- विश्वव्यापी रूपमा लुलाको विजयलाई हेर्दा ब्राजिल अति दक्षिणपन्थी विचारधाराको उदयविरुद्ध एक बलियो कवचका रूपमा उभिएको छ
तीन साताअघिसम्म मानिसले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको राजनीति अन्त्य भइसकेको घोषणा गरिरहेका थिए । पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा तथा अति–दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा यस्तो अग्रता लिएका थिए, जसलाई उछिन्न असम्भवजस्तै देखिन्थ्यो । ८० वर्षीय लुला ब्राजिलको राजनीतिक जीवनको केन्द्रमा चार दशक बिताइसकेपछि अब चुपचाप बिदा लिने बाटोमा रहेको अनुमान गरिएको थियो । तर, लुलाले सबैको अनुमान गलत साबित गरिदिए । उनले निर्वाचनको दोस्रो चरणमा जित हासिल गरे र ब्राजिलको राष्ट्रपतिका रूपमा चौथो (तर लगातार होइन) कार्यकाल सुनिश्चित गरे ।
ब्राजिलको राजनीतिमा निर्वाचनको यो नतिजा कम्तीमा तीन कारणले अभूतपूर्व छ । पहिलो, यसअघि ब्राजिलको कुनै पनि राष्ट्रपतीय उम्मेदवारले पहिलो चरणमा जित हासिल गरेपछि दोस्रो चरणमा हार व्यहोरेका थिएनन् । सन् १९८८ को ब्राजिली संविधानमार्फत दुई चरणको निर्वाचन प्रणाली अपनाइएयता पहिलो चरणमा अग्रस्थानमा रहने उम्मेदवार नै अन्तिममा विजयी हुँदै आएका थिए । लुलाले पहिलो चरणमा करिब २२ लाख मतले पछि परेको अवस्थालाई तीन साताभित्रै एक ठोस जितमा परिणत गर्दै यो क्रम तोडिदिएका छन् ।
दोस्रो, ब्राजिलका कुनै पनि राष्ट्रपति अहिलेसम्म चार कार्यकालका लागि निर्वाचित भएका छैनन् । जब उनको नयाँ कार्यकाल समाप्त हुन्छ, लुलाले ब्राजिलमा १६ वर्ष शासन गरेका हुनेछन्, जुन देशको इतिहासमा सबैभन्दा लामो लोकतान्त्रिक रूपमा निर्वाचित कार्यकाल हो । तेस्रो, ब्राजिलमा कुनै पनि दोस्रो चरणको अभियानले दुवै पक्षलाई समर्थन गर्दै यति धेरै मानिसलाई सडक र सामाजिक सञ्जालमा ल्याएको थिएन । पहिलो चरणविपरीत दोस्रो चरण शान्त थिएन । ब्राजिलले मतदाताको ठुलो परिचालन देखेको थियो । ब्राजिलको वामपन्थी खेमाले सामाजिक सञ्जाल प्लाटफर्म, आर्थिक अभिजात वर्ग र सर्वोच्च निर्वाचन अदालतविरुद्ध निकै कठिन संघर्ष गर्नुपर्यो ।
लुलाको जित ब्राजिलको सीमाभन्दा धेरै परसम्म अर्थपूर्ण छ, यसका मुख्यतया तीनवटा आयाम छन् । विश्वव्यापी रूपमा हेर्दा ब्राजिल अति दक्षिणपन्थी विचारधाराको उदयविरुद्ध एक बलियो कवचका रूपमा उभिएको छ । हालै ल्याटिन अमेरिका र युरोपमा भएका चुनावमा लगभग सबैजसो ठाउँमा अति दक्षिणपन्थी दल अगाडि देखिए । तर, विश्वको चौथो ठुलो लोकतन्त्र ब्राजिलले भने यसलाई उल्ट्याइदिएको छ ।
