एयरकन्डिसनले तताउँदै वायुमण्डल

वैज्ञानिकहरू दशकौँदेखि नै ‘रेफ्रिजरेन्ट’का नकारात्मक प्रभावप्रति चिन्तित रहँदै आएका छन्

शनिबार, १४ कार्तिक, २०८३
प्रिन्ट संस्करण

बर्सेनि गर्मीमा तापक्रमले रेकर्ड तोड्दै जाँदा, एयर कन्डिसनर(एसी)को बिक्री बढ्दै गएको छ । व्यक्तिगत रूपमा घर चिस्याएर जीवन सहज बनाउने यस प्रविधिले जलवायुमा भने नकारात्मक असर पुर्याउन योगदान गर्छ । एयर कन्डिसनरहरूले कोठाबाट ताप बाहिर निकाल्नका लागि घुमाउरो मार्गमा ‘रेफ्रिजरेन्ट’ भनेर चिनिने ग्यासलाई धकेल्छ । त्यो ग्यास एयर कन्डिस्नर प्रयोगका क्रममा अनिवार्य रूपमा थोरै वा पछि प्रयोग नभएर फालिएपछि चुहिन्छ ।

एयर कन्डिस्नरमा प्रयोग गरिने अधिकांश ‘रेफ्रिजरेन्टहरू’ ग्यास शक्तिशाली हरितगृह हुन् । यसैका कारण विश्वव्यापी रूपमा, चिस्यानका कारण हुने जलवायु प्रभावमा ‘रेफ्रिजरेन्ट’को हिस्सा एक्लै लगभग एकतिहाइ छ । एयर कन्डिसनरको युनिटमा हेर्नुभयो भने फरक–फरक लेबल दिइएका हुन्छन् । पछिल्लो समय घर वा कार्यालयमा जोडिएको एयर–कन्डिस्नरमा प्रायः ‘आर–३२’ लेखेको देखिन्छ, जुन एक प्रकारको ‘हाइड्रोफ्लोरो कार्बन(एचएफसी)’ ग्यास हो ।

पुराना एयरकन्डिस्नर युनिटहरूमा भने ‘आर–४१०ए’ लेखिएका हुन्थे, जुन विभिन्न एचएफसीहरूको मिश्रण हो । ‘आर–४१०ए’ले कार्बनडाइअक्साइडले भन्दा लगभग दुई हजार गुणा बढी तापलाई सोस्न सक्छन् । पछिल्लो आर–३२ पनि एक शक्तिशाली हरितगृह ग्यास भए पनि यसले आर–४१०ए को तुलनामा एकतिहाइ मात्र तापलाई अवशोसित गर्छ ।

वैज्ञानिकहरू दशकौँदेखि नै ‘रेफ्रिजरेन्ट’का नकारात्मक प्रभावप्रति चिन्तित रहँदै आएका छन् । तर, सन् १९७० र १९८० को दशकतिर यसलाई लिएर उनीहरूको मुख्य चिन्ता यसले जलवायुमा पार्ने प्रभावभन्दा ‘ओजोन’ तहलाई हानि पुर्याएको तथ्यलाई लिएर थियो । यसै समयतिर अनुसन्धानकर्ताहरूले त्यतिवेला सबैभन्दा धेरै प्रयोग हुने ‘रेफ्रिजरेन्ट’ क्लोरोफ्लोरोकार्बन(सिएफसी)ले ‘र्स्ट्याटोस्फेरिक’ ओजोनलाई हानि पुर्याइरहेको पत्ता लगाए । ‘र्स्ट्याटोस्फेरिक’ ओजोनले मानिसलाई छालाको क्यान्सर निम्त्याउने पराबैजनी विकिरणबाट जोगाउने गर्छ । अन्टार्कटिकाको आकाशमाथि ओजोन तहमा ‘प्वाल’ परेको पत्ता लागेपछि, विश्वका अधिकांश राष्ट्रहरूले सन् १९८७ मा ‘मोन्ट्रियल प्रोटोकल’ भनेर चिनिने ऐतिहासिक वातावरणीय सन्धिमा हस्ताक्षर गरे ।

