- क्यान्डिडेट क्लबले उम्मेदवार छनोटलाई नेताको आशीर्वाद र भनसुनबाट बाहिर निकालेर वस्तुनिष्ठ मापदण्डमा आधारित बनाउने ढोका खोलेको छ
लाेकतन्त्रमा आवधिक निर्वाचन हुनु र लोकतान्त्रिक संस्कारको संस्थागत विकास हुनु एउटै होइनन् । निर्वाचनले जनप्रतिनिधि छान्छ, तर निर्वाचित प्रतिनिधिको कार्यक्षमता, दृष्टिकोण, निष्ठा र इमानदारीले नै शासनको गुणस्तर, सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता र नागरिकप्रतिको उत्तरदायित्व निर्धारण गर्छ । त्यसैले, राजनीतिक दलहरूले उम्मेदवार छनोट कसरी गर्छन् भन्ने विषय उनीहरूको आन्तरिक मामिला मात्र होइन, यो समग्र सार्वजनिक शासनको गुणस्तर र मुलुकको सुशासनसँग प्रत्यक्ष जोडिएको विषय हो । नेपालको परम्परागत राजनीतिक अभ्यास हेर्ने हो भने उम्मेदवार छनोट गर्दा शीर्ष नेतृत्वसँगको निकटता, गुटगत सन्तुलन, चाकरी, भनसुन र चुनाव जित्न सक्ने अनुमान वा बाहुबलले महत्व पाउँदै आएको सुनिन्छ । कतिपय अवस्थामा त आर्थिक प्रभाव, दलाल–पुँजीपतिसँगको साँठगाँठ र बिचौलियाको पहुँच नै टिकट पाउने मुख्य आधार बन्ने गरेका उदाहरण प्रशस्तै छन् । लोकप्रिय हुनु, पार्टीमा लामो समय योगदान दिनु र सार्वजनिक जिम्मेवारी कुशलतापूर्वक सम्हाल्न सक्षम हुनु फरक–फरक कुरा हुन् । तर, यी पक्षको वस्तुनिष्ठ र पारदर्शी मूल्यांकन गर्ने संस्थागत परम्परा भने हाम्रा स्थापित दलमा छैन ।
यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी अघि सारेको ‘क्यान्डिडेट क्लब’ उम्मेदवार छनोटको एउटा अत्यन्तै नवीन, साहसिक र वैकल्पिक अभ्यासका रूपमा प्रकट भएको छ । यसको महत्व केवल नयाँ विधि प्रस्तुत गर्नुमा मात्र होइन, नेपाली राजनीतिमा योग्यता (मेरिटोक्रेसी), खुला प्रतिस्पर्धा र उत्तरदायित्वमा आधारित नयाँ राजनीतिक संस्कार विकास गर्ने अभूतपूर्व सम्भावनामा निहित छ । रास्वपाले निश्चित समयावधि र मापदण्ड तोकेर नयाँ व्यक्तिलाई पनि उम्मेदवार छनोट प्रक्रियामा प्रवेश गर्ने ढोका खोलिदिनु अत्यन्त सकारात्मक पहल हो । लामो समय पार्टीमा समय बिताएको ‘योगदान’लाई मात्र उम्मेदवारीको आधार नबनाई व्यक्तिको क्षमता, अनुभव, विषयगत विज्ञता र सम्भावनालाई समेत महत्व दिनु यसको उल्लेख्य पक्ष हो । यसले संगठनमा योगदान गरेका पुराना व्यक्तिको भूमिकालाई अस्वीकार गर्दैन, बरु संगठनात्मक योगदानसँगै सार्वजनिक जिम्मेवारी वहन गर्न सक्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने आधुनिक राजनीतिक मान्यतालाई स्थापित गर्छ ।
सबै नागरिकले राजनीतिलाई नै आफ्नो जीवनको मुख्य पेसा बनाउनुपर्छ भन्ने छैन । शिक्षा, स्वास्थ्य, प्रशासन, कानुन, सहकारिता, उद्यमशीलता, सामाजिक सेवा र अन्य विविध पेसागत क्षेत्रमा उच्च अनुभव हासिल गरेका सक्षम नागरिकले पनि आफ्नो ज्ञान र सिप सार्वजनिक हितमा प्रयोग गर्न पाउनुपर्छ । वर्षौंसम्म पार्टीको झोला बोकेर वा चाकरी गरेर समय बिताउनैपर्ने बाध्यताका कारण समाजका धेरै प्रतिभाशाली र निष्ठावान् व्यक्तिहरू राजनीतिक प्रतिस्पर्धाबाहिर रहन बाध्य थिए । निश्चित र पारदर्शी प्रक्रियामार्फत आफ्नो योग्यता प्रस्तुत गर्ने अवसरले यस्तो बाधा घटाउँछ । यस अर्थमा ‘क्यान्डिडेट क्लब’ले राजनीतिलाई सीमित व्यक्तिको निरन्तर पेसागत एकाधिकारका रूपमा हेर्ने परम्परागत प्रवृत्तिलाई कडा चुनौती दिँदै नयाँ सम्भावनाको ढोका खोलेको छ ।
