दाङ/ लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी पदमा बहाल रहेकै अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित भएकी छिन्। उनी भर्खरै भएको प्रदेश अधिवेशनबाट तीन उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन्।
दाङको लमहीमा बुधबार भएको अधिवेशनबाट खाँड २६६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी ध्रुवबहादुर रायमाझीले १७५, जनक केसीले १३ र तोयानाथ लम्सालले २० मत ल्याएका निर्वाचन समितिका सदस्य कमल न्यौपानेले बताए।
खाँड उपसभामुख बहाल रहेकै अवस्थामा पार्टीको जिम्मेवारी लिएपछि कानुनी अभ्यास र नैतिकताको प्रश्न उठेको छ। नेपालको संसदीय अभ्यासमा उपसभामुख वा सभामुख निर्वाचित भएपछि सम्बन्धित दलको जिम्मेवारीबाट अलग हुने अभ्यास छ। यद्यपि, यो बाध्यकारी व्यवस्था नभएको खाँडको तर्क छ।
उपसभामुखसँग प्रदेश सभामा मतदानको अधिकार (भोटिङ राइट्स) रहने भएकाले संवैधानिक व्यवस्था सभामुखको भन्दा फरक रहेको उनले बताइन्। तर, पार्टीले निर्देशन दिए आफू उपसभामुख पदबाट राजीनामा दिन तयार रहेको उनले प्रस्ट पारेकी छिन्।
‘संवैधानिक रूपमा राजीनामा दिनुपर्ने व्यवस्था नभए पनि नैतिकताको कुरा रहन्छ। कानुनले वर्जित गरेको त छैन, तर व्यवहारमा तटस्थताको मान्यता भने छ,’ उनले भनिन्, ‘राजीनामाको सवालमा मेरो लागि ठुलो कुरा छैन, पार्टीले भन्यो भने जति वेला पनि दिन तयारी अवस्थामा छु।’