कोरोना भाइरसको नयाँ बेलायती, दक्षिण अफ्रिकी र ब्राजिली रूपभेद (भेरिएन्ट)का विषाणुले महामारीलाई झन् जटिल बनाएका छन्
दुई महिनाअघि अमेरिका र युरोपका देशमा कोभिडविरुद्ध आशाप्रद खोपहरू प्रयोगमा आउन सुरु हुँदै गर्दा महामारीको अर्काे दुर्दम्य आक्रमणको लहर पनि फैलिसकेको थियो । त्यसैले त्यता महामारीको अवस्था अझै पनि निकै कहालीलाग्दो अवस्थामै देखिन्छ, यद्यपि खोप कार्यक्रमको विस्तार र जनस्वास्थ्यका कार्यक्रमहरूले गर्दा महामारी बिस्तारै घट्न थालेको छ ।
हालसम्म एसियालाई नछोइसकेको तर पश्चिमी गोलार्द्धलाई आक्रान्त पारेको महामारीको यो पछिल्लो छाललाई तीन महादेशमा छुट्टाछुट्टै विकसित भएर लगभग सबै महादेशमा पुगिसकेका कोरोना भाइरसको नयाँ बेलायती, दक्षिण अफ्रिकी र ब्राजिली रूपभेद (भेरिएन्ट)का विषाणुले झन् जटिल बनाएका छन् । यी फैलिन थालेपछि थप करोडौँ मान्छे महामारीको सिकार हुँदै छन् ।
जनस्वास्थ्यविद्हरूलाई बेलायतीभन्दा पनि बढी चिन्ता दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएका नयाँ रूपभेदहरूको छ, जसले पहिले संक्रमण भइसकेकाहरूमा रहेको रोगप्रतिरोधी क्षमतालाई परास्त गरेर पुनः संक्रमण गराउन सक्ने प्रशस्त संकेत देखिएका छन् । ब्राजिलको मनाउस सहरमा ७५ प्रतिशत जनसंख्यालाई संक्रमण भइसकेकाले बाँकी संक्रमण नभइसकेकाहरू पनि सुरक्षित रहन सक्ने सामूहिक रोगप्रतिरोधको अवस्था (हर्ड इम्युनटी)मा पुगिसकेको भनिएको थियो । तर, त्यही सहर अहिले नयाँ रूपभेद फैलिन थालेपछि स्वास्थ्य सेवा प्रणालीले धान्न नसक्ने, अक्सिजनको चरम अभाव हुने अवस्थाबाट गुज्रिरहेको छ ।
ब्राजिल र दक्षिण अफ्रिका दुवैका रूपभेद बेलायतका जस्तै बढी संक्रमणशील त देखिन्छन् नै, तिनले नयाँ खोपहरूको प्रभावकारितालाई पनि चुनौती दिने बलिया आधार देखिँदै छन् । अहिले नयाँ रूपभेदको महत्व बुझेर अरू देशले पनि जिनोम सिक्वेन्सिङ गर्न सक्रियता देखाएपछि थुप्रै नयाँ रूपभेद धेरै देशमा पत्ता लागिसकेका छन् । यद्यपि, ती साँच्चै महामारीशास्त्रीय दृष्टिकोणले महत्वपूर्ण छन् कि छैनन् भन्ने पत्ता लाग्न बाँकी छ ।
यसैबीच यी ब्राजिल र दक्षिण अफ्रिकाका रूपभेदमा भेटिएको सबैभन्दा घातक मानिने उत्परिवर्तन (म्युटेसन) अब बेलायती रूपभेदमै पनि बेलायतका धेरै स्थानमा स्वतन्त्र रूपले विकास भएको भेटिएको छ । यस्ता समाचार पढ्दा कीर्तिमानी अवधिमै विकास गरिएका भनिएका खोपहरूभन्दा विषाणु सधैँ दुई कदमअगाडि नै रहेर झन्–झन् नयाँ महादैत्य विषाणुको रूपमा विकसित हुँदै जाने र विश्वसमाजलाई वर्षाैंसम्म आक्रान्त पारिरहने डर एकाएक बढेर गएको छ ।