लोकप्रियताबाट संस्थागत संगठनतर्फ : रास्वपाको उदय परम्परागत राजनीतिक दलप्रतिको असन्तुष्टि, नयाँ राजनीतिक विकल्पप्रतिको अपेक्षा र व्यापक जनलोकप्रियतासँग जोडिएको छ । यही लोकप्रियताले उसलाई छोटो समयमै चुनावी सफलता हासिल गर्न गति प्रदान गर्यो । तर, क्षणिक लोकप्रियताबाट राजनीतिक शक्ति निर्माण गर्नु र त्यसलाई व्यवस्थित, अनुशासित तथा संस्थागत संगठनमा रूपान्तरण गर्नु फरक र कठिन चुनौती हुन् । कुनै पनि दल लोकप्रियताका आधारमा तीव्र रूपमा विस्तार हुन सक्छ, तर बलियो संगठनात्मक संरचना, परिपक्व नेतृत्व विकास र आन्तरिक निर्णय प्रक्रियालाई संस्थागत बनाउन समय र गम्भीर अभ्यासको खाँचो पर्छ । यही सन्दर्भमा क्यान्डिडेट क्लब रास्वपाका लागि केवल उम्मेदवार छनोटको माध्यम मात्र होइन, सिंगो संगठन निर्माण र सुदृढीकरणको गतिलो अवसर पनि बन्न सक्छ । क्लबमा सहभागी हुने सम्भावित उम्मेदवारले एक–अर्काको विचार, अनुभव, चरित्र र सामाजिक व्यवहार नजिकबाट बुझ्ने मौका पाउँछन् । यसले सार्वजनिक जिम्मेवारीप्रतिको दृष्टिकोण, स्थानीय समस्याको गहिरो बुझाइ र समाजमा योगदान दिन सक्ने क्षमताको वस्तुनिष्ठ पहिचान गराउँछ । यसरी हेर्दा क्यान्डिडेट क्लबले योग्य उम्मेदवार छान्ने मात्र नभई उनीहरूलाई साझा राजनीतिक उद्देश्यमा जोड्ने काम पनि गर्छ, जसले लोकप्रियताबाट प्राप्त अपार जनसमर्थनलाई स्थायी संस्थागत संगठन र उत्तरदायी राजनीतिक अभ्यासमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउँछ ।
स्थानीय सरकार र नेतृत्वको नयाँ मानक : स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार हो । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, बजेट व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा स्थानीय सरकारको कार्यक्षमताले नागरिकको दैनिक जीवनस्तर निर्धारण गर्छ । त्यसैले, स्थानीय तहको उम्मेदवारसँग राजनीतिक नारा, भाषणकला वा दलगत निष्ठा मात्र भएर पुग्दैन । उम्मेदवारसँग आफ्नो पालिका वा वडाका मुख्य समस्या के हुन्, ती समस्या सिर्जना हुनुका मूल कारण के हुन् र उपलब्ध वित्तीय तथा कानुनी अधिकार उपयोग गरी ती समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने स्पष्ट, व्यावहारिक र वैज्ञानिक खाका हुनुपर्छ । समस्या पहिचान गर्न नसक्नेले प्राथमिकता निर्धारण गर्न सक्दैन, कारण नबुझ्नेले दिगो समाधान दिन सक्दैन । स्रोत, समय र कार्यान्वयनको सम्भाव्यता नहेरी बनाइएका योजना घोषणापत्रमा आकर्षक देखिए पनि व्यवहारमा निष्प्रभावी बन्छन् । त्यसैले, भाषणकला र सामाजिक सञ्जालको क्षणिक लोकप्रियताभन्दा समस्या विश्लेषण, योजना निर्माण र समाधान प्रस्तुत गर्ने क्षमताको मूल्यांकन आवश्यक हुन्छ । क्यान्डिडेट क्लबले उम्मेदवार छनोटलाई नेताको आशीर्वाद र भनसुनबाट बाहिर निकालेर वस्तुनिष्ठ मापदण्डमा आधारित बनाउने ढोका खोलेको छ ।
