ये कसैले सानो हेलचेक्य्राइँ मात्रै गरिदिएको भए हामी आज यहाँ आइपुग्ने थिएनौँ । अझ यसो भनौँ, उनीहरूको ती सवै निःस्वार्थ कर्मको परिणाम हामी हौँ । यसरी उनीहरूले धेरै टाढाबाट आफूलाई ‘हामी’सम्म ल्याइपुर्याएका छन् ।
मानिसको मूल्य
स्पेनका अल्तामिरा गुफाका चित्रका अनुसार तेह्र हजार वर्षअगाडि नै मानिसलाई मृत्युदण्ड दिने व्यवस्था सुरु भइसकेको थियो । वर्ग विभाजनको चरम सीमारेखा कोर्ने ह्यामुरबीको संहिताले समान वर्गको मानिसले समान वर्गको मानिसलाई मार्यो भने मृत्युदण्ड दिने तर उच्चवर्गले निम्न वर्ग वा दासलाई मारेमा मृत्युदण्डको सट्टा आर्थिक क्षतिपूर्तिको रूपमा पैसा वा चाँदी जरिवाना दिएर उन्मुक्ति दिने व्यवस्था गर्यो । उक्त कानुनले दासलाई मानिस नभई मालिकको सम्पत्तिका रूपमा लिन्थ्यो र दासको हत्यालाई हत्या नभएर सम्पत्तिको क्षतिको रूपमा लिन्थ्यो, अनि पीडितको परिवारलाई आर्थिक क्षतिपूर्ति दिएपछि उच्चवर्गको हत्याराले मृत्युदण्डबाट उन्मुक्ति पाउँथ्यो । आर्थिक लाभ र संरक्षण, राज्यको श्रमशक्ति जोगाउने रणनीति, दुर्घटनामा भएको गल्तीलाई छुट दिने ध्येय आदिजस्ता विभिन्न कारणले मृत्युदण्डबाट उन्मुक्ति दिन उक्त व्यवस्था ल्याइएको थियो भन्नेजस्ता विभिन्न कोणबाट विश्लेषण गरिए पनि तत्कालीन समयमा ब्लड मनीको व्यवस्था अन्ततः चरम वर्गीय विभेदको दृष्टिकोणको उपज थियो ।
इशापूर्व ८२ मा लुकियस कोर्नेलियस सुल्लाले आफ्ना राजनीतिक शत्रुको सफायाका लागि उनीहरूको नामको सूची (प्रोस्क्रिप्सन लिस्ट) तयार गरेका थिए । ती व्यक्तिलाई मार्ने वा सुराकी दिनेलाई दुई ट्यालेन्टस् (लगभग ६५ किलो) चाँदी दिने व्यवस्था गरिएको थियो । तत्कालीन समयमा एउटा मानिसको औसत तौलको आधारमा उक्त ‘इनाम’को व्यवस्था गरिएको थियो । त्यस कानुनमा दासले आफ्नो मालिकको टाउको काटेर ल्याएमा उसलाई पैसा मात्र होइन, दासत्वबाटै स्वतन्त्रता दिने कानुनी प्रावधानसमेत राखिएको थियो । सुरक्षा निकायको अभाव, राजनीतिक शत्रु र विद्रोहीको सफाया, जिउँदो अपराधी ओसार्ने कठिनाइ, जेलको खर्चिलो अभावबाट बच्न र समाजमा तीव्र डर र त्रास फैलाई सत्ता र शक्तिमा टिकिरहन मानिसको टाउकोको मूल्य तोक्ने प्रथा (बाउन्टी) को विकास भएको थियो । त्यसले मानिसका लोभहरूलाई अनियन्त्रित मात्र बनाएन कि आपराधिक कार्य गर्न दुरुत्साहित गर्ने कामसमेत गर्यो र मानिस–मानिसबिचको विश्वासमा चरम सन्देह र संकट पैदा गर्यो । समाजमा प्रोफेसनल किलरको विकास भयो । राज्यले नै मानिसको टाउकोको मूल्य तोक्न थालेपछि मानिसको अस्तित्वभन्दा द्रव्यलाई बढी महत्व दिने मानसिकताको विकास भयो, जसले मानवीय संवेदनशीलता र नैतिक मूल्यलाई ध्वस्त पार्यो र मानव जीवन मूल्यको अवमूल्यन गर्ने दृष्टिकोणको विकास भयो ।