पश्चिमी गोलाद्र्धमा भन्दा विपरीत नेपालमा चाहिँ महामारी ओरालो लागिरहेको जस्तो देखिन्छ । कम्तीमा सरकारी निकायहरूले दिएका परीक्षणबारेका सूचनाले त्यस्तै देखाउँछन् । महामारीको दिशाबारे अलिक भरपर्दाे रूपमा सूचना दिन त तब मात्र पाइन्छ, जब पिसिआर परीक्षण सही समूहमा र पर्याप्त मात्रामा हुन्छ । यहाँ वास्तविक नयाँ संक्रमितको संख्याभन्दा धेरै सानो संख्यामा मात्र नयाँ संक्रमितहरूको सूचना आइरहेको अनुमान त सजिलै लगाउन सकिन्छ नै । दुःखको कुरा, यहाँ कोभिडसम्बद्ध मृत्युको आँकडा पनि वास्तविकभन्दा एकदम कम संख्यामा दर्ता भएको छ । आर्यघाटमा दैनिक ल्याइने मृतकको संख्या पहिले–पहिलेको भन्दा विगतका केही महिनामा अढाई गुणा बढी रहेको पशुपति क्षेत्र विकास कोषका पदाधिकारीकै बयानबाट देखिन्छ ।
यति हुँदाहुँदै पनि के स्पष्ट हुँदै गएको छ भने संक्रमणको भार अझै पनि धेरै हुँदाहुँदै पनि बिस्तारै महामारीको वक्ररेखा ओरालो लाग्न थालेकै हो । छिमेकी भारतमा विगत केही महिनामा धेरै सहरमा भएका अध्ययनले पनि आधाजसो जनसंख्यालाई संक्रमण भइसकेको पुष्टि भएकाले पनि नेपालमा पनि ठूला सहरहरूमा सायद त्यस्तै अवस्था आइसकेको अनुमान गर्न सकिन्छ । काठमाडौं उपत्यकाबाहिर सायदै कसैले मास्क लगाएको भेटिन्छ । बजार, सार्वजनिक बस, सबैतिर खचाखच भीड लागिरहेको र विभिन्न तहका शिक्षालय पूर्ववत् पूरै खुलेको पनि केही महिना नै भइसके । सोध्दै जाँदा घरैपिच्छेजस्तो केही महिनाअघि एकभन्दा बढी परिवारका सदस्यलाई ज्वरो, खोकी, मांसपेशीको दुखाइ आदि देखिएको तर परीक्षण नगरेको भेटिन्छ । त्यसैले कम्तीमा सहर–बजारका क्षेत्रमा त महामारी धेरै फैलिसकेर सामूहिक रोगप्रतिरोधको अवस्थामा पुगिसकेको सम्भावना बलियो छ ।
महामारीको फैलावटको वास्तविक अवस्था र सामूहिक रोगप्रतिरोधी शक्तिको अवस्थामा पुगे/नपुगेकोबारे निक्र्योल गर्न देशका विभिन्न भागका गाउँ–सहरमा बस्ने व्यक्तिहरूको रगतमा विषाणुविरुद्ध एन्टिबडी बनेको छ/छैन हेर्ने सेरोप्रेभलेन्स अध्ययन हुनुपर्छ । सेप्टेम्बर महिनामा गरिएको भनिएको अध्ययनमा नै अपेक्षाकृत धेरै बढी संख्यामा (देशव्यापी सरदर १३ प्रतिशत) देशभरका नागरिकलाई संक्रमण भइसकेको देखिएको सूचना चुहिएको थियो, भलै त्यो अध्ययनको रिपोर्ट अझै गोप्य नै छ । तर, महामारी त्यतिवेलै घातांकीय (एक्स्पोनेन्स्यल) चरणमा प्रवेश गरिसकेको र जनस्वास्थ्य संयन्त्रले