बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राजनीतिक दाउपेच र सत्तामुखी प्रवृत्ति हाबी हुँदा लोकतन्त्र कमजोर हुने बताएका छन्। राजनीतिक दलभित्र देखिने आन्तरिक कलह र फुटले लोकतान्त्रिक अभ्यास तथा अग्रगामी परिवर्तनमा गम्भीर समस्या सिर्जना गर्न सक्ने भन्दै देवकोटाले व्यक्तिभन्दा संगठन ठुलो हुने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।
मदन भण्डारी फाउन्डेसन मकवानपुरको २७औँ स्थापना दिवस तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै देवकोटाले राजनीतिक संस्कारका सकारात्मक पक्षलाई बलियो बनाउन आग्रह गरे। उनले राजनीतिक विचारलाई नारामा सीमित नराखी जनताको दैनिक जीवनमा अनुभूत हुने परिणामसँग जोड्नुपर्ने बताए।
राजनीति समाज परिवर्तनको माध्यम भएकाले त्यसको अन्तिम केन्द्रविन्दु नागरिकको जीवन, सम्मान र भविष्य हुनुपर्ने उनको भनाइ थियो। ‘विचार तब मात्र जीवन्त हुन्छ, जब त्यसले समाजलाई अपेक्षित परिवर्तनको दिशानिर्देश गर्छ,’ उनले भने, ‘यदि विचार क्रिया अर्थात् व्यवहार र प्रयोगमा आएन भने त्यो मस्तिष्कमा विषसरह भएर रहन्छ।’
प्रदेश प्रमुख देवकोटाले नागरिकमा राजनीतिक चेतना बढ्दै गएको अवस्थामा सुशासन, जवाफदेहिता र परिणामप्रतिको अपेक्षा पनि तीव्र बनेको बताए। राजनीतिक नेतृत्वले बदलिँदो समाज र नयाँ पुस्ताको चाहनालाई बुझेर काम गर्नुपर्नेमा उनले जोड दिए।
सूचना र प्रविधिले मानिसलाई नयाँ धारमा ल्याए पनि सामाजिक दूरी बढिरहेको, युवामा असन्तुष्टि देखिएको तथा अवसर र रोजगारीका चुनौती कायमै रहेको उनले बताए। राजनीतिक विचार र गतिविधिले यस्ता समस्या सम्बोधन गर्न सक्नुपर्ने उनको भनाइ थियो।
प्रदेश प्रमुख देवकोटाले मदन भण्डारीको राजनीतिक जीवन नेपालको लोकतान्त्रिक तथा वाम आन्दोलनमा बहस, अनुसन्धान, समयसापेक्ष परिवर्तन र जनसम्बन्धलाई नयाँ आयाम दिने महत्त्वपूर्ण अध्याय भएको बताए। बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, मदन भण्डारी र मनमोहन अधिकारीलगायतका व्यक्तित्वले नेपालको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणमा योगदान पुर्याएको चर्चा गर्दै उनले राजनीतिक विचारलाई समयको आवश्यकताअनुसार व्यवहारमा उतार्नुपर्ने बताए।
कार्यक्रममा श्रीचन्द्र शर्मा स्मृति सम्मानसमेत प्रदान गरिएको थियो। निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा भूमिगत राजनीतिक नेताहरूलाई आफ्नै घरमा आश्रय र संरक्षण दिएकी मकवानपुरकी तिलकुमारी ढकाललाई ‘श्रीचन्द्र शर्मा स्मृति सम्मान– २०८३’बाट सम्मानित गरिएको हो।
ढकाललाई उक्त सम्मान प्रदेश प्रमुख देवकोटासहित बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले संयुक्त रूपमा प्रदान गरेका थिए। २००१ साउन २५ गते बकैया गाउँपालिका– ११ मा जन्मिएकी ढकालले पञ्चायती शासनको कठोर र जोखिमपूर्ण अवस्थामा मकवानपुरको तत्कालीन विकट क्षेत्र ठिंगनमा प्रतिबन्धित पार्टीका भूमिगत नेताहरूलाई आफ्नो घरमा सुरक्षित आश्रय दिएकी थिइन्।