भाषाको दुस्मन होइन प्रविधि

शनिबार, १४ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • मातृभाषा पढेर के हुन्छ भन्ने प्रश्न तबसम्म उठिरहन्छ, जबसम्म त्यसलाई रोजगारी र अवसरसँग जोडिँदैन

सूचना प्रविधिको तीव्र विकासले हाम्रो सामाजिक, सांस्कृतिक र भाषिक जीवनमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ । प्रविधिको विकाससँगै भाषाको प्रचार–प्रसार, प्रयोग र विस्तारका नयाँ माध्यम उपलब्ध भएका छन् । विज्ञापन, प्रचार–प्रसारदेखि सामाजिक सञ्जालसम्म भाषाको प्रयोग व्यापक बनेको छ । कुनै सामग्री सामाजिक सञ्जालमा प्रस्तुत भएपछि त्यसको फैलावट र प्रभाव अत्यन्त तीव्र गतिमा हुने गर्छ । यस अर्थमा प्रविधि भाषा प्रवर्द्धनको प्रभावकारी माध्यम बनेको छ । तर, यसको अर्को पाटो पनि छ, भाषाको मौलिक स्वरूप, प्रयोगको शुद्धता र स्थानीय भाषिक पहिचानमा यसले चुनौती थपिरहेको छ ।

प्रविधि र भाषिक परिवर्तन
प्रविधिसँगै अंग्रेजी भाषाको विस्तार र व्यापक प्रयोग पनि बढ्दै गएको छ । हिजोका दिनमा हामीले आफ्ना रैथाने तथा मातृभाषा जसरी बोल्थ्यौँ, ती भाषामा अहिले विभिन्न भाषाको मिसावट बढेको देखिन्छ । विशेषतः अंग्रेजी माध्यमबाट दिइने शिक्षा लोकप्रिय हुँदै जानु, बालबालिकाले हेर्ने कार्टुन, भिडियो तथा मनोरञ्जनका सामग्रीमा अंग्रेजी र हिन्दी भाषाको प्रभुत्व हुनुजस्ता कारणले मातृभाषाका मौलिक शब्द प्रयोगबाट क्रमशः हराउँदै गएका छन् ।

कतिपय सांस्कृतिक, संस्कारसँग सम्बन्धित तथा स्थानीय शब्द लोप हुने क्रममा छन् । यसलाई भाषामा एकप्रकारको ‘ठिमाहापन’ आएको भन्न सकिन्छ । यो प्रभाव बोलाइमा मात्र सीमित छैन, लेखनमा समेत देखिन थालेको छ । मानिसले सामान्यत जे बोल्छ, त्यही लेख्ने भएकाले बालबालिकाले सानै उमेरदेखि ग्रहण गरेको भाषिक अभ्यासले उनीहरूको लेखनमा पनि प्रभाव पारिरहेको छ ।

आज कुनै विषयमा जानकारी लिनुपर्यो भने तत्काल एआई वा इन्टरनेटको सहारा लिने प्रवृत्ति बढेको छ । पहिले पढ्ने, लेख्ने, अभ्यास गर्ने, घोक्ने र स्मृतिमा राख्ने जुन पद्धति थियो, त्यो क्रमशः कमजोर हुँदै गएको छ । सूचना र ज्ञान प्राप्त गर्ने प्रक्रिया सहज भएको छ, तर त्यससँगै गहिरिएर पढ्ने र सिक्ने संस्कारमा भने चुनौती थपिएको छ ।

समयको गतिसँगै हामी पनि गतिशील हुनैपर्छ । विज्ञान र सूचना प्रविधिमा नयाँ–नयाँ आविष्कार तथा अनुसन्धान भइरहेका छन् । हामीले ती प्रविधि प्रयोगमा ल्याएका छौँ । त्यससँगै प्रविधिसँग जोडिएका नयाँ शब्द पनि हाम्रो भाषामा प्रवेश गर्छन् । यस्ता शब्दलाई आगन्तुक वा प्राविधिक शब्दका रूपमा स्वीकार गर्नैपर्छ । अन्यथा, विश्वव्यापी सन्दर्भमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ ।

आगन्तुक वा प्राविधिक शब्दको प्रयोग गर्नु आफैँमा गलत होइन, प्रश्न यति मात्र हो, कुन शब्द कति प्रयोग गर्ने र कुन सन्दर्भमा कसरी प्रयोग गर्ने ? त्यसको हेक्का राख्नुपर्छ । नयाँ शब्दलाई निषेध गरेर हामी अगाडि बढ्न सक्दैनौँ । बरु परिवर्तित सन्दर्भमा आफ्ना भाषालाई कसरी जोगाउँदै लैजाने भन्ने विषयमा बालबालिकालाई प्रशिक्षण र अभिमुखीकरण दिन आवश्यक छ ।