महामारीको वक्ररेखालाई थेप्च्याउन मद्दत गर्ने खालका कदम केही पनि मन लगाएर नचालेको दुवै स्पष्टै हुँदा त्यो घातांकीय उभारले केही हप्ता वा महिनामै सामूहिक रोगप्रतिरोधको अवस्थामा पुर्याएको हुनुपर्ने अनुमानलाई पनि वक्ररेखाको अहिलेको अवरोहणले बल पुगेको छ । यस्तो अवस्था सुखद आश्चर्य त पक्कै हो, तर यहाँ गम्भीर रूपले मनन गर्नुपर्ने र विचार पुर्याउनुपर्ने केही पक्ष छन् ।
महामारीबाट सिक्नुपर्ने, बाँकी विश्वले सिकिरहेका पाठलाई झन्–झन् बेवास्ता गरेर हाम्रो राज्यसंयन्त्र र राजनीतिक र प्रशासनिक नेतृत्व कति अक्षम र निराशादायी रहेछ भन्ने देखाइरहेको छ
सामूहिक प्रतिरोधको अवस्था भनेको सबैतिर समरूपको हुँदैन, हुन सक्दैन । अर्थात्, कुनै देशमा कुल जनसंख्याको ६० प्रतिशत नागरिकलाई संक्रमण भयो भन्दैमा देशका सबै कुनामा ६० प्रतिशत नागरिकलाई समान रूपमा संक्रमण भएको हुनुपर्छ भनेर अथ्र्याउनु गलत हुन्छ । कतै ८०–९० प्रतिशत हुन सक्छ, कतै भने १० वा २० प्रतिशत मात्रैलाई संक्रमण भएको हुन सक्छ । त्यसैले ६०–७० प्रतिशतभन्दा बढीलाई संक्रमण भएका क्षेत्रमा त संक्रमण नभइसकेकाहरू पनि सुरक्षित होलान्, तर त्योभन्दा कम प्रतिशतलाई मात्रै संक्रमण भएका स्थानमा बाँकी सबैजना असुरक्षित हुनेछन् ।
अहिले देशमा बढी जनघनत्व भएका सहरबजारका धेरै मान्छेको आवतजावत र घुलमिल भइरहने टोलछिमेकहरूमा त सामूहिक रोगप्रतिरोधको अवस्थामा पुगिसकेको अनुमान गर्न मिल्ला । तर, काठमाडौं उपत्यकाकै बीचमा यस्ता आवासीय क्षेत्रहरू छन्, जहाँ आपसी घुलमिलमा कमी, मास्कको प्रयोग र बाहिर निस्कनेहरूले अपनाउने सतर्कताले गर्दा निकै थोरैलाई मात्र हालसम्म संक्रमण भएको होला भन्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, गाउँघरका बस्तीहरूको कुरा गर्ने हो भने त्यहाँ पनि संक्रमण धेरैजनालाई हुनै पाएन होला, बरू घरहरू टाढाटाढा हुने र ठूलो समूहमा निकट दूरीको घुलमिल कम हुने ग्रामीण जीवनशैलीको कारणले गर्दा मात्र गाउँघरमा महामारी फैलिनै नपाईकन हरायो होला भन्ने अनुमान गर्नुपर्ने हुन्छ । त्यसैले सहरबजारका आवासीय बस्ती भएका थुप्रै खण्ड र ग्रामीण बस्तीहरू सबैजसो नै अझै पनि महामारीबाट पूरै खतरामै रहेका हुन सक्छन् ।
सामूहिक रोगप्रतिरोधको अवस्थामा समुदायको ठूलो संख्यालाई संक्रमण भइसकेपछि बाँकीलाई हुने सुरक्षा भनेको सार्वकालिक वा सुनिश्चितचाहिँ हुँदैन । अहिले पनि काठमाडौंका अस्पतालहरूमा यहीँ र अन्य संक्रमण हराइसकेको भनिएका घना बस्ती भएका सहरहरूबाट बिरामीहरू अलिअलि भर्ना हुने, केहीको मृत्यु हुँदै गर्ने क्रम कम भएको छैन । त्यो क्रम झन्डै शतप्रतिशतलाई कुनै किसिमले रोगप्रतिरोधी क्षमताको विकास नहोउन्जेल चलिरहन्छ नै ।