ल्याटिन अमेरिकामा विगत एक दशकमा शासक दलले एकपछि अर्को चुनाव हारेका छन् । मुद्रास्फीति, असुरक्षा र आर्थिक स्थिरताका लागि मतदाताले दण्ड दिएका छन् । ब्राजिलको अर्थतन्त्र उचित अवस्थामा थियो, तर यसको लाभ असमान रूपमा महसुस गरिएको थियो । बोल्सोनारोले दक्षिण अमेरिकामा वासिंटनको मनपर्ने साझेदारका रूपमा अभियान चलाएका थिए । ब्राजिलका मतदाताले त्यो प्रस्ताव अस्वीकार गरे ।
लुलाले आफ्नो औचित्य पुष्टि भएको ठान्ने गल्ती गर्नु हुँदैन । हो, उनले बाटो सच्याए । तीन सातामा, विशेषगरी पहिलो चरणको कमजोर अभियानका क्रममा आफ्नो चार वर्षको कार्यकालमा आफूले गरेका गल्ती स्वीकारे । उनले आफ्नो सन्देशलाई तीक्ष्ण बनाए, गठबन्धनलाई फराकिलो बनाए र आफूलाई हराएका मतदातासँग प्रत्यक्ष संवाद गरे । राजनीतिज्ञका लागि यो सानो उपलब्धि होइन, चाहे उनी जतिसुकै अनुभवी किन नहून् ।
निकोलस फेरेरा र लुकास पाभानाटोलगायत अति–दक्षिणपन्थी खेमाका प्रमुख व्यक्तिले यो चुनावी नतिजा स्वीकार नगर्ने बताइसकेका छन् । बोल्सोनारोले आफूले हार नस्विकार्ने बताएका छन् । ह्वाइट हाउसको बोल्सोनारो परिवारसँगको निकट सम्बन्धलाई हेर्दा ट्रम्प प्रशासनले चुनावी नतिजामाथि प्रश्न उठाउने वा नतिजालाई मान्यता नदिने जोखिम पनि छ ।
निर्वाचनकै दिन उत्पन्न कानुनी विवादले परिस्थिति अझ जटिल बनेको छ । विभिन्न सहरमा लुलाका समर्थकलाई मतदान गर्नबाट रोक्ने वा हतोत्साहित गर्ने प्रयासको आरोपपछि मतदानको समय थप्ने कि नथप्ने विषयमा ब्राजिलको सर्वोच्च अदालत र निर्वाचन अदालतका न्यायाधीशबिच मतभेद देखियो । कानुनी रूपमा यसको औचित्य जे भए पनि यो विवादले पराजित पक्षलाई ‘मतदानमा अनियमितता’ भएको तर्क गर्ने आधार दिएको छ । यो गम्भीर चिन्ताको विषय बन्न सक्छ र यसको असर केही सातासम्म लम्बिन सक्छ ।
५ जनवरीमा लुलाले पदभार ग्रहण गर्दा तीन प्रश्नले उनको चौथो कार्यकालको स्वरूप निर्धारण गर्नेछन् । पहिला, कंग्रेसमा रुढिवादीको बहुमत र एक दर्जनभन्दा बढी दक्षिणपन्थी राज्य गभर्नर रहेको र विभाजित मुलुकलाई लुलाले कसरी शासन गर्लान् ?
विगत चार वर्षसम्म उनलाई एकप्रकारले बन्धक बनाएको व्यवस्थापिका अब झन् शत्रुतापूर्ण बनेको छ । हरेक बजेट, सुधार र नियुक्ति एक कठिन मोलतोलको विषय बन्नेछ र लुलाको टाउकोमा महाभियोगको तरबार पनि झुन्डिरहने सम्भावना छ ।
दोस्रो, दलीय विवादभन्दा धेरै माथि उठेका समस्यालाई उनले कसरी सम्बोधन गर्लान् ? यसमा सरकारी खर्चमा भएको वृद्धिका कारण सिर्जित आर्थिक दबाब, लोकतान्त्रिक संस्थाप्रति घट्दै गएको विश्वास र आफ्नो परिकल्पनाअनुरूप काम गर्न छाडेको संस्थागत प्रणालीजस्ता विषय पर्छन् । तेस्रो, के लुला, उनको ‘वर्कर्स पार्टी’ र ब्राजिलका अन्य लोकतान्त्रिक शक्तिले पाएको यो अवसरलाई ब्राजिलको राजनीतिलाई नयाँ रूप दिन प्रयोग गर्लान् ?
(कासारोएस फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका एसोसिएट प्रोफेसर हुन्)
द कन्भर्सेसनबाट