रोमन लेखन र भाषिक शुद्धताको चुनौती
शब्द केवल शब्द मात्र होइन । त्यसको व्युत्पत्ति खोज्दै जाँदा त्यो कहाँबाट आयो ? कुन सन्दर्भमा निर्माण भयो ? किन प्रयोग भयो भन्ने इतिहास र संस्कृति जोडिएको हुन्छ । हामीले च्याट गर्दा नेपाली, तामाङ, मगर, केवरत वा अन्य जुनसुकै भाषा प्रयोग गर्न सक्छौँ । त्यसका लागि केही समय बढी लाग्न सक्छ । तर, समय बचाउने नाममा हेलचेक्य्राइँपूर्वक रोमन लिपि प्रयोग गर्ने प्रवृत्तिले दीर्घकालीन भाषिक असर पार्न सक्छ ।

डिजिटल माध्यममा छिटो सञ्चार गर्ने होडबाजीले वाक्य संरचना र भाषाको शुद्धतामा अहिले नै समस्या देखिन थालेको छ । कतिपयले ‘ह्रस्व–दीर्घ किन चाहियो ? बुझ्ने त हो नि !’ भन्ने गरेको सुनिन्छ । भाषा केवल बुझ्नका लागि मात्र होइन, त्यसको संरचना, अर्थ र मौलिकता जोगाउन पनि हो ।

अझ अर्को समस्या के छ भने अहिलेका विद्यार्थी पढाइ र अभ्यासभन्दा अडियो तथा भिडियो सामग्रीतिर बढी केन्द्रित भएका छन् । एउटै पाठ्यक्रम र उस्तै समय हुँदाहुँदै पनि हिजो विद्यार्थीलाई पढ्न समय पुग्थ्यो, आज समय पुग्दैन । यसको एउटा कारण पढ्ने र अभ्यास गर्ने बानी कमजोर हुनु पनि हो ।

एआई सहयोगी कि जोखिम ?
अहिले एआईका कारण तत्काल जवाफ पाउन सहज भएको छ । तर, एआईको प्रयोगलाई न राम्रो मात्र भन्न सकिन्छ, न पूर्ण रूपमा खराब । यसको प्रयोग कसरी गरिन्छ भन्ने कुरा महत्वपूर्ण हो । तपाईंलाई कुनै विषयको राम्रो जानकारी छ भने एआईबाट प्राप्त उत्तरलाई मूल्यांकन गर्न सक्नुहुन्छ । तर, विषयबारे पर्याप्त जानकारी छैन भने एआईले दिएको गलत सूचना पनि सही हो भन्ने भ्रम पर्न सक्छ । अन्ततः एआई मानिसले निर्माण गरेको कृत्रिम उपकरण हो । यसले आफैँ सत्य र असत्य छुट्याउनेभन्दा उपलब्ध सूचनाका आधारमा उत्तर प्रस्तुत गर्छ । त्यसैले, एआईलाई अन्तिम सत्यका रूपमा होइन, सहयोगी उपकरणका रूपमा लिनुपर्छ । कतिपय प्राविधिक वा स्थानीय शब्दको नेपाली अनुवादसमेत उपलब्ध नहुन सक्छ । त्यसैले, एआईले दिएको सामग्रीको सान्दर्भिकता, उपलब्धता र विश्वसनीयता मूल्यांकन गरेर मात्र प्रयोग गर्नुपर्छ ।

भाषा, रोजगारी र अवसर
मातृभाषा शिक्षा र रैथाने ज्ञानको कुरा गर्दा त्यसलाई उत्पादन र रोजगारीसँग जोड्नैपर्छ । आजको मानिस उपभोक्तावादी समाजमा बाँचिरहेको छ । उसले कुन ज्ञान वा सिप बजारमा बिक्छ, कुन क्षेत्रमा रोजगारी पाइन्छ र कुन कुरा सिक्दा आर्थिक अवसर प्राप्त हुन्छ भन्ने आधारमा आफ्नो प्राथमिकता निर्धारण गर्छ ।