विभिन्न महामारी र प्राकृतिक प्रकोपबाट भएका क्षतिपश्चात् मानिसले सामूहिकता, सहयोगी भावना र एकताका भावनालाई थप मजबुत गर्दै लगे । तर, संसारमा भएका ठुल्ठुला युद्धले नैतिकता र मानवीय गरिमाको पतन, चरम अविश्वास र सामाजिक विभाजन, साथै सामूहिक मनोवैज्ञानिक आघातमार्फत मानव जीवन मूल्यको अवमूल्यन गरे । होलोकास्टमा मारिएका ६० लाख मानिसको जीवन केबल ‘हताहतीको संख्या’मा सीमित भए । तिनीहरूको अस्तित्व, सपना र परिचय हराए । आज पनि विभिन्न युद्धले हिंसालाई सामान्यीकरण नै गरिरहेका छन् । त्यस्ता युद्धले आज मानव जीवन मूल्यप्रति मानिसको उपभोक्तावादी दृष्टिकोणलाई सबैतिर उदांगो पारिदिएको छ ।
कुनै पनि मानिसले अर्को मानिसको जीवनको मूल्य बुझिरहेको छैन भने मानव जीवन मूल्यको अवमूल्यनमार्फत उसले आफ्नो जीवनको मूल्यलाई पनि क्रमशः गुमाइरहेको हुन्छ । कुनै पनि व्यक्तिको जीवन मूल्य मानव जीवन मूल्यदेखि निरपेक्ष विषय होइन ।
दण्डहीनता
आज विश्वमा भइरहेका कुनै अन्तर्राष्ट्रिय द्वन्द्व हुन् वा कुनै गृहयुद्ध अथवा कुनै विद्रोह, त्यसको अगाडि–पछाडि वा दायाँबायाँ दण्डहीनताको चाङ जोकोहीले देख्न सक्छ । इरान, इजरायल र अमेरिकाको युद्धमा बालबालिका पढ्ने विद्यालयमा मिसाइल खस्दा बालबालिका र शिक्षक मारिँदा होस् वा अस्पतालमा बम खस्दा बिरामी र स्वास्थ्यकर्मी मारिँदा होस् वा रुस– युक्रेन युद्धमा प्रसूति तथा बाल अस्पताल (बाल क्यान्सर अस्पतालमा समेत) र विद्यालयमा बम खस्दा बालबालिका, आमाबाबु, स्वास्थ्यकर्मी र शिक्षक मारिँदा होस्, त्यस्ता कार्य गर्ने कुनै पनि व्यक्ति, संस्था वा राष्ट्र हालसम्म दण्डित भएका छैनन् । यस्ता कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी र दण्डनीय भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, संस्थागत जिम्मेवारी तथा क्षमता र उद्देश्यपूर्ण ध्येयको अभावका कारण दण्डहीनताको स्थितिबाट गुज्रने गरेका छन् ।
दण्डहीनताले दण्डनीय कार्यलाई सामान्यीकरण गर्छ र पीडकलाई दुरुत्साहित गर्दै दण्डनीय कार्यको निरन्तरताका लागि सुनिश्चितता प्रदान गर्छ, साथै पीडितलाई त्यसको स्वाभाविक भागिदार बन्नका लागि समेत तयार हुन बाध्य गराउँछ । दण्डहीनता अकर्मण्यता र गैरजिम्मेवारीपन मात्र होइन । यो त राज्यको पीडकप्रतिको पक्षधरता र पीडितप्रतिको चरम दमनको समर्थन र स्वीकार्यता हो ।