मोन्ट्रियल प्रोटोकल र यसका पछिल्ला संशोधनको बलियो प्रावधानको कार्यान्वयन हुँदा चरणबद्ध रूपमा सिएफसीको प्रयोग बन्द भयो । अन्तरिम उपायको रूपमा सिएफसीको स्थानमा ‘हाइड्रोक्लोरोफ्लोरोकार्बन(एचसिएफसी)’ भनिने ओजोन तहलाई कम हानि गर्ने यौगिकहरूलाई प्रयोग गर्न थालियो । सन् १९९० को दशकमा एचसिएफसीलाई पनि हाल प्रयोगमा रहेको एचएफसीले विस्थापित गर्न थाल्यो । एचएफसीले त ओजोन तहलाई झन् अतिकति पनि हानि पुर्याउँदैनन् । अध्ययनहरूका अनुसार ‘मोन्ट्रियल प्रोटोकल’ कार्यान्वयन नभएको भए अन्टार्कटिकाको आकाशमा मात्र होइन, आर्कटिक क्षेत्रको ओजोन तहमा प्वालहरू पर्न सक्थ्यो । यही विश्वव्यापी सामूहिक प्रयासले अहिले प्वाल परेको ओजोन तहमा समेत सुधार देखिन थालेको छ ।

तर, एउटा समस्याको समाधानका रूपमा आएको एचएफसीहरू योगिकले अहिले अर्को समस्या ल्याएको छ । सिएफसीहरू र एचसिएफसीहरूजस्तै, एचएफसीहरू पनि अत्यन्त शक्तिशाली हरितगृह ग्यास हुन् । अनुमानका अनुसार यदि यिनलाई नियन्त्रण गरिएन भने यस शताब्दीको अन्त्यसम्ममा यिनले मात्र विश्वको तापक्रममा ०.३ देखि ०.५ डिग्री सेल्सियससम्म वृद्धि गर्न योगदान गर्न सक्छन् । यो भनेको मानव गतिविधिका कारण हुन सक्ने करिब १.२ डिग्री सेल्सियस तापक्रम वृद्धिको एक ठुलो हिस्सा हो ।

सन् २०१६ अक्टोबर १५ मा, ‘मोन्ट्रियल प्रोटोकलका पक्ष राष्ट्रहरू रुवान्डाको किगालीमा भेला भएका थिए । उनीहरूले एचएफसीको उत्पादन क्रमशः कम गर्दै बन्द गर्ने र त्यसको स्थानमा न्यून परिणाममा ‘ग्लोबल वार्मिङ’ गर्न सक्ने ग्यासहरूको प्रयोगलाई बढावा दिँदै सहमति जनाए । (यहाँ ग्लोबल वार्मिङ कम गर्ने ग्यासको क्षमता तुलनाका लागि कार्बन डाइअक्साइडभन्दा कति बढी ताप सोस्छ भनेर ख्याल गरिन्छ ।) अर्थात्, सन् २०१६ को भेलामा पहिलोपटक जलवायुमा पार्ने प्रभावकै आधारमा कुनै ग्यासलाई नियन्त्रण गर्ने सहमति भएको थियो ।

‘मोन्ट्रियल प्रोटोकल’को ‘किगाली संशोधन’ हुनुभन्दा दुई वर्षअघि नै युरोपेली संघ(इयू)ले एचएफसीहरूको प्रयोग क्रमशः घटाउने नियम लागू गरिसकेको थियो । अब यी नियमहरूले युरोप र बेलायतलाई किगाली सम्झौताअन्तर्गतका आफ्ना प्रतिबद्धता पूरा गर्न मद्दत पुर्याउँछन् । यही नियमअनुसार सन् २०२५ को जनवरीदेखि, बेलायतमा बिक्री हुने नयाँ साना ‘स्प्लिट’ एयर कन्डिसनरहरूमा (एउटा मात्र कोठालाई तताउन वा चिसो पार्न प्रयोग हुने एकाइ) ‘आर–४१०ए’ को प्रयोग गर्न पाइनेछैन । त्यस्तै, सन् २०२० देखि नै ‘पोर्टेबल’ (सहजै ओसारपसार गर्न मिल्ने) एयर कन्डिस्नरका एकाइमा उच्च ग्लोबल वार्मिङ क्षमता भएका ग्यासको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । युरोपेली संघले सन् २०५० सम्ममा एचएफसीहरूलाई लगभग पूर्ण रूपमा हटाउने लक्ष्य राखेको छ ।