हामी भाषा, साहित्य, कला, संस्कृति र लोकपरम्परा बचाउनुपर्छ भन्छौँ । तर, आधारभूत आवश्यकता पूरा गर्न नै कठिन भइरहेको व्यक्तिले यी विषयबारे कसरी सोच्ने ? त्यसैले, मातृभाषा संरक्षणलाई केवल भावनात्मक मुद्दाका रूपमा हेरेर पुग्दैन, यसलाई आर्थिक अवसर र रोजगारीसँग जोड्नुपर्छ ।

यदि केवरत भाषा पढ्दा रोजगारीको अवसर नपाइने तर कोरियन भाषा पढ्दा राम्रो आम्दानी हुने अवस्था छ भने युवाहरू कोरियन भाषा सिक्न आकर्षित हुनु स्वाभाविक हो । वर्चस्वशाली भाषा केवल बोल्ने मानिसको संख्याका आधारमा शक्तिशाली हुने होइन, त्यसको प्रयोग कहाँ र कति भइरहेको छ भन्ने कुराले पनि त्यसको शक्ति निर्धारण गर्छ ।

त्यसैले, मातृभाषाका शिक्षकको पर्याप्त दरबन्दी सिर्जना गर्ने, मातृभाषामा सामग्री निर्माण गर्ने र त्यसलाई रोजगारी तथा अवसरसँग जोड्ने हो भने मातृभाषाप्रति आकर्षण बढाउन सकिन्छ ।

वर्चस्वशाली भाषाको विस्तार
आज एउटा बच्चा जन्मिएपछि मातृभाषा छोडेर सकी–नसकी अंग्रेजी बोल्न खोज्ने अवस्था देखिन्छ । अंग्रेजी वा अन्य वर्चस्वशाली भाषाको प्रभाव बढ्नुको कारण केवल भाषा आफैँ होइन । त्यससँग रोजगारी, प्रविधि, शिक्षा र विश्वव्यापी सम्पर्क जोडिएको छ । मोबाइल चलाउनदेखि विभिन्न डिजिटल उपकरण प्रयोग गर्नसम्म अंग्रेजीको आवश्यकता पर्ने अवस्था छ । अधिकांश प्रविधि निर्माणकर्ताको भाषा अंग्रेजी भएकाले पनि यसको प्रभुत्व बढेको हो । यसरी हेर्दा आज सांस्कृतिक साम्राज्यवादको नयाँ स्वरूप देखिन थालेको छ । हिजो ब्रिटिसहरू आएर प्रत्यक्ष शासन गर्थे भने आज प्रविधिका उपकरण र डिजिटल सामग्रीमार्फत घर–घरमा प्रभाव विस्तार भइरहेको छ ।

उदाहरणका रूपमा हाम्रो सांस्कृतिक व्यवहारलाई लिन सकिन्छ । ‘केक काट्नुपर्छ’ भनेर कुनै विदेशी व्यक्ति घर–घरमा आएर सिकाएको होइन । मिडियामार्फत त्यस्तो संस्कार लोकप्रिय भयो । बिहान पशुपतिनाथको दर्शन गर्ने र बेलुका केक काट्नेजस्ता मिश्रित सांस्कृतिक व्यवहार बढ्दै गएका छन् । यसले हाम्रो मौलिक संस्कृतिमा बाह्य प्रभाव कति गहिरो भइसकेको छ भन्ने देखाउँछ ।

प्रविधिको प्रभाव नकारात्मक मात्र छैन । सूचना प्रविधिको प्रयोगबाट भाषाको अभिलेखन गर्न सकिन्छ । लोपोन्मुख भाषाका शब्द, लोककथा, गीत, इतिहास, संस्कार र सांस्कृतिक सामग्री डिजिटल माध्यममा सुरक्षित गर्न सकिन्छ । यस अर्थमा प्रविधि भाषा संरक्षणको महत्वपूर्ण उपकरण बन्न सक्छ । तर, अभिलेखन गरेर मात्र भाषा जोगाउन सकिँदैन । भाषा प्रयोगमै आउनुपर्छ । भाषाको प्रयोग खानपान, खेती–किसानी, पारिवारिक व्यवहार, सामाजिक सम्बन्ध र दैनिक जीवनसँग जोडिएको हुनुपर्छ । शब्दकोश बनाउँदैमा, व्याकरण निर्माण गर्दैमा वा भाषाको अभिलेख राख्दैमा लोपोन्मुख भाषा बचाउन सकिँदैन ।

भाषालाई जीवित राख्ने सबैभन्दा महत्वपूर्ण आधार त्यसको प्रयोग हो । त्यसैले, भाषाका प्रयोगकर्ताका लागि स्थानीय भाषामा डिजिटल सामग्री निर्माण गर्नुपर्छ । बालबालिकाले आफ्नै भाषामा कार्टुन, कथा, गीत, भिडियो, खेल तथा शैक्षिक सामग्री पाउने वातावरण निर्माण गर्न सके मात्र प्रविधिलाई भाषाको संरक्षण र विस्तारको माध्यम बनाउन सकिन्छ ।

