बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बकुलहर रत्ननगर प्रादेशिक अस्पतालको निर्माणाधीन भवन समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कानुनी कारबाही अघि बढाउने बताएका छन्। निर्माणको म्याद सकिँदासमेत काम पूरा नगर्ने र सम्पर्कमा नआउने निर्माण व्यवसायीको ठेक्का रद्द गर्नेदेखि बैंक ग्यारेन्टी रोक्नेसम्मको प्रक्रिया अघि बढाउने उनको चेतावनी छ।
यसअघि पनि बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवनको काममा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई समयमै काम सक्न लिखित प्रतिबद्धता जनाउन निर्देशन दिइएको थियो। मुख्यमन्त्री थापाले अस्पतालहरूको स्तरोन्नति, जनशक्ति व्यवस्थापन, उपकरण थप र विशेषज्ञ सेवा विस्तारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। तर, पर्याप्त जनशक्ति र भवन अभावका कारण अपेक्षाअनुसार सबै सेवा विस्तार गर्न समस्या भइरहेको उनको भनाइ छ।
उनले बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दै गएको उल्लेख गर्दै आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ स्वीकार्य नहुने प्रस्ट पारे। ‘काम गर्ने समय सकिँदा पनि भवन निर्माण पूरा नगर्ने र सम्पर्कमा समेत नआउने निर्माण व्यवसायीको ठेक्का रद्द गर्नेदेखि कानुनी कारबाही र बैंक ग्यारेन्टी रोक्नेसम्मको प्रक्रिया अघि बढाइन्छ,’ उनले भने।
स्वास्थ्य चौकीबाट स्तरोन्नति हुँदै प्रादेशिक अस्पताल बनेको बकुलहर रत्ननगर अस्पतालमा दैनिक औसत १२ सयसम्म बिरामी सेवा लिन आउने गरेको मुख्यमन्त्री थापाले बताए। बिरामीको चापसँगै अस्पतालमा थप विशेषज्ञ सेवा तथा उपकरण आवश्यक रहेको उल्लेख गर्दै उनले सिटी स्क्यान सेवाका लागि चालू वर्षमै बजेट व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए।
प्रदेशका नागरिक सामान्य तथा विशेषज्ञ उपचारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता कम गर्ने गरी प्रादेशिक अस्पतालहरूको क्षमता बढाउँदै लगिने उनको भनाइ छ। ‘नागरिक उपचारका लागि अर्को जिल्ला धाउनुपर्ने अवस्था घटाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि अस्पतालमा विशिष्टीकृत र विशेषज्ञ सेवा विस्तार गर्दै लैजान्छौँ।’
सरकारी अस्पतालप्रति नागरिकको विश्वास र बिरामीको चाप दुवै बढेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले सेवा विस्तारसँगै जनशक्ति, उपकरण र भौतिक पूर्वाधार पनि थप्नुपर्ने बताए। थापाले प्रदेशका स्वास्थ्य संस्थामा प्रविधिमा आधारित सेवा विस्तारको कामसमेत अघि बढाइएको बताए। प्रदेशमातहतका अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुरु गरिएको र आधारभूत अस्पतालमा विशेषज्ञ जनशक्ति तथा उपकरणको कमीलाई परामर्श सेवामार्फत सम्बोधन गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
उनका अनुसार हेटौँडा, भक्तपुर र सिन्धुली अस्पताललाई ‘टेलिमेडिसिन हब’का रूपमा विकास गरी २४सै घण्टा परामर्श उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। प्रदेशका ३९६ आधारभूत अस्पतालसँग उक्त सेवाको पहुँच विस्तार गर्ने योजना रहेको उनले बताए।
स्वास्थ्य मन्त्रालयको सेवा पनि क्रमशः डिजिटल बनाउने काम सुरु भएको उनले जानकारी दिए। डिजिटल एप, अनलाइन टिकट र इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) प्रयोग गरी स्वास्थ्य सेवा तथा प्रशासनलाई ‘पेपरलेस’ बनाउने लक्ष्य रहेको उनले बताए।