चीनको विकासको अवस्थासम्बन्धी अन्तर्राष्ट्रिय बहस चीनको विकाससम्बन्धी उपलब्धि र एक प्रमुख शक्तिका रूपमा उसका जिम्मेवारीका स्वीकारोक्ति हुन् । तथापि, हामीले त्यस्ता निश्चित भाष्यप्रति सचेत रहनुपर्छ, जसले जानाजान चीनको विकासको चरणलाई ओझेलमा पार्छन्, चीनको विकासको दायरालाई साँघुरो बनाउँछन् र चीन तथा अन्य विकासोन्मुख राष्ट्रबिच दरार सिर्जना गरी चीनलाई अप्ठ्यारो स्थितिमा धकेल्छन् ।
‘वाल स्ट्रिट जर्नल’ले हालै एउटा लेख प्रकाशित गर्दै चीन विश्व बैंकको वर्गीकरणअनुसार ‘उच्च–आय भएको मुलुक’ बन्ने सँघारमा रहेको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय समूहहरूमा ‘विकासोन्मुख’ राष्ट्रका रूपमा रहँदा प्राप्त हुने लाभका कारण चीन विश्वका ‘विकसित’ राष्ट्रहरूको सूचीमा सामेल हुन नचाहेको दाबी उक्त लेखले गरेको छ ।
वास्तवमा, ‘उच्च आय भएको मुलुक’ हुनु र ‘विकसित मुलुक’ हुनु एउटै कुरा होइन । यी दुई अवधारणालाई एकैठाउँमा मिसाएर ‘वाल स्ट्रिट जर्नल’को उक्त लेखले चीनलाई उसको वर्तमान विकासको स्तरभन्दा माथिका अन्तर्राष्ट्रिय दायित्व वहन गर्न दबाब सिर्जना गर्ने प्रयास गरेको छ ।
विश्व बैंकको अनुमानअनुसार सन् २०२५ मा चीनको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४,२३० अमेरिकी डलर थियो, जुन उच्च आयको श्रेणीमा पर्न आवश्यक १४,३७५ डलरको सीमाभन्दा केही कम हो । यहाँ यो कुरा उल्लेख गर्नु सान्दर्भिक हुन्छ कि विश्व बैंकको यो वर्गीकरण केवल प्रतिव्यक्तिमा आधारित छ ।
यसमा कुनै पनि देशको आधुनिकीकरणको स्तर, औद्योगिक विकास र सार्वजनिक सेवाको अवस्थाजस्ता पक्षहरूको विस्तृत मूल्यांकन समावेश हुँदैन । हालैका वर्षहरूमा चिली, उरुग्वे, पानामा र कोस्टारिकाजस्ता देशले विश्व बैंकको उच्च आयको सीमा पार गरेका छन् । यद्यपि, उच्च आयको सीमामा पुगेकै कारणले मात्र स्वतः विकसित देशका रूपमा वर्गीकृत हुनुको सट्टा अन्तर्राष्ट्रिय समुदायले अझै पनि यी देशलाई विकासोन्मुख राष्ट्र वा उदीयमान अर्थतन्त्रका रूपमा नै हेर्ने गर्छन् ।
चिनियाँ आधुनिकीकरण निरन्तर अघि बढ्दै गर्दा चीनले आर्थिक तथा सामाजिक विकासमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ र उसको कुल गार्हस्थ्य उत्पादन विश्वमै दृढतापूर्वक दोस्रो स्थानमा रहेको छ । यद्यपि, विभिन्न सूचकले विकासशील राष्ट्रका रूपमा चीनको अवस्थामा कुनै परिवर्तन नआएको देखाउँछन् ।