अहिले जुन–जुन क्षेत्रमा सामूहिक रोगप्रतिरोधको अवस्थामा पुगेको होला भनियो, त्यो सामूहिक रोगप्रतिरोधको अवस्था अहिलेसम्म यहाँ फैलिरहेको रूपभेद (भेरिएन्ट) को हकमा मात्र लागू हुन्छ । यदि यहाँ बेलायती रूपभेदजस्तो बढी संक्रमणशील रूपभेद फैलियो भने त्यो नयाँ रूपभेदको निम्ति अहिलेको जस्तो ६०–७० प्रतिशत हैन, ८५–९० प्रतिशतलाई संक्रमण भएमा मात्र बाँकी १०–१५ प्रतिशतलाई सामूहिक रोगप्रतिरोधको अवस्थाले बचाउनेछ । अर्थात्, बढी संक्रमणशील रूपभेद यहाँ फैलियो भने अहिले सामूहिक रोगप्रतिरोधको अवस्थामा पुगेको भनिएका क्षेत्रमै पनि थप २०–३० प्रतिशत नागरिक महामारीको चपेटामा पर्नेछन्, अन्य क्षेत्रको त कुरै गर्नुपरेन ।
अर्काेतिर, यदि ब्राजिलको जस्तो रूपभेद आयो भने त झन् पहिले संक्रमण भएर रोगप्रतिरोधी क्षमता विकसित भइसकेका पनि उत्तिकै असुरक्षित रहने भए । अनि, पूरै जनसंख्या नै फेरि एकपटक महामारीको चपेटामा पर्ने खतरा हुने भयो । हामीले विगत झन्डै एक वर्षमा जे–जस्ता कहर भोग्यौँ, फेरि तिनैको पुनरावृत्ति हुने डर हुने भयो । बिर्सन नमिल्ने कुरा के हो भने नेपालमा पनि बेलायती रूपभेद पसिसकेको हप्तौँ भयो, अन्य रूपभेद नआइपुगेको कारण पनि खालि हामीले तिनको निदान गर्ने परीक्षण गर्न नसकेको मात्रै होला । हुन पनि बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमै किन पहिले नयाँ रूपभेद देखिए भने ती देशमा नै यस्ता रूपभेदहरूको पहिचान गर्ने जिनोम सिक्वेन्सिङ परीक्षण अन्यत्रभन्दा धेरै बढी मात्रामा भइरहेका थिए ।
बेलायती रूपभेद युरोपमा जसरी फैलिएको छ, अमेरिकामै विभिन्न जनस्वास्थ्य संयन्त्रका सबल प्रयासका बाबजुद जसरी हरेक डेढ हप्तामा दुई गुणा हुँदै गएको छ । त्यसले के देखाउँछ भने यो नेपालमा पनि फैलिनु अवश्यम्भावी छ । अझै हाम्रो त यसको फैलावटलाई नियन्त्रण गर्ने त परै जाओस्, निगरानी गर्ने पनि तयारी वा गृहकार्य पटक्कै छैन ।