यस प्रक्रियामा निर्धारण गरिएका मूल्यांकनका आधार आफैँमा सन्तुलित र प्रगतिशील देखिन्छन् । जसमा लिडरसिप एकेडेमी (नेतृत्व एकेडेमी) का लागि २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटी (राजनीतिक निकटता तथा पृष्ठभूमि) का लागि २५ प्रतिशत, समावेशिता (इन्क्लुसिभिटी) का लागि १० प्रतिशत र प्राइमरी इलेक्सन (प्राथमिक निर्वाचन) का लागि ४० प्रतिशत अंकभार छुट्याइएको छ । यसले उम्मेदवारलाई एउटै आधारमा मात्र नभई बहुआयामिक पक्षबाट मूल्यांकन गर्ने प्रयास गरेको छ । यहाँ लिडरसिप एकेडेमीलाई उम्मेदवारलाई अनुत्तीर्ण गराउने परीक्षाका रूपमा भन्दा पनि भोलि निर्वाचित भएपछि स्थानीय सरकार चलाउन आवश्यक कानुनी, प्रशासनिक र वित्तीय ज्ञान दिने तयारीका रूपमा लिनु उपयुक्त हुन्छ । त्यसैगरी, पोलिटिकल प्रोक्सिमिटीलाई मापन गर्दा पार्टीप्रतिको वैचारिक स्पष्टता र निष्ठालाई वस्तुगत आधारमा हेरिनुका साथै सामाजिक पृष्ठभूमि, व्यक्तिगत आचरण र योग्यता क्षमतासहित चुनाव जित्ने आधारमा मूल्यांकन हुनुपर्छ, जसले गर्दा चाकरी प्रथा स्वतः विस्थापित हुनेछ । ४० प्रतिशतको प्राइमरी इलेक्सनले पार्टीका आमसदस्यलाई उम्मेदवार छनोटमा प्रत्यक्ष भाग लिने लोकतान्त्रिक अधिकार दिएको छ, जुन नेपाली राजनीतिमा दुर्लभ अभ्यास हो ।
सम्भावनासँगै सजगताका आयाम : रास्वपाजस्तो नवीन राजनीतिक शक्तिका लागि क्लब आफैँमा एउटा ठुलो सम्भावना र अवसर भए पनि यसको सफल कार्यान्वयनका लागि केही व्यावहारिक पक्षमा भने उच्च सजगता अपनाउनु जरुरी देखिन्छ । खुला आवेदनको व्यवस्थाले गर्दा कतिपय अवस्थामा लहरमा परेर अपरिपक्व वा केवल चर्चामा आउन चाहने व्यक्तिहरूले समेत हतारमा उम्मेदवारी दिने जोखिम रहन सक्छ । पहिले निवेदन दिने वा चर्चामा आउने होडबाजीले गर्दा आफूले दाबी गरेको पदको ओजन, गरिमा र गम्भीरता घट्न सक्ने सम्भावनाप्रति नेतृत्व सचेत हुनुपर्छ । क्लबलाई समाज र पार्टीप्रतिको दीर्घकालीन जिम्मेवारी वहन गर्ने थलोभन्दा पनि सामाजिक सञ्जालमा चर्चित हुने वा व्यक्तिगत ब्रान्डिङ गर्ने माध्यम बन्न नदिन निश्चित मापदण्ड र अनुगमनको संयन्त्र बनाउनु हितकर हुन्छ ।
अर्कोतर्फ, पालिका, वडा वा जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारी तथा नेतृत्व तहमा बसेका व्यक्तिले आफूलाई प्राप्त पहुँच र ‘एक्सेस’को दुरुपयोग गर्ने सम्भावनालाई पनि वेलैमा सम्बोधन गरिनुपर्छ । स्थानीय संयन्त्रमा बस्नेहरूले आफ्ना नजिकका मानिसलाई प्राथमिकता दिने वा सूचनामा पूर्वपहुँच पुर्याउने काम गरेमा सिंगो प्रक्रियाको निष्पक्षता र वैधानिकतामाथि प्रश्न उठ्न सक्छ । यसैगरी, दुई–तीन वर्षअघिदेखि पार्टी निर्माणमा रातदिन नभनी खटिएका, संगठन विस्तारमा पसिना बगाएका पुराना र निष्ठावान् कार्यकर्तामा आफूहरू पछि परिने हो कि भन्ने संशय उत्पन्न हुन नदिनु पार्टीको दायित्व हो । नयाँ प्रतिभालाई स्वागत गर्दैगर्दा पुराना कार्यकर्ताको योगदान, त्याग र निष्ठाको उचित सम्मान र सन्तुलन मिलाउन सकेमा मात्रै पार्टीको आन्तरिक एकता झनै मजबुत भएर जानेछ । प्राइमरी इलेक्सनमा पनि केवल सामाजिक सञ्जालको भ्रामक प्रचार वा व्यक्तिगत पहुँचका आधारमा मात्रै मत प्रभावित नहोस् भन्नका लागि आमसदस्यले उम्मेदवारको वास्तविक योजना र क्षमता बुझ्न पाउने पारदर्शी वातावरण बनाउनु आवश्यक छ ।
