हामीले अहिलेको मार्ग परिवर्तन नगर्ने हो भने हाम्रा भावी दिन एमापाको जस्तै हुनेछ
कोभिड–१९ को महाव्याधिले सुरु भएको केही महिनामै विश्वको अर्थतन्त्र तहसनहस पार्यो, यसले करिब १७ लाखको जीवनलीला समाप्त गरिसकेको छ । हामीले अहिलेको मार्ग परिवर्तन नगर्ने हो भने हाम्रा भावी दिन कस्ता हुनेछन् भन्ने तस्बिर पनि यसले प्रस्तुत गरिदिएको छ ।
वास्तवमा यो अपूर्व सार्वजनिक स्वास्थ्य आपत्कालसँग जुझ्ने सवालमा अहिले उजागर भएका पुँजीवादी एवं कर्पाेरेटवादी राज्यहरूको अक्षमता र असफलता आउँदा दिनमा हामीले अनिवार्य भोग्नुपर्ने विनाशलीलाको केवल एक झल्को मात्रै हो । चरम रूपले विषम बन्दै गएको जलवायु परिवर्तनका समस्या, क्रोनी क्यापिटालिजम र विश्वभर गहिरिँदै गएको आर्थिक असमानताविरुद्ध हामीले अहिले नै पहलकदमी लिएनौँ भने योभन्दा भयानक संकट ओइरिने दिन आउदै छन् ।
ब्राजिलमा अहिले असमानता व्यापक र वनविनाश चरम छ । फलस्वरूप जोखिममा रहेका समुदाय, खासगरी आदिवासीहरू यो महाव्याधि र अन्य संकटमा पनि सबभन्दा पहिले र कडा मारमा परेका छन् । जलवायु परिवर्तनले यी प्रत्येक संकटमा थप आगो झोसेको छ । हामी तीन दिन पिउने पानी र बिजुलीविहीन भयाैँ भने कस्तो होला, कल्पना गरौँ । त्यो पनि उखरमाउलो गर्मी र कोरोना जस्तो खतरनाक भाइरसको प्रकोप उच्च बिन्दुमा पुगेको अवस्थामा । भर्खरै उत्तरी ब्राजिली राज्य एमापाका लाखाँै मानिसले यही नियति भोगे । ३ नोभेम्बरमा चरम हेलचेक्य्राइँ, जलवायु परिवर्तन र राज्यको बेवास्ताका कारण एमापाको सब–स्टेसनमा ट्रान्सफर्मरहरू जलेपछि त्यस क्षेत्रका १३ सहरका सात लाख ५० हजार नागरिक (त्यस राज्यका ९० प्रतिशत) बिजुलीविहीन भए । त्यो समय यो क्षेत्र भारी वर्षाको चपेटामा थियो । त्यसैले धेरैले सोचे चट्याङका कारण आगो लागेको होला, केही समयमै ठीक हुनेछ । मौसमी प्रतिकूलताका कारण मोबाइल नेटवर्क तथा सञ्चार अवरुद्ध भएकाले के भएको कसैले पत्तो पाउन सकेनन् ।
अहिले ब्राजिल र अन्य थुप्रै मूल सडकमा जे भइरहेको छ, त्यो विशेषाधिकार प्राप्त केहीको थप समृद्धि र आमनागरिकको थप गरिबीकरणको दुष्परिणाम हो
