नेकपा कर्णालीले एकमहिने संगठन विस्तार अभियान सञ्चालन गर्ने

सोमबार, ५ असोज, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समितिले एकमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ। सोमबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै प्रदेश समितिले अभियानबारे जानकारी दिएको हो।

प्रदेश समितिको बैठकले असोज महिनाभर संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। एकमहिने अभियानमा पार्टी सदस्यता नवीकरणलाई तीव्रता दिने प्रदेश संयोजक विमला केसीले जानकारी दिइन्।

‘अभियानअन्तर्गत प्रत्येक केन्द्रीय सदस्यको नेतृत्वमा सम्बन्धित स्थानीय तह र प्रदेश समितिका सदस्य तथा स्थानीय तहका पदाधिकारी सम्मिलित संयुक्त टोली गठन गरिनेछ,’ उनले भनिन्, ‘टोलीले सदस्यता नवीकरणको कामलाई व्यापक र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नेछन्।’

टोलटोलमा पुगेर सदस्यता नवीकरणको महत्व, पार्टीको राजनीतिक तथा वैचारिक कार्यदिशा, देशको समसामयिक अवस्था र पार्टी सदस्यको जिम्मेवारीबारे भेला तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णय बैठकले गरेको संयोजक केसीले बताइन्।

‘महाधिवेशनपछि पार्टी कस्तो बनाउने भन्ने विषयमा जनस्तरसम्म छलफल गर्नेछन्,’ उनले भनिन्, ‘पार्टीभित्रको अनुगमन तथा मूल्यांकन प्रणाली कस्तो हुनुपर्छ भन्नेबारे लिखित सुझाव संकलन गरी प्रदेश समितिमा बुझाउने निर्णय गरिएको छ।’

त्यस्तै, कर्णाली प्रदेशमा सदस्यता नवीकरणको काम थप प्रभावकारी ढंगले अगाडि बढाउन विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको नेकपा कर्णाली प्रदेश प्रचार विभागका प्रमुख मोहन शाहीले जानकारी दिए।

सुझावित समाचार