रास्वपाका लागि क्यान्डिडेट क्लब उम्मेदवार छनोटको माध्यम मात्र नभई, पार्टीको स्थानीय संगठन र स्थापित कार्यपद्धति पूर्ण रूपमा विकसित भइनसकेको अवस्थामा सम्भावित उम्मेदवारको पहिचान, क्षमता परीक्षण र स्थानीय मुद्दामाथि विमर्श गर्ने साझा मञ्च बन्न सक्छ । साथै, जिम्मेवार सदस्यता र संस्थागत निर्णय प्रक्रियाको अभ्यासमार्फत यसले दीर्घकालीन, विश्वसनीय र लोकतान्त्रिक संगठन निर्माणको बलियो आधार तयार गर्न सक्छ ।
राजनीतिक रूपान्तरणको नयाँ आशा : यी तमाम व्यावहारिक पक्षमा ध्यान दिँदै अघि बढ्न सकेमा रास्वपाले अघि सारेको ‘क्यान्डिडेट क्लब’को परिकल्पना नेपाली राजनीतिमा उम्मेदवार छनोटको अभ्यासबारे नयाँ मानक स्थापित गर्ने ऐतिहासिक कदम बन्नेछ । शीर्ष नेताको खल्ती वा तजबिजबाट टिकट बाँड्ने परम्परागत कुसंस्कारलाई चुनौती दिँदै योग्यता, क्षमता र पारदर्शी प्रतिस्पर्धालाई आधार बनाउने यो प्रयास आफैँमा लोकतान्त्रिक र प्रशंसायोग्य छ । यो अभ्यासको महत्व केवल रास्वपामा मात्र सीमित छैन । देशभर वडा र टोलसम्म संगठन भएका, लामो राजनीतिक इतिहास र अनुभव बोकेका पुराना दलका लागि पनि यो एउटा अनुकरणीय दृष्टान्त बन्न सक्छ । स्थापित दलले अझै पनि चाकरी, गुटबन्दी र आर्थिक लेनदेनका आधारमा उम्मेदवार तय गरिरहँदा, रास्वपाको यो प्रयोगले पुराना दललाई पनि आफ्ना उम्मेदवार छनोट प्रक्रियालाई खुला, प्रतिस्पर्धी र पारदर्शी बनाउन सकारात्मक दबाब सिर्जना गर्नेछ ।
नयाँ पुस्ताले व्यक्त गरेको योग्यतातन्त्र र जवाफदेहिताको अपेक्षालाई व्यवहारमा उतार्न सकियो भने मात्र विभिन्न पेसा र क्षेत्रमा रहेका सक्षम नागरिक राजनीतिमा आउन प्रोत्साहित हुनेछन् । त्यसका लागि क्यान्डिडेट क्लबको नाम मात्र होइन, यसको मूल मर्म समान अवसर, निष्पक्ष मूल्यांकन, आन्तरिक सन्तुलन र पारदर्शी कार्यान्वयनलाई अक्षुण्ण राख्दै अघि बढ्नुपर्छ ।
अन्ततः, राजनीतिबाहिर रहेर पनि देश र समाजका लागि योगदान दिन चाहने सक्षम, निष्ठावान् र नयाँ पुस्ताका नागरिकका लागि राजनीतिको ढोका खुला गर्दै रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत एउटा नवीन र रूपान्तरणकारी अभ्यासको थालनी गरेको छ । परम्परागत चाकरी, भनसुन र गुटगत भागबन्डाको राजनीतिक संस्कारलाई चुनौती दिँदै योग्यता, क्षमता र सार्वजनिक दृष्टिकोणलाई अवसरसँग जोड्ने यो पहल अत्यन्तै सराहनीय छ । यदि यसको मूल मर्मलाई कुनै पनि पूर्वाग्रहविना निष्पक्ष, पारदर्शी र सन्तुलित रूपमा कार्यान्वयन गर्न सकियो भने यसले रास्वपालाई अझ मजबुत र लोकप्रिय बनाउनुका साथै समग्र नेपाली राजनीतिमै सक्षम, इमानदार र उत्तरदायी नेतृत्व छनोटको एउटा ऐतिहासिक र युगान्तकारी मानक स्थापित गर्नेछ ।