उदाहरणका लागि, युरोप र अमेरिकाजस्ता विकसित अर्थतन्त्रहरूको तुलनामा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा अझै पनि ठुलो अन्तर छ, क्षेत्रीय विकासको असन्तुलन अझै पनि आधारभूत रूपमा समाधान हुन सकेको छैन तथा सहरी र ग्रामीण क्षेत्रबिच असमानता कायमै छ ।
यसको विपरीत, पश्चिमा विकसित मुलुकहरूको विकास प्रक्रिया भनेको उच्चस्तरको औद्योगिकीकरण, सहरीकरण र आधुनिकीकरणपछि तयार भएको एक समग्र स्वरूप हो । यो कुरा उनीहरूको अर्थतन्त्रको आकारमा मात्र नभई प्रतिव्यक्ति सम्पत्ति, सामाजिक सुरक्षा प्रणाली, सार्वजनिक सेवाप्रवाहको क्षमता तथा वैज्ञानिक एवं प्राविधिक नवप्रवर्तन प्रणालीजस्ता विभिन्न पक्षहरूमा पनि झल्किन्छ ।
चीनको विकासको स्थितिका सम्बन्धमा हुने अन्तर्राष्ट्रिय बहस मुख्यतया चीनको तीव्र विकास गति र विश्व अर्थतन्त्रमा यसले पुर्याएको महत्वपूर्ण योगदानबाट उत्पन्न भएका हन् । यी पक्षले परम्परागत विकासोन्मुख मुलुकसम्बन्धी प्रचलित धारणा वा मानकलाई धेरै अघि नै उछिनिसकेका छन् । यस्ता बहस चीनका विकाससम्बन्धी उपलब्धि र एक प्रमुख शक्तिका रूपमा यसको जिम्मेवारीप्रतिको स्वीकारोक्ति हुन् ।
यद्यपि, हामीले त्यस्ता निश्चित भाष्यप्रति सचेत रहनुपर्छ जसले जानाजान चीनको विकासको चरणलाई ओझेलमा पार्छन्, यसको वर्तमान विकासको अवस्थाभन्दा बढी दायित्व थोपर्छन्, चीनको विकासको दायरालाई साँघुरो बनाउँछन् र चीन तथा अन्य विकासोन्मुख राष्ट्रबिच दरार सिर्जना गरी चीनलाई अप्ठ्यारो स्थितिमा धकेल्छन् ।
चीनका लागि विकासोन्मुख राष्ट्रको हैसियत विशेष राजनीतिक महत्वको विषय हो । चीन सधैँ ‘ग्लोबल साउथ’को सदस्य रहँदै आएको छ । यो ‘साउथ’ केवल भौगोलिक वा आर्थिक अवधारणा मात्र होइन, बरु यो समान ऐतिहासिक परिस्थिति, विकासको वर्तमान चरण, साझा विकासका लक्ष्य र समान राजनीतिक आकांक्षामा आधारित भई उदीयमान बजार भएका तथा विकासोन्मुख राष्ट्रहरूद्वारा निर्मित एक पहिचान हो ।
चीनलाई ‘विकसित राष्ट्र’को बिल्ला भिराउन आतुर पक्षहरू वास्तवमा चीनको ‘स्तरवृद्धि’ चाहिरहेका छैनन्, बरु उनीहरूको उद्देश्य चीनलाई ‘ग्लोबल साउथ’को समूहबाट अलग्याउँदै ‘बहिष्करण’ गर्नु हो । यस सन्दर्भमा चीनको धारणा एकदमै स्पष्ट छ र ऊ यो जालमा फस्नेछैन ।
दिगो शान्ति, साझा सुरक्षा र साझा समृद्धियुक्त खुला, समावेशी, स्वच्छ तथा सुन्दर विश्व निर्माणमा चीनको योगदानले धेरै विकसित राष्ट्रको योगदानलाई समेत उछिनिसकेको छ । तैपनि, चीन सधैँ विकासशील विश्वकै एक सदस्य रहनेछ । यो विनम्रता मात्र नभई यथार्थप्रतिको गम्भीर बुझाइ हो ।