गत वर्षको हाम्रो आफ्नै अनुभव र विश्वका विभिन्न भागमा कोभिडको पहिलो छालको आगमनको अनुभवले के देखाउँछ भने अन्य देशबाट विषाणु–संक्रमित व्यक्तिहरू आउन थालेपछि नेपालमा बिस्तारै समुदायमा फैलेर महामारीको अत्यासलाग्दो अवस्थामा पुग्नलाई महिनौँ लाग्ने रहेछ । त्यसैले बेलायती रूपभेद यहाँ आइपुगेर समुदायमा फैलेर स्वास्थ्य प्रणालीलाई नै अस्तव्यस्त बनाउने गरी बिरामीको संख्या देखिन पनि अझै केही महिना लाग्नेछ होला । यसले कोभिडको अर्काे, पहिलेको भन्दा सानो उभार आउनेछ नै । यदि ब्राजिली वा दक्षिण अफ्रिकी रूपभेद पनि आएर फैलियो भनेचाहिँ त्यो उभार निकै ठूलो हुन सक्छ । अथवा, पहिलो बेलायती विषाणुको सानो उभार देखिएको केही समयपछि अर्काे निकै ठूलो उभार आउने सम्भावना पनि हुनेछ ।
नयाँ रूपभेदहरूको सशक्त चुनौतीको सामना गरिरहेका पश्चिमी देशहरूमा र तिनलाई सकेसम्म समुदायमा फैलनै नदिन प्रयास गरिरहेका अन्य देशहरूले अपनाएको रणनीतिका मुख्य दुई पाटा छन् । पहिलो, समुदायमा संक्रमितको संख्या घटाउन प्रभावी देखिएका जनस्वास्थ्यका कार्यक्रमलाई निरन्तरता दिने वा सुधार गर्ने । यसअन्तर्गत विश्वभर सफलतापूर्वक दोहो¥याइएको सूत्र– परीक्षण, सम्पर्क अनुरेखण (कन्ट्याक्ट ट्रेसिङ), आइसोलेसन (क्वारेन्टाइन)को व्यापक अवलम्बन र भौतिक दूरी, मास्क, वायु–प्रवाहन (भेन्टिलेसन)बारे विगत एक वर्षमा सिकिएका पाठहरूको उपयोग नै पर्छन् ।
दोस्रो पाटो हो, खोप कार्यक्रम । प्रायः खोप विशेषगरी दक्षिण अफ्रिकी र सम्भवतः ब्राजिली रूपभेदविरुद्ध केही कम प्रभावी हुने भनिए पनि खोप कार्यक्रम दु्रत र व्यापक रूपमा अघि बढाउन सफल देशहरूमा बिस्तारै सबै रूपभेदको प्रभाव कम हुँदै गरेको र महामारी ओरालो लागेको देखिएको छ । खोपहरूले नयाँ रूपभेदहरूविरुद्ध आंशिक नै प्रतिरोधी क्षमता दिए भने पनि समग्रमा महामारीको भार कम गर्न र नयाँ उभार आउने सम्भावनालाई न्यून गर्न पक्कै महत्वपूर्ण भूमिका खेल्नेछन् भन्ने बुझाइ छ ।
विगतको हाम्रो कार्य–निष्पादनका आधारमा यी दुवै पाटामा हामी निष्फल हुने सम्भावना देखिन्छ । न हामीले परीक्षण, सम्पर्क अनुरेखण र आइसोलेसन–क्वारेन्टाइनका कामहरू सफलतासाथ गर्न सक्यौँ, न अहिले आफैँले तोकेको प्राथमिकताक्रमअनुसार खोपको वितरण गर्न सकेका छौँ । पहिलो प्राथमिकतामा राखिएका सफाइकर्मी र स्वास्थ्यकर्मीमध्ये सायद आधाभन्दा बढीलाई खोप लगाउन नै राजी गर्न सकिएन । संक्रमणबाट सबैभन्दा बढी जोखिम हुने ज्येष्ठ नागरिक र विविध दीर्घरोगको भार भएका नागरिकलाई वडा–वडामा खोप पुर्याएर वितरण गर्न त हाम्रो टपरटुइयाँ राज्यसंयन्त्रले झन् नसक्ने देखिन्छ । विश्वभर खोप र विषाणुका रूपभेदहरूबीच को छिटो भन्ने द्वन्द्व चलिरहेको छ ।
