विश्वमा अहिले कुनै ‘महाशक्ति’ राष्ट्र छैनन्

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • अमेरिका र रुसजस्ता सबैभन्दा शक्तिशाली देशलाई अझै आफ्नो खुम्चिएको स्थिति बुझ्न केही समय लाग्न सक्छ

यो वर्ष ‘मध्यम शक्ति’ भन्ने पदावली अन्तर्राष्ट्रिय राजनीतिमा निकै चर्चामा छ । यस समूहमा वास्तवमा कुन–कुन राष्ट्र पर्न सक्छन् भन्ने बहस पनि सँगसँगै चलिरहेको छ । आखिर, धेरैजसो राष्ट्रलाई यसै रूपमा परिभाषित गरिनुपर्ने होइन र ?

वर्षको सुरुमै स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा दिएको चर्चित मन्तव्यमार्फत क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आजको विश्वमा शक्ति संरचनामा परिवर्तन भइरहेको मुद्दा उठाएपछि बहसले गति लिन सुरु गरेको हो । कार्नीका अनुसार अहिले विश्व व्यवस्थामा एउटा ‘विच्छेद’ देखिइरहेको छ । यस्तो अवस्थामा अन्य राष्ट्रबाट हुने आर्थिक दबाब र राजनीतिक प्रभुत्वको सामना गर्न ‘मध्यम शक्ति’ भएका राष्ट्रले आपसमा सहकार्य गर्नुपर्ने उनले सुझाए । त्यस सम्बोधनमा कार्नीले संयुक्त राज्य अमेरिकाको नाम नलिए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले तुरुन्तै र सही रूपमा कार्नीका भनाइ आफूविरुद्ध लक्षित भएको बुझे । तर, कार्नीले संकेत गरेका ‘मध्यम शक्ति’ राष्ट्रलाई अन्य शक्तिबाट कसरी फरक छुट्याउन सकिन्छ ? सायद, यसका लागि पहिले ती ‘अन्य शक्ति’बारे चर्चा गर्नु उपयुक्त होला । केहीअघिसम्म विश्व मञ्चमा धेरै राष्ट्रको तुलनामा अधिक शक्ति प्रयोग गर्न सक्ने राष्ट्रलाई ‘महाशक्ति’ भनिन्थ्यो । दोस्रो विश्वयुद्धपछि यो शब्दले अमेरिका र सोभियत संघलाई मात्र नभई छोटो अवधिका लागि भए पनि बेलायती साम्राज्यलाई समेत जनाउँथ्यो ।

त्यसपछिका दशकमा दुई निर्विवाद महाशक्ति अमेरिका र सोभियत संघको पहिचान तिनका विशाल आणविक भण्डारबाट हुन थाल्यो । दुवैसँग हजारौँको संख्यामा आणविक हतियार थिए । अझ उनीहरूसँग ती विनाशकारी हतियारलाई केही मिनेटभित्रै विश्वको जुनसुकै कुनामा पुर्याउन सक्ने प्रविधिसमेत थियो, जसबाट बच्ने वा प्रतिरक्षा गर्ने कुनै उपाय थिएन । ती दुवै राष्ट्रसँग आधा घण्टाभित्र एक–अर्कालाई पूर्ण रूपमा ध्वस्त पार्ने क्षमता थियो ।

समय बित्दै जाँदा अन्य राष्ट्रले पनि आणविक हतियार प्राप्त गरे । तर, तीमध्ये कसैसँग पनि अमेरिका र सोभियत संघले जति ठुलो परिमाणमा हतियार भण्डार विकास गर्ने क्षमता थिएन । सन् १९९० को प्रारम्भमा सोभियत संघको पतनपछि ‘महाशक्ति’ शब्दको प्रयोग कम हुन थाल्यो । अमेरिकालाई कहिलेकाहीँ त्यस विशेषणले पुकारिए पनि सोभियत संघको पतनपछि एउटा छोटो समय रहेको ‘एकल ध्रुवीय युग’मा अमेरिकालाई ‘परमशक्ति’समेत भनियो । यो नाम सन् १९९७ र २००२ बिच फ्रान्सका विदेशमन्त्री रहेका ह्युबर्ट भेड्रिनले राखिदिएका थिए । आज, अमेरिका अत्यन्त शक्तिशाली छ । 