विद्युत्विनाको ३६ घन्टा बिताएपछि उनीहरूसँग खानेपानी पनि सकियो, स्थानीय दोकानहरू रित्तिन थाले, रेफ्रिजेरेटरमा राखिएका खानेकुरा सड्न सुरु भयो । स्थानीय ऊर्जा उत्पादकको प्रयासका बाबजुद स्थानीय अस्पताललाई पर्याप्त बिजुली उपलब्ध हुन सकेन । चार दिन अन्धकारमा बिताइसकेपछि मानिसहरू संघीय सरकारसँग गुहार माग्दै सडकमा निस्किन थाले । तर, तिनले रबरका गोली र अश्रुग्यास खानुपर्यो । पूरै राज्य बिजुलीविहीन बनेको आठाैँ दिनमा बल्ल पावर स्टेसनमा चट्याङ नपरेको पत्तो लाग्यो । नियमित मर्मतसम्भार नभएकाले ट्रान्सफर्मर जलेको पाइयो । २०२० जनवरीको निजीकरणअनुसार मर्मतसम्भार तथा देखभालको ठेक्का पाएको स्पेनिस कम्पनी आइसोलेक्स मर्मतका लागि जिम्मेवार थियो । तर, उक्त कम्पनीले यसबारे न कुनै प्रस्टीकरण दिन, न त क्षमा माग्न नै जरुरी ठान्यो । एमापा राज्यमा जलविद्युत्का तीनवटा प्लान्ट छन् । तर, यसै राज्यका निवासीले भने मुलुकमै महँगो शुल्क तिर्छन् ।
राज्य र संघीय सरकारविरुद्ध प्रदर्शन जारी राखेपछि नोभेम्बर १२ मा नोभेम्बर १५ र २९ का लागि तय भएको स्थानीय चुनाव स्थगित गरिएको घोषणा भयो । उत्पन्न असन्तुष्टिले सुरक्षा खतरा बढाएको कारण देखाएर अहिले एमापाका जनतालाई आफ्नो राजनीतिक प्रतिनिधि चु्न्ने अवसरबाट समेत विमुख गराइएको छ ।
राष्टपति जेर बोल्सोनारो नोभेम्बर २२ मा एमापा पुगे । उनले पूरै राज्यको विद्युत्को समस्या हल हुने भनेर दुई जेनेरेटरको स्विच थिचेको केही घन्टामै फेरि वितरण ग्रिड जलेपछि मिडियाको ध्यान खिच्ने र यो तनावलाई मत्थर बनाउने उनको चालबाजी पनि खेर गयो । यो राज्यका अधिकांश भागमा नियमित रूपमा बिजुली गइरहन्छ । नोभेम्बरको अन्तताका एमापाका घर तथा दोकानमा बाढीले वितण्डा मच्चायो । यहीबीच, राष्ट्रिय मिडिया भने राज्यको यो अव्यवस्थाप्रति बेखबर छन् । अन्तर्राष्ट्रिय समुदायले पनि देखेकोनदेख्यै गरेको छ । यो समस्याको जडमा रहेको निजीकरण अन्त्य गर्न स्थानीयस्तरमा नागरिकले आह्वान गरिरहेका छन् ।
तर, उनीहरूलाई कसैले सुनिरहेको छैन । एमापा मात्रै यस्तो उदाहरण होइन । राजनीतिक शक्ति केन्द्रीकृत हुँदा र राज्यको स्रोत निजी कम्पनीहरूलाई बिक्री हुँदा के हुँदो रहेछ भन्ने ब्राजिलको अशान्तिले नै देखाउँछ । निजी कम्पनीले स्थानीय स्रोतसाधनमा एकपटक कब्जा जमाइसकेपछि तिनले आफ्नो राजनीतिक तथा आर्थिक शक्ति थप नाफाका लागि परिचालित गर्छन् । यसले कमजोर मानिसलाई थप प्रताडित गर्ने र प्रणालीगत विभेद एवं शोषणलाई मलजल गर्ने देखाएको छ । अहिले ब्राजिल र अन्य थुप्रै मूल सडकमा जे भइरहेको छ, त्यो विशेषाधिकार प्राप्त केहीको थप समृद्धि र आमनागरिकको थप गरिबीकरणको दुष्परिणाम हो ।
(लधा ग्रिनपिस इन्टरनेसनलका सदस्य र भिभेरोस चिलीका लेखक हुन्)
अलजजिराबाट