रुबियोको भारत भ्रमणको अर्थ

मार्को रुबियोको भारतको विशेष भ्रमण मुख्यतः आगामी अमेरिकी मध्यावधि चुनाव र चलिरहेको विश्वव्यापी इन्धन संकटसँग जोडिएको छ

सोमबार, ९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

एथेन्समा विश्वव्यवस्था अझै पश्चिमा देशकै हातमा कायम राख्नुपर्ने भाषण दिएको दुई सातापछि अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत आइपुगे । भारतलाई उनले ‘रिफाइनिङ सुपरपावर’ भने । वासिंटन आफैँले सिर्जना गरेको वैश्विक ऊर्जा संकट समाधान गर्न कठोर मिहिनेत गरिरहेको सन्दर्भमा रुबियो भारत आएका हुन् ।

रुबियोले भ्रमणका क्रममा गुजरातको जामनगरमा रहेको रिलायन्स रिफाइनरीको भ्रमण गरे । उनले भेनेजुएलाको कच्चा तेललाई रिलायन्सले थप रिफाइन गरोस् भन्ने अमेरिकाले चाहेको बताए । स्पष्ट रूपमा इरान युद्धपछि सिर्जित अवस्थामा वासिंटनले भेनेजुएलाको तेललाई आपूर्तिको अर्को स्रोतका रूपमा हेरिरहेको छ । यसै सन्दर्भमा रुबियोको यो वर्ष भारतको दोस्रो भ्रमणलाई हेर्नुपर्छ । रुबियोको एजेन्डा तेल मात्र थिएन । 

विगत २० महिनादेखि भारत–अमेरिका सम्बन्ध तनावपूर्ण छ । र, वासिंटनले भारतीय समानमाथि लगाएको भन्सार शुल्क, एच–१बी भिसामा प्रतिबन्ध र पाकिस्तानसँग बढ्दो निकटताले पनि तनाव थपेको छ । रुबियोले विभिन्न भारतीय मिडियालाई अन्तर्वार्ता दिएर अमेरिकाको ‘भारतसँगको अत्यन्त महŒवपूर्ण सम्बन्ध’लाई पनि जोड दिए ।

रुबियोको भारत भ्रमण ट्रम्प प्रशासनले भारतसहित प्रमुख रुसी तेल खरिददार देशका सामानमाथि थप सय प्रतिशतसम्मको भन्सार कर लगाउने कानुनलाई राष्ट्रिय सुरक्षा चिन्ता उद्धृत गर्दै रोक लगाएको एक सातापछि भएको हो । अमेरिकाले देशभित्र कायम इन्धन अभाव कम गर्न आफैँले रुसी डिजेल आयात गर्ने सम्झौतासमेत गरेको छ ।

ट्रम्पले मूल्यवृद्धिका लागि रुसी रिफाइनरीमा युक्रेनको आक्रमणलाई दोष दिएका छन् । आगामी ३ नोभेम्बरमा हुने मध्यावधि चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीले हार व्यहोर्ने चिन्तामाझ ट्रम्पले इन्धन संकट समाधान गर्न जोड दिएको सन्दर्भमा रुबियोको जामनगर भ्रमणलाई हेरिनुपर्छ । 

रिलायन्सको अधिक प्रशंसा: बुधबार रुबियोले रिलायन्सद्वारा सञ्चालित जामनगर रिफाइनरीको भ्रमण गरे । त्यहाँ उनले मुकेश अम्बानी र उनका छोरा अनन्तलाई भेटे । यो रिफाइनरी विश्वको सबैभन्दा ठुलो एकल क्षेत्रमा रहेको रिफाइनिङ संरचना हो । प्रतिदिन लगभग १.४ मिलियन ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता भएको जामनगर रिफाइनरी एक्लैले विश्वको कुल तेल मागको लगभग १.५ प्रतिशत हिस्सा प्रशोधन गर्छ ।

रुबियोले एक टेलिभिजन अन्तर्वार्तामा रिलायन्सको प्रशंसा गर्दै भने, ‘रिलायन्स एक अत्यन्त महत्वपूर्ण कम्पनी हो । यसमा तेल प्रशोधन गर्ने असाधारण क्षमता छ । भेनेजुएलाको भारी कच्चा तेललाई वास्तवमा प्रशोधन गर्न सक्ने संसारका थोरै मात्र प्रशोधन केन्द्रमध्ये रिलायन्स एक हो ।’