खोप कार्यक्रमलाई दु्रत र व्यापक बनाउन सकियो भने मात्र त्यसमा गरेको लगानीले उच्च प्रतिफल दिने हो । हाम्रो खोप कार्यक्रमको योजना बनाउने र कार्यान्वयन गर्नेहरूले त्यो तथ्यलाई सैद्धान्तिक रूपमा पनि आत्मसात् नगरेको देखिन्छ । अगाडि राजनीति, राज्यसंयन्त्र र समाजकै प्रणालीगत कमजोरीका जुन–जुन कारणले महामारी प्रतिकार्यका आधारभूत कुरामा हाम्रो राज्य नेतृत्वको माथिल्लो तहदेखि लबस्तरो र निकम्मा देखियो, अहिले खोप कार्यक्रम पनि तिनै कारणले निराशादायी हुँदै छ ।
महामारी नियन्त्रणबारे विश्वभरको अनुभवबाट धेरै कुरा सिकिए पनि, तत्काललाई धेरै ठाउँमा सामूहिक रोगप्रतिरोधको अवस्थामै पुगे पनि र खोप उपलब्ध हुँदै गए पनि नयाँ रूपभेदहरूको चुनौतीले गर्दा महामारीको दोस्रो वर्ष पनि अन्योल र अनिश्चिततालाई अपनाएर जीवन चलाउने बाध्यताले हामीलाई नछोड्ने देखिन्छ । त्यसैले बिस्तारै महामारीको अवस्था परिवर्तन हुँदै जाँदा तदनुरूप आफ्ना व्यवस्थापकीय शैली र कार्यक्रम परिवर्तन गर्दै गर्ने गरी विभिन्न खाले सामाजिक गतिविधि र कार्यक्रमलाई खुला गर्दै जाने नीति हामी सबैको हुनुपर्ने देखिन्छ ।
यसको एउटा उदाहरण विद्यालय क्षेत्रलाई लिन सकिन्छ । अहिले सरकारले काठमाडौं उपत्यकामै विद्यालयहरू खोलिसकेको छ । अहिलेसम्म भौतिक कक्षा खोल्न हिच्किचाइरहेका कतिपय निजी विद्यालयले पनि महामारीको अवस्था अनुगमन गर्दै क्रमशः खोल्दै जाने योजना बनाएको देखिन्छ । हुन पनि अब केही महिना विद्यालय बन्द नै राख्दा सामूहिक प्रतिरोधको अवस्थामा पुगेर वा खोप कार्यक्रमले व्यापकता लिएर महामारी पूरै नियन्त्रणमा ल्याउन सकिने सुनिश्चितता हुन्थ्यो भने विद्यालय अझै केही महिना पूरै बन्द राख्नु मनासिब हुन सक्थ्यो । तर, कुरेर मात्र बस्दा केको अपेक्षा गर्ने भन्ने प्रश्न अनुत्तरित छ । न जनस्वास्थ्य संयन्त्रको महामारी नियन्त्रण गर्ने क्षमता, न खोप कार्यक्रमको कार्यान्वयन नै त्यस्तो महामारीबाट सुरक्षाको केही हदसम्मको सुनिश्चितता दिन सक्ने देखिए । अर्काेतिर, विद्यालय खोल्दैनखोली बस्दा फेरि केही महिनापछि नयाँ रूपभेदको अर्काे उभार सुरु भयो भने पूरै अर्काे शैक्षिक वर्ष पनि विद्यालय खोल्न नमिल्ने परिदृश्य नआउला भन्न पनि नसकिने भयो ।
