ह्विप उल्लंघन गर्ने राप्रपा बागमतीका पाँच सांसदलाई कारबाही सिफारिस

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा आफ्ना पाँच प्रदेश सभा सदस्यलाई कारबाही गर्न सिफारिस गरेको छ। संसदीय दलले उनीहरूलाई प्रदेश सभा सदस्यबाट हटाउन सभामुखसमक्ष सिफारिस गरेको हो।

राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउँदै पूर्वसभामुखसमेत रहेका सांसद भुवनकुमार पाठकसहित पाँचजनालाई पदबाट हटाउन माग गरेका छन्।

कारबाही सिफारिस गरिएका अन्य सांसदमा कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा रहेका छन्।
राप्रपा बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने निर्णय गरेपछि आफ्ना सांसदलाई अनिवार्य रूपमा प्रदेश सभा बैठकमा उपस्थित भएर पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।

संसदीय दलको पत्रअनुसार गत भदौ २ गते बसेको संसदीय दलको बैठकले राप्रपा बागमती प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो। त्यसपछि मुख्यमन्त्री थापामगरले प्रदेश सभामा विश्वासको मत लिने भएपछि भदौ ७ गते बसेको संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार प्रमुख सचेतकमार्फत पार्टीका प्रदेश सभा सदस्यलाई बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको पत्रमा उल्लेख छ। तर, पाठकसहित पाँच सांसद उक्त ह्विप उल्लंघन गर्दै प्रदेश सभाको बैठकमा अनुपस्थित भएको संसदीय दलले जनाएको छ।

ह्विप उल्लंघन गरेको आरोपमा संसदीय दलले उनीहरूलाई स्पष्टीकरणको मौकासमेत दिएको थियो। पार्टी विधान तथा संसदीय दलको विधान, २०७९ बमोजिम कारबाही किन नगर्ने भन्दै भदौ १७ गते बसेको संसदीय दलको बैठकले पाँचैजनासँग ७२घण्टे स्पष्टीकरण माग गरेको थियो।

तर, तोकिएको समयसीमाभित्र कुनै पनि सांसदले स्पष्टीकरणको जवाफ नदिएको प्रमुख सचेतक तामाङले प्रदेश सभा सचिवालयमा पठाएको पत्रमा उल्लेख गरेका छन्।

स्पष्टीकरणको जवाफ नआएपछि संसदीय दलले उनीहरूलाई प्रदेश सभा सदस्यबाट हटाउने निर्णय गरेको जनाएको छ। सोही निर्णयअनुसार सभामुखलाई औपचारिक जानकारी गराउँदै पदबाट हटाउने प्रक्रिया अघि बढाउन सिफारिस गरिएको हो।

सुझावित समाचार