सोभियत संघ टुक्रेपछिको सबैभन्दा ठुलो हिस्सा रुसले अझै पनि विश्वको सबैभन्दा ठुलो आणविक शस्त्रागारसहित विशाल सैन्य स्रोत कायम राखेको छ । तैपनि, उनीहरूको स्पष्ट सीमितता देखिन थालेको छ । आफ्नो विशाल परम्परागत शस्त्रागार परिचालन गरे पनि रुसले आफूभन्दा निकै सानो छिमेकी युक्रेनलाई वशमा पार्न सकेको छैन । र, ट्रम्पले आफ्नो देशको सैन्य शक्तिबारे निरन्तर घमण्ड गरे पनि इरानविरुद्ध उनले सुरु गरेको युद्धले अहिलेसम्म तेलको मूल्य र अस्थिरता बढाउनुबाहेक कुनै घोषित लक्ष्य हासिल गर्न सकेको छैन ।

आफैँले सुरु गरेको युद्धमा विजय हासिल गर्न असफल हुनुले अमेरिका र रुस अब ‘महाशक्ति’का लागि योग्य नरहेको देखाउँछ । के तिनलाई विशाल शक्ति भन्न सकिन्छ ? या यी दुई देश पनि मध्यम शक्तिको बृहत्तर श्रेणीमै पर्छन् ? प्रश्न अहिले बहसमै छ । तर, जे भए पनि महाशक्ति देशहरूको युग सकिएको छ । अहिलेका सबैभन्दा शक्तिशाली देशका समेत कैयौँ सीमितता छन् । उनीहरूले महसुस गरून् या नगरून्, तिनको शक्तिको सीमा उजागर भइसकेको छ । 

फेरि मध्यम शक्तिकै बहसमा फर्किऊँ । उसो त यस समूहमा पनि धेरै फरक आकार र क्षमताका देश पर्छन् । तथापि, उनीहरूलाई कम्तीमा आफ्नो क्षमताबारे थाहा छ । भारत, ब्राजिल वा क्यानडाले आफ्नो राजनीतिक वातावरणलाई आफूले चाहेको आकारमा ढाल्ने गरी सैन्य शक्ति प्रयोग गर्न सक्दैनन् । बरु, प्रत्येकले प्रभाव विस्तारका लागि आर्थिक संलग्नता र राजनीतिक सम्बन्ध निर्माणमा भर पर्नुपर्छ । तर, यही कुरा अहिले अमेरिका, रुस र युरोपेली संघजस्ता अन्य ठुला शक्तिशाली खेलाडीमा पनि लागू हुन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध क्षेत्रमा ‘सफ्ट पावर’ अवधारणा प्रयोगमा ल्याएका दिवंगत जोसेफ नाईका कृतिबाट मध्यम शक्तिबारे धेरै जान्न सकिन्छ । सैन्य क्षमताले ‘हार्ड पावर’ प्रदान गरी ‘आकर्षणमार्फत शक्ति दिन्छ भन्ने नाइको विचार थियो । सफ्ट पावर सांस्कृतिक निर्यात, आर्थिक सम्बन्ध, कूटनीति, सद्भावना र लामो समय लगाएर विकास गरिएको विश्वासबाट प्राप्त हुन्छ । यस्तोमा प्रभावका लागि मुख्यतया सफ्ट पावरमा भर पर्नुपर्ने अवस्थाका देशलाई मध्यम शक्ति भन्न सकिन्छ । उसो त अझै पनि केही देशले अझै पनि आफू महान् भएको दृष्टिकोण कायम राख्नेछन् । तिनलाई आफ्नो खुम्चिएको स्थिति बुझ्न केही समय लाग्न सक्छ । तर, मस्को वा वासिंटनका अधिकारीले आफूलाई जे भने पनि तथ्य यो हो कि संसार परिवर्तन भएको छ, अहिले विश्वमा कुनै पनि महाशक्ति राष्ट्र छैन ।

प्रोजेक्ट सिन्डिकेटबाट

(बिल्ड्ट स्विडेनका पूर्वप्रधानमन्त्री हुन्)

सुझावित समाचार