त्यसैले बरू अलि–अलि गर्दै विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराउन थालेर सुरक्षित देखिँदै गएमा केही महिनापछि पूरै विद्यालय खोल्ने योजनामा हिँड्नैपर्ने बाध्यता छ । यसरी थोरै–थोरै गरेर खोल्दा बिस्तारै विद्यालयको व्यवस्थापन, शिक्षक, अभिभावक र विद्यार्थीहरू आफैँलाई पनि महामारीविरुद्धको तयारी र सतर्कताको अभ्यास हुन्छ, जुन आउँदो सालको अनिश्चिततामा धेरै काम लाग्न सक्छ । खालि केचाहिँ मनन गर्नुपर्यो कि फेरि केही महिनामै अर्काे उभार आउन सक्छ वा समुदायमा नयाँ उभार नआउँदै पनि कुनै विद्यालयमा शिक्षक–कर्मचारी वा विद्यार्थीलाई संक्रमण हुने र त्यहीँबाट घरघरमा फैलिने खतरा हुन सक्छ, विद्यालयका निश्चित कक्षा वा पूरै विद्यालय नै फेरि बन्द गर्नुपर्ने पनि हुन सक्छ ।
त्यस्तो अवस्थाका लागि सधैँ सम्पूर्ण विद्यालय परिवार मानसिक रूपले तयार रहनुपर्यो । विद्यालयमा सकेसम्म भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग सुनिश्चित गर्ने, वायु प्रवाहन नहुने ठाउँमा धेरैजना भेला नहुने सुनिश्चित गर्ने र आफैँलाई वा परिवारका कसैलाई लक्षण भएमा त्यस्ता व्यक्ति कोही पनि विद्यालय नआउने, विद्यालयमै लक्षण देखिएमा देखिनेबित्तिकै छुट्याएर उचित परीक्षण गर्न पठाउने, अरूलाई सर्न सक्ने सम्भावना न्यून हुने गरी कार्यसिलसिला बनाउने, सम्पर्कमा आएकालाई तुरुन्तै क्वारेन्टाइन गर्न निर्देशित गर्नेजस्ता प्रबन्ध गर्नुपर्यो । शैक्षिक कार्यक्रमको निर्माण र सञ्चालन गर्दा त्यो भवितव्यलाई मनमा राखेर तुरुन्तै अनलाइन कार्यक्रममा परिवर्तन गर्न मिल्ने र सम्भवतः अर्काे शैक्षिक वर्षको पनि ठूलो हिस्सा अनलाइन रूपमै सञ्चालन गर्नुपरेमा त्यसो गर्न सक्ने गरी लचकदार पनि बनाउनुपर्यो ।
हामी कति अकर्मण्य र अयोग्य छौँ भन्ने हेर्न खालि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र पसे पुग्छ, जहाँ दिनको कुनै पनि समय पटक्कै वायु–प्रवाहन नभएको एउटा हलमा दुई–तीन हजार मान्छे उडानको पालो कुरेर बसिरहेका हुन्छन्
राज्यको हकमा भने गुनासा र अपेक्षाहरू थुप्रै नै छन् । महामारीबाट सिक्नुपर्ने, बाँकी विश्वले सिकिरहेका पाठलाई झन्–झन् बेवास्ता गरेर हाम्रो राज्यसंयन्त्र र राजनीतिक र प्रशासनिक नेतृत्व कति अक्षम र निराशादायी रहेछ भन्ने देखाइरहेको छ । सबैभन्दा खेदको कुरा अहिलेसम्म पनि महामारी नियन्त्रणमा जनस्वास्थ्यका एकदमै प्रभावी भनेर प्रयोगसिद्ध भएका केही कडीहरू (परीक्षण, सम्पर्क अनुरेखण र आइसोलेसन–क्वारेन्टाइन) कुनै पनि हामीले सही र प्रभावकारी रूपमा गर्न सकेनौँ र अहिलेसम्म प्रणालीगत रूपमा सिक्यौँ भन्ने छेकछन्द देखिँदैन ।
महामारीसँग जुध्न सबैभन्दा पहिलो र महत्वपूर्ण हतियार आँकडा र सूचना हो । हामीले पाँच महिनाअघि सम्पन्न गरेको, सम्भवतः करोडौँ खर्च भएको सेरोप्रेभलेन्स अध्ययनको अहिलेसम्म नतिजा सार्वजनिक भएको छैन, त्यसबाट निस्किएका निष्कर्षलाई महामारीको नियन्त्रणमा उपयोग गर्ने त सोच्नैपरेन ।
