भारतले खाडी मुलुक ओमानलाई कोरोना भाइरसविरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरूप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।
भारतका विदेशमन्त्री एस जयशंकरले मित्रवत् सम्बन्ध विकास गर्न ओमानलाई कोरोनाविरुद्धको खोप सहयोगस्वरूप प्रदान गरेको जानकारी दिए । ‘भारतमा बनाइएको कोरोनाविरुद्धको खोप ओमानलाई उपलब्ध गराइएको छ, यो दुई देशको सम्बन्ध सयौँ वर्षदेखि मित्रवत् रहेको परिणामस्वरूप हो,’ विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमानसहित क्यारेबियन देश, निकारागुवालगायतलाई पनि खोप उपहारस्वरूप दिने योजना रहेको बताए । अफ्रिकी मुलुकहरूलाई मात्रै झन्डै एक करोड डोज खोप दिने तयारी भइरहेको उनले जानकारी दिए ।
भारतले साउदी अरब, दक्षिण अफ्रिका, क्यानडा, मंगाेलियालगायतका देशलाई पनि कोरोनाविरुद्धको खोप दिने योजना बनाएको छ । ‘यही २० जनवरीदेखि हामीले छिमेकी देशहरूलाई खोप सहयोग गर्न थालेका हौँ, अहिलेसम्म ५५ लाख डोजभन्दा बढी खोप सहयोगस्वरूप प्रदान गरिएको छ,’ उनले भने ।