सैनिक महिला संघको पहलमा ८५ दिनमै प्रसूति केन्द्र निर्माण

शुक्रबार, ६ चैत, २०७७
डिजिटल संस्करण

मकवानपुरको कैलाश गाउँपालिकामा ८५ दिनमै प्रसूति केन्द्र निर्माण गरिएको छ । सैनिक श्रीमती संघको पहलमा प्रसूति केन्द्र निर्माण गरिएको हो । स्वास्थ्यचौकीमा प्रसूति सुविधा नहुँदा यहाँका अधिकांश महिला घरमै सुत्केरी हुने गरेका छन् । भौगोलिक विकटता र यातायातको असुविधाका कारण व्यथा लागेपछि अस्पतालसम्म पुर्याउन पनि समस्या हुने गरेको छ । त्यसैले प्रसूति केन्द्र निर्माण गर्न सैनिक श्रीमती संघले अगुवाइ गरेको थियो । सीमान्तीकृत समुदायको बसोवास रहेको कैलाश गाउँपालिका क्षेत्रमा व्यवस्थित प्रसूति सेवा अभाव रहेको थाहा पाएपछि केन्द्र निर्माणको योजना अघि सारिएको संघकी अध्यक्ष दीपा थापाले बताइन् ।

५९ लाख ५१ हजार पाँच सय १६ रुपैयाँमा केन्द्र निर्माण गरिएको हो । गत ९ पुसमा शिलान्यास गरिएको केन्द्र ८५ दिनमा निर्माण गरिएको निर्माणमा खटिएका पुरानो गोरख गणका मेजर दीपेन्द्र सिंहले जानकारी दिए । केन्द्र निर्माणमा नेपाली सेनाको टोली परिचालित थियो । मध्यपृतना हेडक्वार्टर ७ नम्बर बाहिनी र मकवानपुरमा तैनाथ पुरानो गोरख गणले प्रसूतिगृह निर्माणमा सहयोग गरेको थियो । प्रसूति केन्द्र निर्माणसँगै अब घरमै सुत्केरी हुनुपर्ने समस्या न्यूनीकरण हुने गाउँपालिका अध्यक्ष टंक मोक्तानले विश्वास व्यक्त गरे ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच बिहीबार प्रसूति केन्द्र उद्घाटन गरे । उद्घाटनसँगै प्रसूति केन्द्र व्यवस्थित सञ्चालन र सेवा प्रदानका निम्ति कैलाश गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष मोक्तानले अब गाउँपालिकाको व्यवस्थापनमा नियमित रूपमा केन्द्र सञ्चालन हुने बताए । 

विपन्नको दुःखमा नेपाली सेना साथ छ : प्रधानसेनापति
प्रसूति केन्द्र उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना विपन्न र गरिब समुदायको दुःखमा साथ दिन तयार रहेको बताए । उनले विकट क्षेत्रका महिलाहरूको सुरक्षित प्रजननका लागि प्रसूति केन्द्र महत्वपूर्ण रहेको बताए । ‘सेना जनताको दुःखमा साथसाथै हुनेछ,’ उनले भने, ‘अझ बढी विपन्न, गरिबका लागि सहयोग गर्न सेना पछि हट्नेछैन ।’ 

थापाले देशको कुनाकन्दरामा सेनाको उपस्थिति रहेको र त्यहाँ हुने हरेक समस्या समाधानमा भूमिका निर्वाह गर्दै आएको दाबी गरे । प्रसूति केन्द्र उद्घाटन गर्न कैलाश गाउँपालिका आइपुगेको नेपाली सेनाले विपन्न परिवारलाई कपडा पनि सहयोग गरेको थियो । सेनाले कैलाश–८ का चार सय ८० विपन्न परिवारलाई न्यानो कपडा र ब्ल्यांकेट उपलब्ध गराएको हो ।

सुझावित समाचार