मातृभाषा, शिक्षा र राज्यको नीति
पछिल्लो समय उच्च माध्यमिक शिक्षा हासिल गरेपछि आर्थिक अवस्थाअनुसार विदेश जाने प्रवृत्ति बढेको छ । मातृभाषा पढ्नुपर्छ, देशमै केही गर्नुपर्छ भन्ने भावना कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा प्रश्न उठ्छ, कस्तो भाषा, कस्तो ज्ञान र कस्तो जनशक्ति उत्पादन गर्ने ? यी विषयमा राज्यले स्पष्ट नीति बनाउनु आवश्यक छ । नीतिअनुसार आवश्यक पूर्वाधार, रोजगारीका अवसर र सुविधा पनि उपलब्ध गराउनुपर्छ । मातृभाषा पढेर के हुन्छ भन्ने प्रश्न तबसम्म उठिरहन्छ, जबसम्म त्यसलाई रोजगारी र अवसरसँग जोडिँदैन ।

प्रविधिले हाम्रो भाषालाई समृद्ध बनाउने सम्भावना बोकेको भए पनि अहिलेका परिस्थितिमा जोखिम पनि बढाइरहेको छ । यससँग हाम्रो मानसिकता पनि जोडिएको छ । हामी गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर गर्व गर्छौं । बुद्धलाई ‘लाइट अफ एसिया’ भनेर विदेशीले दिएको परिचयलाई नै हामीले आफ्ना बालबालिकालाई घोकाइरहेका छौँ । हामीले आफ्नै दृष्टिकोणबाट बुद्धलाई ‘लाइट अफ द वर्ल्ड’ वा ‘लाइट अफ द युनिभर्स’ भनेर किन व्याख्या गर्न नसक्ने ? यसले हाम्रो भाषिक मात्र होइन, मानसिक उपनिवेशबाट समेत हामी अझै पूर्ण रूपमा मुक्त हुन नसकेको देखाउँछ ।

प्रविधिको विकाससँगै भाषाको प्रचार–प्रसारमा व्यापकता आएको छ । मिम, भिडियो, टिकटकजस्ता माध्यमबाट भाषिक सामग्री तीव्र रूपमा फैलिरहेको छ । तर, त्यसलाई भाषाको दिगो विकास र प्रयोगका लागि कसरी उपयोग गर्ने भन्ने विषयमा पर्याप्त ध्यान गएको देखिँदैन ।

प्रविधिलाई रोक्न सकिँदैन, न त रोक्नु नै उचित हुन्छ । विश्वस्तरमा प्रतिस्पर्धा गर्न प्रविधिबारे ज्ञान अनिवार्य छ । तर, प्रविधिको प्रयोग गर्दै गर्दा आफ्नै भाषा, संस्कृति, पहिचान र मौलिकतालाई विस्थापित हुन दिनुहुँदैन । त्यसका लागि तीनवटा पक्षमा विशेष ध्यान दिन आवश्यक छ, प्रयोग, अवसर र निमयन । भाषा प्रयोगमा आउनुपर्छ, भाषासँग रोजगारी र अवसर जोडिनुपर्छ र डिजिटल सामग्री तथा पहुँचमा आवश्यक नियमन हुनुपर्छ ।

मातृभाषा बचाउने कुरा भावनात्मक आग्रह होइन, यो ज्ञान, संस्कृति, पहिचान र भविष्यसँग जोडिएको विषय हो । प्रविधिलाई भाषाको शत्रु होइन, सही नीति र विवेकपूर्ण प्रयोगमार्फत भाषाको संरक्षण, विकास र विस्तारको साधन प्रविधिलाई बनाउन सकिन्छ । तर, त्यसका लागि राज्य, विद्यालय, परिवार, सञ्चार माध्यम र स्वयं भाषिक समुदाय सबै सचेत हुनु आवश्यक छ । विशेषतः बालबालिकालाई कुन उमेरमा कुन सामग्रीमा कति पहुँच दिने, उनीहरूलाई मातृभाषासँग कसरी जोडिराख्ने र प्रविधिलाई कसरी सिर्जनात्मक रूपमा प्रयोग गर्ने भन्ने विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ ।

(शान्ति तामाङले गरेको कुराकानीमा आधारित)

सुझावित समाचार