कांग्रेस र जसपाका नेताहरूको सहमति : मिलेर प्रतिपक्षको धर्म निर्वाह गरौँ

शनिबार, ४ पुष, २०७७
डिजिटल संस्करण

कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूले मिलेर प्रतिपक्षको धर्म निर्वाह गर्ने सहमति गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा जसपाका शीर्ष नेताहरूलाई बोलाएर शनिबार अपरान्ह करिब तीन घन्टा छलफल गरेका छन् । 

छलफलका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू बाबुराम भट्टराई र राजेन्द्र महताे बूढानीलकण्ठ पुगेका थिए । कांग्रेसका तर्फबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । 

भेटमा वर्तमान सरकारका क्रियाकलाप, कोरोना नियन्त्रण र न्यूनीकरणमा सरकारको असफलता, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसद्काे हिउँदे अधिवेशनलगायत विषयमा छलफल भएको थियो । ‘यो सरकारको अकर्मण्यताको कसरी प्रतिरक्षा गर्ने ? प्रतिपक्षीको धर्म कसरी निभाउने ? भन्ने विषयमा छलफल भयो, मिल्न सक्ने साझा मुद्दाहरूमा मिलेर जाऔँ भन्ने कुरा भयो,’ बैठकपछि कांग्रेसका वरिष्ठ नेता पौडेलले नयाँ पत्रिकासँग भने । 

भेटमा कांग्रेस र जसपाले एक ढिक्का भएर आउने अधिवेशनमा सरकारका गलत क्रियाकलापका विरुद्ध प्रतिरक्षा गर्ने निर्णय भएको देउवाका स्वकीयसचिव भानु देउवाले जानकारी दिए । 

कांग्रेसको शुक्रबार बसेको संसदीय दल कार्यसमितिको बैठकले संसदको हिउँदे अधिवेशन र अध्यादेशलगायत विषयमा संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग समेत छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो । सोही आधारमा शनिबार देउवाको निमन्त्रणामा जसपा नेताहरू बूढानीलकण्ठ पुगेका हुन् । 

शुक्रबार साँझ भने देउवाले संसद्मा कांग्रेसको २५ प्रतिशत संख्या नपुगेको र अन्य दलसँगको सहकार्यको प्रयास असफल भएका कारण संसद्काे विशेष अधिवेशनको माग गर्न नसकिएको ट्विट् गरेका थिए ।

सुझावित समाचार