एयर कन्डिसनरहरूमा टाँसिएका लेबलहरू हेर्नुबाहेक हामीजस्ता वैज्ञानिकहरूलाई ‘किगाली संशोधन’ले प्रभावकारी काम गरिरहेको छ कि छैन भनेर कसरी थाहा हुन्छ त ? यसको सबैभन्दा प्रत्यक्ष उपाय भनेको वायुमण्डलको मापन गर्नु हो । आयरल्यान्डको पश्चिमी तटमा रहेको वायुमण्डलीय अनुसन्धान स्टेसन ‘मेस हेड’का उपकरणले सन् १९८७ देखि निरन्तर यी ग्यासको मापन गर्दै आएका छन् । ‘मेस हेड’ विश्वभर रहेका सीमित स्टेसनमध्ये एकमा पर्छ, जसले हावाको प्रतिट्रिलियन (१० खर्ब)को सानो अंशमा पनि एचएफसी ग्यास मापन गर्न सक्छ ।

वायुमण्डलीय तथ्यांकले पछिल्लो दशकमा एचएफसी यौगिकहरू वातावरणमा उल्लेखनीय वृद्धि भएको पाइएको छ । तर, तिनीहरूको उत्सर्जनको समग्र वृद्धि भने सुस्त हुँदै गएको छ । एचएफसी उत्सर्जन किगाली संशोधनमा सहमति हुनुभन्दा पहिले अनुमान गरिएकोभन्दा धेरै कम छ । सन् २०२५ को एक अध्ययनले विभिन्न परिवर्तनका कारण एयर कन्डिस्नरको मागमा ठुलो वृद्धि भए पनि यसको जलवायु प्रभाव आजकै स्तरमा स्थिर रहनेछ, या थप कम हुन सक्छ ।

किगाली संशोधनले सुधार गरेको प्रारम्भिक संकेत दिएको छ । तर, अझै पनि यसैमा सन्तुष्ट भएर बस्ने अवस्था छैन । एयर कन्डिस्नर र फ्रिजहरूमा प्रयोग हुने ‘रेफ्रिजरेन्ट’ ग्यास कुन राख्ने भन्ने कुरालाई लगभग ४० वर्षदेखि ‘मोन्ट्रियल प्रोटोकल’ले आकार दिइरहेको छ । यसले प्रभावकारी काम गरेको तथ्यांकले देखाउँछ । अझ कुन ठाउँमा यसले काम गरेको छ र कुन कुरामा थप सघन जाँच आवश्यक छ भनेर पनि अनुसन्धानकर्ताको वायुमण्डल मापन देखाउँदै आएको छ । अब मुख्य चुनौती जारी अनुगमनलाई कायम राख्दै थप विस्तारका क्षेत्रमा काम गर्नु हो । तब मात्र किगाली संशोधनको उल्लेखनीय विरासतलाई निरन्तरता दिन सकिन्छ । 

(म्याट रिग्वी ब्रिस्टोल विश्वविद्यालयका वायुमण्डलीय रसायनशास्त्रका रिडर हुन् भने कारपन्टेर युनिभर्सिटी अफ योर्ककी वायुमण्डलीय रसायनशास्त्रका प्राध्यापक हुन् । द कन्भर्सेसनबाट श्रवण उप्रेतीको अनुवाद ।)
 

सुझावित समाचार