यदि कुनै आगन्तुक रूपभेद यहाँ आइपुग्यो भने हामीले सम्पर्क अनुरेखणको तालिम दिएर तयार गरेका भनिएका व्यक्तिले संक्रमितको घरभित्रकै केही व्यक्तिबाहेक समाजमा अन्यत्र सम्पर्कमा आएकालाई पत्ता लगाउलान् भन्ने विश्वास पटक्कै गर्ने ठाउँ छैन । किनभने, अहिलेसम्म सम्पर्क अनुरेखण जति भयो, त्यो त्यस्तो अपेक्षा लिएर गराइएकै छैन । अहिले विभिन्न रूपभेदको यहाँ कस्तो उपस्थिति छ, साँच्चै अहिले नै कुनै खतराका संकेत देखा परेका छन् कि छैनन् भन्ने बुझ्ने कोसिस गर्ने, नियमित रूपमा निश्चित तरिकाले नमुना लिएर जिनोम सिक्वेन्सिङ गर्ने बन्दोबस्त मिलाउने त छोडौँ, त्यसो गर्नुको महत्वबोध मात्र पनि नभएको देखिन्छ ।
यदि पूर्वी एसियामा महामारीको अर्काे उभार आइहालेमा हामी पन्जा, मास्क वा अन्य व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) वा अक्सिजनका लागि आत्मनिर्भर भयौँ त ? विगत एक वर्षमा हामीले स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउन अत्यन्त महत्वपूर्ण एन–९५ गुणस्तरका मास्क आफैँ उत्पादन गर्ने वा पर्याप्त पुर्याउने त परै जावस्, मास्कको गुणस्तरको मापन–प्रमाणीकरण गर्ने पनि सोध्नैपरेन, खालि स्वास्थ्यकर्मीको अनुहारको बनोटअनुसार मास्कको उपयुक्त प्रकार र साइज खुट्याउने फिट टेस्टिङ पनि कतै सुरु गरेका छैनौँ ।
फेरि महामारीको उभार आउँदा हाम्रा धेरै मान्छेको आवतजावत हुने बजार र व्यापारिक केन्द्र, सार्वजनिक यातायातका केन्द्र आदि ठाउँ महामारी सबैतिर फैलाउने मुख्य स्रोत केन्द्र नबनून् भनेर हामीले कुनै नीति लागू गराएका छौँ ? उचित सावधानी अपनाइएका छन् कि छैनन् भनेर अनुगमन गरेका छौँ ? हामी कति अकर्मण्य र अयोग्य छौँ भन्ने हेर्न खालि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलको भवनभित्र पसे पुग्छ, जहाँ दिनको कुनै पनि समय पटक्कै वायु–प्रवाहन नभएको एउटा हलमा दुई–तीन हजार मान्छे आफ्नो उडानको पालो कुरेर बसिरहेका हुन्छन् ।
सम्भवतः केही जलवायु, केही वंशानुगत कारण, केही पूर्वविद्यमान रोगप्रतिरोधी क्षमता वा त्यस्तै कुनै अन्य सुयोग र सौभाग्यको अज्ञात कारणले जोगिएका र मृत्युलगायत कुराबारे आँकडाकै अभावको कारणले मूर्खहरूले सन्तोष लिएर बसिरहेका हामीले कवि मीनबहादुर विष्टको शब्द सापटी लिएर भन्दा ‘यस्तै चरम अक्षमता र उदासीनतासाथ नै एउटा राष्ट्रले बाँचेको बहाना गर्न मिल्छ ?’