कम्पनीले विगतदेखि नै भेनेजुएलाबाट ठुलो मात्रामा कच्चा तेल आयात गर्दै आएको छ । जनवरी २०२६ मा अमेरिकाले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरेर सत्ता बदलेपछि रुबियोले रिलायन्सलाई भेनेजुएलाबाट तेल खरिद बढाउन आग्रह गरे । रुबियोले भारतका अन्य चिन्ता पनि सम्बोधन गर्ने प्रयास गरे ।

पाकिस्तानप्रति अमेरिकाको बढ्दो घनिष्टताप्रति भारतको बढ्दो आशंकालाई पनि रुबियोले सम्बोधन गर्ने प्रयास गरे । ‘पाकिस्तान वा विश्वको कुनै पनि देशसँग अमेरिकाको सम्बन्ध भारतसँगको सम्बन्धलाई असर गर्ने गरी हुनेछैन,’ ‘द इन्डियन एक्सप्रेस’सँगको अन्तर्वार्तामा उनले भने । 

भारतका लागि अर्को चिन्ताको विषय ट्रम्प प्रशासनले एच–१बी भिसामा गरेको कडाइ हो । त्यस्तै यसै महिनाको सुरुमा भारतीय कम्पनीहरू विप्रो, इन्फोसिस र ‘टाटा एन्ड सन्स’हरूलाई ग्रिन कार्डका लागि विदेशी कामदारलाई प्रायोजित गर्ने कार्यक्रमबाट निलम्बन गरिनुमा पनि भारतको चिन्ता छ । रुबियोले यी प्रतिबन्ध ‘भारतविरोधी’ कदम नभएको बरु अमेरिकी आप्रवासन प्रणालीमा सुधार गर्ने प्रयास भएको बताए ।

चीनको प्रश्न : रुबियोले भ्रमणमा क्वाडको पनि कुरा उठाए । भारत, अस्ट्रेलिया, जापान र अमेरिका समावेश यो समूह अहिले ट्रम्पको नेतृत्वमा वासिंटनले चीनप्रति आफ्नो अडान नरम पारेको समयमा बेवास्तामा परेको छ ।

तर ‘द इन्डियन एक्सप्रेस’ले रुबियोलाई अमेरिका चीनप्रति ‘नरम’ भएको हो भन्ने प्रश्न गर्दा यो ‘पदावली’ नै सही नभएको उत्तर दिए । ‘चीन अहिले एक ठूलो अर्थतन्त्र भएको एक शक्तिशाली देश हो । चीन अहिले हामीले सम्बन्ध राख्नैपर्ने देश हो । भारतको पनि योसँग सम्बन्ध छ । अवश्य पनि, हामीबिच मतभेद थिए र अझै छन्,’ रुबियोले द इन्डियन एक्सप्रेसलाई भने ।

यसबिच, सेप्टेम्बर २०२४ देखि क्वाड समूहका नेताको शिखर सम्मेलन भएको छैन । सेप्टेम्बर २०२४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो गृहराज्य डेलावेयरमा यसको आयोजना गरेका थिए । क्वाडले इन्डो–प्यासिफिक क्षेत्रमा सहयोग बढाउन ध्यान केन्द्रित गरेको छ । समूहलाई चीनविरुद्ध सन्तुलन समूहका रूपमा हेरिएको छ ।

रुबियोले वासिंटन र बेइजिङबिचको शत्रुतापूर्ण सम्बन्ध सम्पूर्ण विश्वका लागि खराब खबर हुने बताए । ‘अहिलेको अमेरिकी प्रशासनको दृष्टिकोण उनीहरूसँगको हाम्रो सम्बन्धमा रणनीतिक स्थिरताको स्तर खोज्ने प्रयास गर्नु रहेको छ । हामी बुझ्छौँ, यदि चिजहरू बिग्रिए, अमेरिका र चीनबिच व्यापार युद्ध चर्कियो वा कुनै पनि प्रकारको अन्य द्वन्द्व भयो भने यो सम्पूर्ण विश्वका लागि अत्यन्तै हानिकारक हुनेछ,’ रुबियोले भने ।

(पद्मानाभन कूटनीति तथा विदेश नीतिबारे लेख्छन्) द प्रिन्टबाट

सुझावित समाचार