कोरोना भाइरस उत्पत्तिको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञ आगामी बिहीबार चीन आइपुग्ने

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का दशजना वैज्ञानिक कोभिड– १९ को उत्पत्तिबारे अनुसन्धान गर्न बिहीबार चीन आइपुग्दै छन् । चीनले कोरोना भाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका वेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्ल्युएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो । 

कोरोना भाइरस संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ । कोभिड– १९ बाट हालसम्म करिब २० लाखजनाको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा डब्ल्युएचओको टोलीले चिनियाँ वैज्ञानिकहरूसँग मिलेर कोभिड– १९ को उत्पत्तिबारे संयुक्त अनुसन्धान गर्ने जनाइएको छ । यसै महिनाको सुरुमा पनि यस मिसनबारे चीन र डब्ल्युएचओबीच असमझदारी उत्पन्न भएको थियो । डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले चीनले वैज्ञानिक टोलीको प्रवेशमा अवरोध गरेकामा आपत्ति जनाएका थिए । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चनयिङले आफूहरुरूलाई डब्ल्युएचओको टोलीको भ्रमणप्रति कुनै आपत्ति नरहेको र पछिल्लो समय उत्पन्न गतिरोध असमझदारीका कारण मात्र भएको स्पष्ट गरेका छन् । 

डब्ल्युएचओका विज्ञहरूले चीनमा दुई साता क्वारेन्टिनमा बस्नुपर्नेछ । उनीहरूले सन् २०१९ को अन्त्यतिर पहिलोपटक कोभिड– १९ देखिएको वुहान सहरको भ्रमण गर्नेछन् । 

संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाले भाइरसको उत्पत्तिबारे स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । बेइजिङमाथि पारदर्शिताको प्रश्न उठाएर अन्तर्राष्ट्रिय स्तरबाटै आलोचना भइरहेको छ, तर देशभित्र कोरोना भाइरसको संक्रमण रोक्न चीन सरकारले गरेको प्रयत्नको प्रशंसा गरेको छ । 
 

सुझावित समाचार