राज्यको दण्डहीन चरित्रले ‘आमनागरिक’मा रहेको राज्यको अस्तित्व र औचित्यप्रतिको विश्वास धराशयी हुन पुग्छ र यसले नागरिकमा असुरक्षित भावनाको विकास गराउँछ । यसबाट नागरिकको व्यवहारमा ‘वातावरण’, ‘व्यवस्था’ र ‘स्वकर्म’भन्दा ‘अन्धविश्वास’, ‘प्रारब्ध’, ‘नियति’, ‘भागिदार’, ‘अभिशप्त’, ‘निरीह’ आदि जस्ता अवधारणागत मनोविज्ञान निर्णायक हुने अवस्था बन्छ । यस्ता अवधारणागत मनोविज्ञानले वस्तुतः मानव जीवन मूल्यको अवमूल्यन गर्छन् । दण्डहीनताले अराजकतालाई प्रश्रय दिन्छ र समाजमा हत्या, हिंसा र अपराधको बिउ रोप्छ । दण्डहीनतापश्चात् हत्या, हिंसा र अपराध वृद्धि हुनुको अन्तर्यमा प्रमुख कारण नै त्यही हुन्छ ।
परपीडन र आत्मपीडन प्रवृत्ति दुवै हत्या, हिंसा र अपराधकै प्रारम्भिक स्वरूप हुन्, जसको मुहान दण्डहीनता नै हो । हामीले पछिल्ला हत्या, हिंसा र अपराधका प्रकृति र त्यसका वृद्धिलाई नियाल्यौँ भने ती कति कहालीलाग्दो स्थितितर्फ उन्मुख हुँदै गइरहेका छन् भनेर देख्न सक्छौँ । त्यस्ता घटना सूचना र प्रविधिको तीव्रतम् विकासको कारणले हाम्रो जानकारीमा आएका मात्र हुन्, वास्तवमा त्यस्ता घटना पहिला पनि हुन्थे भनेर सामान्यीकरण गर्ने भाष्य हाबी हुँदै गइरहेको देखिन्छ । कुनै पनि मानिसले आफ्नो जीवनको उत्तरार्द्धमा पुगेर कुनै अपराध गर्छ भने त्यो मानिसले गरेको संश्लेषण वास्तवमा दण्डहीनताबाहेक अरू केही पनि होइन ।
दण्डहीनता र कानुन कार्यान्वयनको उदासीनताले आमनागरिकमा संस्थागत आघात, चरम असहायको विकास र पीडितको उत्पीडनमा पुनरावृत्ति हुन्छ र अन्तमा उसको मस्तिष्क आत्मसमर्पण गर्ने स्थिति पुग्छ । विकल्पको सम्भावना सकिएपछि उत्पन्न हुने चरम निराशाको स्थितिपश्चात् मात्र मानिसको मस्तिष्कले आत्मसमर्पण गर्छ । वास्तवमा राज्यको दण्डहीन प्रवृत्तिको कारण आत्महत्या दुरुत्साहन हुन्छ भने नैतिक रूपले त्यो राज्यद्वारा गरिएको संरचनात्मक हत्यासरह नै हो ।
दण्डहीनता केवल कानुनी कमजोरी मात्र होइन, यो चिन्तन प्रणाली र दृष्टिकोणको समस्या हो, जसले आत्मपीडनको सन्दर्भमा मानिसको बाँच्ने चाहना र जीवनको गरिमा साथै परपीडनको सन्दर्भमा ग्लानि, पश्चात्ताप, अपराधको बोध र सजायको डरको अभावद्वारा हत्या, हिंसा र अपराधलाई दुरुत्साहित गर्छ । दण्डहीनताका कारण विश्वमा आज हाम्रा सामाजिक मूल्य तीव्र रूपले पतन भइरहँदा नैतिकताको सट्टा जोरजुलुमको संस्कृति, सामूहिक विश्वासको अन्त्य, राज्यप्रति चरम निराशा र आक्रोश अनि मानवीय संवेदनशीलतामा ह्रास आइरहेको छ ।
दण्डहीनताले मानव जीवन मूल्यको अवमूल्यन गर्ने र हत्या, आत्महत्या, हिंसा र अपराध बढाउने भएकाले मानव जीवन मूल्यको गरिमा बढाई शान्ति सुव्यवस्था कायम गर्न दण्डहीनताको अन्त्य गर्नु अपरिहार्य छ, जुन कार्यले मात्र नागरिकमा राज्यको वाउन्टी र प्रोस्क्रिप्सन लिस्ट व्यवस्थाको परिवर्तित र विस्तारित स्वरूपको सन्देह र भयबाट मुक्त समाजको प्रत्याभूति दिन सक्छ र मानव जीवन मूल्यको वास्तविक मूल्यांकन गर्न सक्छ ।