भोटेकोशी बाढीले त्रिशूली नदीका पुल बगाएपछि अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकका लागि बागमती प्रदेश सरकारले नुवाकोटको विदुर नगरपालिकामा आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवा सुरु गरेको छ। पुल बगेर त्रिशूली अस्पतालसँगको सहज पहुँच टुटेका क्षेत्रका बासिन्दालाई स्थानीयस्तरमै उपचार उपलब्ध गराउने उद्देश्यले चार शय्याको आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो।
बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विदुरस्थित पिपलटारमा रहेको आयुर्वेद अस्पतालका केही कोठा व्यवस्थापन गरी स्थापना गरिएको केन्द्रको शुभारम्भ गरेका छन्। प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र विश्व स्वास्थ्य संगठन डब्लुएचओको सहयोगमा केन्द्रबाट आकस्मिक, बहिरंग तथा प्रसूति सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली नदीसम्म फैलिँदा पुल बगेपछि जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकासहित अन्य क्षेत्रका नागरिकलाई समेत त्रिशूली अस्पताल पुग्न कठिनाइ छ। सडक र पुलको पहुँच अवरुद्ध भएपछि सामान्य उपचारका लागिसमेत काठमाडौं जानुपर्ने बाध्यता सिर्जना भएको थियो।
स्वास्थ्य केन्द्रको शुभारम्भ गर्दै मुख्यमन्त्री थापाले विपत् प्रभावित नागरिकलाई उपचारबाट वञ्चित हुन नदिन प्रदेश सरकारले उपलब्ध स्रोत र जनशक्ति परिचालन गर्ने बताए। ‘परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सुरु गरेका छौँ। अब नुवाकोटवासीले आधारभूत स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्नेछ,’ उनले भने।
मुख्यमन्त्री थापाका अनुसार पुल नहुँदा प्रादेशिक अस्पतालसम्म पुग्न कठिनाइ भइरहेको अवस्थामा डब्लुएचओको सहयोगमा आकस्मिक तथा आधारभूत स्वास्थ्य सेवासँगै भिडियो परामर्श सेवासमेत सुरु गरिएको छ। विश्व स्वास्थ्य संगठनले पनि भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा पहुँच अवरुद्ध भएको र अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता कायम राख्न सरकारी निकायसँग सहकार्य गरिरहेको जनाएको छ।
मुख्यमन्त्री थापाले केन्द्रमा स्वास्थ्य उपकरण, औषधि र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता जनाए। आवश्यक स्वास्थ्यकर्मी अन्य प्रादेशिक अस्पतालबाट खटाउने र त्यसबाट पनि अपुग भए करारमा जनशक्ति नियुक्त गर्न बजेट व्यवस्थापन गरिने उनको भनाइ थियो।
पाँच झोलुंगे पुलका लागि छोटो अवधिको बोलपत्र आह्वान गरिने
स्वास्थ्य सेवा सुरु गरेसँगै मुख्यमन्त्री थापाले बाढीले विच्छेद भएको सडक तथा पुलको सम्पर्क पुनर्स्थापना गर्ने योजना पनि सार्वजनिक गरे। उनले रसुवादेखि नुवाकोटसम्म अति आवश्यक पाँच स्थानमा तत्काल झोलुंगे पुल निर्माण गर्ने जानकारी दिए।
ती स्थानमा पुल निर्माणका लागि छोटो अवधिको बोलपत्र आह्वान गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइसकेको उनको भनाइ छ। ‘रसुवादेखि नुवाकोटसम्मका अति आवश्यक पाँच स्थानमा झोलुंगे पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छु,’ उनले भने।
बाढीले पुल र सडक बगाउँदा प्रभावित बस्तीका नागरिकलाई आवतजावत, दैनिक उपभोग्य वस्तुको ढुवानी र स्वास्थ्य सेवा लिन समस्या भइरहेको छ। विदुर नगरपालिकाका बाढी प्रभावित क्षेत्रमा बेलिब्रिज जडान गरेर आवागमन सहज बनाउनुपर्ने आवश्यकता स्थानीय जनप्रतिनिधिले पनि उठाउँदै आएका छन्।
मुख्यमन्त्री थापाका अनुसार बागमती प्रदेश सरकारसँग उपलब्ध ५०–५० मिटर लम्बाइका दुई बेलिब्रिज एक साताभित्र जडानका लागि तयार हुनेछन्। स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरी आवश्यकता तथा प्राथमिकताका आधारमा ती पुल दुई स्थानमा जडान गरिने उनले बताए।
यसका अतिरिक्त नेपाली सेनासँग समन्वय गरी पुरानो अर्को बेलिब्रिज पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। तत्कालका लागि अस्थायी पुलबाट यातायात सम्पर्क जोड्ने र दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माणको अध्ययनसमेत सुरु भएको मुख्यमन्त्री थापाले जानकारी दिए।
पुल नबनेका स्थानमा तत्काल वैकल्पिक सडक खोल्ने विषयमा पनि काम अघि बढाइएको उनको भनाइ छ। त्यसका लागि पूर्वमुख्यमन्त्री तथा अन्य जनप्रतिनिधिबाट प्राप्त सुझावलाई आधार बनाइएको उनले बताए।